मुकुन्दराज दहाल
घाम छँदै फर्कनु पर्ने सुकमाया तमाङ त्यस दिन पनि घरमा नआउँदा छोराहरू रुँदै, नियास्रो मान्दै निदाइसकेका थिए । माइती गएकी पत्नीको बाटो हेदै बसेका जगबहादुरको छटपटी रातको निश्तब्धताले शान्त गराउन सकेको थिएन । नाना तर्कना गर्दै उनी त्यो रातभरि अनिदो नै रहे । भोलिपल्ट पनि पत्नी नफर्किएपछि बाटोमा जम्काभेट हुने आस गर्दै लालाबाला छोडेर उनी १० बजे ससुरालीतिर हिँडे । ससुरालीको आँगनमा ससुरा निन्याउरो अनुहारमा चुरोट पिइरहेका थिए । उनलाई देख्तानदेख्तै सासु डाँको छोडेर रुन थालिन् । “ज्वाई बस्नुस्” ससुराले भने । जंगबहादुरको पनि मन भारी भएर आयो । यताउति हेरे- वातावरण शोकमय थियो । “ज्वाईं, ऊ त अब छैन” ससुराले भने । उनलाई एक्कासि रिंगटा लाग्यो, लडुँला जस्तै भयो । सासुले गुन्द्री समेत ओछ्याउन नभ्याई भूइंमा थ्याच्च बसे । ससुराबाट आएको अप्रत्यासित खबरपछि जगबहादुर आधा घण्टाजति बेहोस नै भए ।
सिद्धि गाविस-२ निवासी ३० वर्षीय सुकमायालाई दुई वर्षअघि र्सचमा गएको सेनाले धादिङ जिल्ला धुसा गाविस-४ गोठेभञ्याङस्थित माइतीबाट घर फर्कन लाग्दा एक किलोमिटर पर सोही गाविस-१ कृष्णभीरबाट पक्राउ गरी कुटपिटपछि हत्या गरेर नदीमा फालिदिएका थिए । कृष्णभीरमा माओवादी र सेनाको भिडन्तपछि र्सचमा गएको सेनाले उनीलाई पक्राउ गरेको थियो । द्वन्द्वको समयमा चितवन र धादिङका त्यस भेगमा पर्ने जोगीमारा, धुसा, सिद्धि, लोथर, काउले, कविलास आदि गाविसहरूमा सेना र प्रहरीले सेतीमाया जस्ता १० जनाभन्दा बढी सर्वसाधारणको हत्या गरेको इन्सेकको तथ्यांकले देखाउँछ । सशस्त्र द्वन्द्वसँग साइनो सम्बन्धसमेत नभएका यस्ता व्यक्तिहरू अनाहकमा साँढेको जुधाइ, बाच्छाको मिचाइमा परेर ज्यान गुमाउन बाध्य छन् । सेतीमाया जस्तै सर्वसाधारणहरू कविलास गाविस-१ निवासी १५ वर्षीय तिर्की प्रजा, सोही स्थान निवासी २१ वर्षीय विराज गुरुङ र १५ वर्षीय सुनिल गुरुङ, कविलास गाविस-१ निवासी २८ वर्षीय कामी गुरुङ,सोही गाविस-६ निवासी ८२ वर्षीय चन्द्रबहादुर प्रजा जस्ता सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेको छ ।
तीन छोराको स्याहारसुसार, पहाडको बस्ती, खेतीपाती वनजंगल बस्तुभाउ सबैको हेरचाह गरेर जीवन निर्वाह गरिरहेको थियो सेतीमायाको परिवार । माइती नगएको धेरै दिन भैसकेको थियो । केही महिनादेखि सेतीमाया मानसिक रुपले अलि बिमारी पनि परेकी थिइन् । दुई वर्षघि ०६१ चैत १८ गते दिउँसो “म पर्सि त आइहाल्छु,बाउलाई भन्नु है” भन्दै तीन भाइ छोराहरूलाई घरमा छोडेर माइती गएकी थिइन् ।
“लालाबाला रुन्छन्, न्यास्रो मानिसके होलान्, श्रीमानलाई मात्रै भ्याइनभ्याइ छ” भन्दै आमा मनमायासँग बिदा भएर घरतिर लागिन् । कृष्णभीरमा माओवादी र सेनाको भीडन्त भएपछि र्सचमा गएको सेनाको एक टोलीसँग उनको जम्काभेट भयो । सेनाले उनीलाई सोधपूछ गर्ने क्रममा केही तल काम गरिरहेका तीनचार जनासँग उनको बारेमा पनि जानकारी लिन खोजेछन् ।
“यो आइमाईलाई चिन्छौ -” सैनिक टोलीको कमाण्डरले नजिकै काम गरिरहेका मानिसहरूलाई सोधे ।
हामी त चिन्दैनौं भनेर उनीहरूले जवाफ दिएपछि सेनाहरूले भुत्ल्याउँदै कुट्दै तल त्रिशुली नदीकिनारतिर झारे ।”सोधपूछ गर्दा राम्ररी बोल्न नसकेकाले यो साँच्चि नै माओवादी आतंककारी रहिछे भन्दै तेरो नेता कोहो-उनीहरू कहाँ बस्छन्-भन्ने भए भन्, नभए… तँलाई मारिदिउँला भन्दै बेसरी कुटे” एक प्रत्यक्षदर्शी बताउँछन्, “नाकमुखबाट तर्रर रगत बगिरहेको थियो । दुईजना सेनाले कुट्दै कान्लैकान्ला तलतिर झार्दै थिए ।”
