INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा मुगुका २ सय ७५ जनाविस्थापितहरू घर

इन्सेक मध्यपश्चिमाञ्चलक्षेत्रीय कार्यालय

नेपालगञ्ज । पुस ४ गते

सशस्त्र द्वन्द्वका कारण विस्थापित भई बाँके जिल्ला कोहलपुरस्थित किनारनालस्थित विस्थापित क्याम्पमा बस्दै आएका र नेपालगञ्ज वरपर रहेका मुगु जिल्लाका २ सय ७५ जना विस्थापितहरू ०६३ पुस ४ गतेसम्म घर फर्केका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय र बि गुप्र लगायतको सक्रियतामा तथा डिफिड, एक्सन एड र कालितासको आर्थिक सहयोगमा ति विस्थापितहरूलाई ०६३ मंसिर २७ गतेदेखि घर फर्काउन थालिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी, माओवादीका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिहरूले मंसिर २७ गते नेपालगञ्जस्थित राझाँ एयरपोर्टमा १३ जना बालबालिका सहित ५४ जना मुगुका विस्थापितहरूलाई टीका लगाई बिदाई गरेका थिए । मंसिर २९ गते छजना बालबालिका सहित २० जना, पुस १ गते १५ बालबालिका सहित ६६ जना, पुस २ गते १९ जना बालबालिका सहित ७१ जना, पुस ३ गते छजना बालबालिका सहित २० जना र पुस ४ गते १७ जना बालबालिका सहित ४४ जना विस्थापितहरू घर फर्किसकेका छन् ।

इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले नेपालगञ्जस्थित डिफिड र एक्सन एड नेपालसँग मुगु जिल्लाका २ सय ८० विस्थापितहरूलाई नेपालञ्जदेखि मुगुसम्मको हवाई भाडा उपलब्ध गराउन अपील गरेपछि डिफिडले चार लाख ३० हजार र एक्सन एडले दुई लाख ५० हजार रुपैयाँ इन्सेकलाई उपलब्ध गराएको थियो । साथै सो अभियानमा मुगुका सांसद चन्द्रबहादुर शाहीले संसदकोषबाट एकलाख रुपैयाँ उपलब्ध गराउने जनाएका छन् । सांसद शाहीले नेपाल एयरलाइन्सलाई विस्थापितहरूलाई घर फर्काउनको लागि सहुलियत दरमा प्लेन उपलब्ध गराउन आग्रह गरे बमोजिम नेपाल एयरलाइन्सले विस्थापितहरूलाई सहुलियत दरमा १५ उडान दिएको थियो । त्यस्तै विस्थापितहरूलाई घर फर्काउने अभियानमा नेपालगञ्जस्थित मानवअधिकारवादी संस्थाहरू बि गुप्र, किर्डाक मासम, फोर्स नेपाल र पिन नेपालले समेत सहजिकरणको भूमिका निभाएका थिए । त्यस्तै बि गुप्रले घर फर्किएका विस्थापितहरूलाई तीन महिनासम्म खाद्यान्य उपलब्ध गराउने जनाएको छ ।

नेपालगञ्जस्थित राझाँ विमानस्थलमा पुस ४ गते आयोजित एक कार्यक्रममा इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत मधु पन्थीले मुगुका विस्थापितहरूलाई घर फर्काउने अभियानमा सहयोग पुर्‍याउने सबै निकायहरूलाई धन्यवाद दिँदै हालसम्म मुगुका २ सय ७४ जना विस्थापितहरू घर फर्किसकेको जानकारी गराएका थिए । सो अवसरमा उपस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा मुगुका सांसद शाहीले विस्थापितहरू तथा नेपाल एयरलाइन्सका चालक दलका सदस्यहरू तथा कर्मचारीहरूलाई अबिर लगाई अभिवादन गरेका थिए । सो अवसरमा विस्थापितहरूले आफूहरूलाई घर फर्काउनको लागि सक्रिय भूमिका निभाएकोमा इन्सेक तथा बि गुप्रलाई धन्यवाद दिए ।

साथै, बाँकेदेखि घर फर्किएका विस्थापितहरूका लागि भन्दै इन्सेक, किर्डाक बि गुप्रको आयोजन तथा जिल्ला प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालय मुगुको समन्वयमा मुगुको गमगडी विमानस्थलमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सो शिविरमा झण्डै ५० जना विस्थापितहरूले स्वास्थ्य परिक्षण गराएका छन् ।

यसैबीच, इन्सेक लगायत अन्य संस्थाहरूको पहलमा घर फर्केका विस्थापितहरूका निम्ति मुगु जिल्लास्थित जिल्ला सदरमुकाम गमगडीमा ०६३ मंसिर २८ गते भब्य स्वागत कार्यक्रम सम्पन्न भयो । जिल्लास्थित किर्डाक इन्सेक तथा अन्य मानवअधिकार संघ संस्थाहरूको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,माओवादीका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधि,पत्रकार, मानवअधिकारकर्मी लगायतले घर फर्किएका विस्थापितहरूलाई अबिर लगाउँदै जिल्लामा स्वागत गरेका थिए । साथै सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि मुगु शाखाले घर फर्केका विस्थापितहरूलाई तत्तकाल हसिँया,कोदालो लगायतका औजार र लत्ताकपडा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ ।

 

अन्य

भिडियो