सेनाले कुटेर मानिस मारेको छ भन्ने हल्ला चलेपछि मृतकका बाबु मानबहादुर तमाङ केही छिमेकीहरूलाई लिएर घटनास्थलतिर गए । घटनास्थल वरपर काम गरिरहेका मानिसहरूसँग सोधखोज गर्दा शुरुमा घटनासम्बन्धमा जानकारी दिन डराए । केही समयपछि चेपाङ थरका एक जनाले सेनाले समातेर सोधपूछ गरी कुटेर तल नदीतिर झारेको र पानीमा नै फालिदिएको मानबहादुरलाई बताए । मरणासन्न अवस्थामा त्रिशुली नदीमा फालिएको शवको खोजी गर्ने क्रममा चैत २१ गते धादिङ जिल्ला जोगीमारा गाविस-९ मा पर्ने त्रिशुली नदीको घुमाउनेमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको थियो । “शव हेरेपछि शरीरभरि घाउचोट र निलडाम देखेँ” मानबहादुर बताउँछन् । शवको दाहसंस्कार गरेपनि भयका कारण यसबारेमा उनले कही पनि उजुरी गरेनन् ।
सेतीमाया बालबच्चाको स्याहार सुसार र पशुपालनको काममा निकै ध्यान दिन्थिन् र पो जगबहादुर कहिले काँही सामाजिक कामसमेत गर्न भ्याउँथे । बितेको दुई वर्षेखि जगबहादुरलाई ज्यादै कठिन भएको छ परिवार धान्न । यसैपनि पत्नी गुमाउँदाको पीडा छँदैछ, कामको बोझले पनि उत्तिकै थिचेको छ उनलाई । बच्चाहरूको स्याहार सुसारमा पनि सोचे जसरी ध्यान दिन नसक्दा पीडाबोध हुन्छ जगबहादुर तमाङलाई । घरभित्र र बस्तुभाउको काम सेतीमायाले गरेपछि घरबाहिर काम गरेर उनी मासिक १ हजार जति कमाउँथे । अहिले दुईचार घण्टा पनि बाहिर निस्किन भ्याउदैनन् । हाल उनीसँग घरको नुनतेलको सामान्य खर्च धान्न समेत पैसा हुँदैन । सेतीमायाले बाख्रा र कुखुरा पालनबाट वाषिर्क ८/१० हजार रुपैयाँ कमाउँथिन् र खर्चपर्चमा होलोखुकुलो हुने गर्दथ्यो । घटनाको जाँचबुझ र क्षतिपूर्तिको लागि चितवन र धादिङका विभिन्न निकायमा धाउँदा १०/१५ हजार खर्च भएको उनी बताउँछन् । ढिडो रोटी गरेर सामान्य किसिमले खान लाउन पुग्ने गरेकोमा सेतीमायाको अनुपस्थितिमा रिन तिर्न नसेकेर एक हलको मेलो बारी बेच्नु परेको दुखेसो पोख्छन् ।
जगबहादुरलाई घटना सम्झँदा सधैं पीडा हुन्छ । सेनाले कुटी कुटी आफ्नो पत्नीलाई मारेपनि सो घटनाको अभिलेख कुनै पनि सुरक्षा निकायमा छैन । अहिलेसम्म राज्यले घटनाको जिम्मेवारी नलिदा र क्षतिपूर्ति पनि नपाउँदा थप पीडित र आक्रोशित छन् उनी । राहतको लागि आउने संस्थाहरूले आधिकारिक प्रमाण पुग्ने कागज खोज्छन् तर आधिकारिक अभिलेख नहुँदा समस्या परेको उनको भनाइ छ ।
उनले घटनाको छानबिन गर्न र क्षतिपूर्तिको पहलको लागि इन्सेक, आईसीआरसी, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयोग तथा धादिङ र चितवनको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएतापनि धादिङ जिल्ला प्रहरी कार्यालयमा उजुरी लिन मानेनन् । इन्सेक धादिङका जिल्ला प्रतिनिधि सीताराम अधिकारीको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेको बताउँछन् । दुई वर्षेखि जति भौतारिए पनि घटनाको छानबिन र पुष्टि हुने नहुने आशा र आशंकामा बाँचिरहेका छन् उनी ।
सशस्त्र संघर्ष गरेको व्रि्रोही माओवादी राज्य पक्ष भैसकेको छ तर त्यस क्रममा मारिएका, बेपत्ता पारिएका, घाइते तथा अंगभंग भएका नागरिकहरूको बारेमा राज्यले अहिलेसम्म कुनै सार्थक निर्णय लिएको छैन । द्वन्द्व प्रभावित नागरिकहरूले यस्तो परिस्थितिलाई कतिञ्जेल सहेर बस्लान् – समयमा नै राज्य, नेकपा माओवादी र अन्य राजनीतिक दलहरूको समेत ध्यानाकर्षा हुनु सान्दर्भिक हुनेछ ।
मिति ०६४ बैशाख २० गते