नवराज पथिक
रामेछाप
अहिले देशमा सरकार व्रि्रोही माओवादी पार्टी बीच युद्वविराम भएको छ । देश दीर्घकालीन शान्तिको दिशामा अगाडि बढिरहेको छ । सबैतिरका गाउँमा मानिसहरूको चहलपहल छ । तर, रामेछाप जिल्लाको दोरम्बा बजार अहिले पनि सुनसान छ । दोरम्बावासीहरूको युद्वको घाउमा अहिले पनि मल्हम लाग्न सकेको छैन । दोरम्बाको सशस्त्र हत्याकाण्ड र त्यसपछिको माओवादीको प्रतिहिंसाको घटनाले अहिले पनि दोरम्बावासीहरूको मन झस्किरहने गर्दछ ।
युद्धविरामको समयमा २०५९ साउन ३१ गते दोरम्बामा बैठक गरिरहेका माओवादीका २० जना कार्यकर्ताहरूलाई सेनाले नियन्त्रणमा लिएर हत्या गरेपछि त्यस क्षेत्रमा हिंसा र प्रतिहिंसाको आगो दन्किएको थियो । सेनाले माओवादीको हत्या गरेपछि सो घटनामा स्थानीय मानिसहरूको समेत संलग्नता भएको भन्दै माओवादीले स्वास्थ्य कार्यकर्ता रेलिमाया मोक्तान लगायत दुई जनाको हत्या गरे । उनीहरूले अन्य गाउँलेलाई पनि कारवाही गर्ने चेतावनी दिएपछि दोरम्बा बजार तथा त्यसको आसपासका गाउँहरू रातारात प्राय सुनसान बने ।
घटनाको केही समयपछि केही मानिसहरू गाउँ फर्किए पनि अहिलेसम्म पनि अधिकांश मानिसहरू गाउँ फर्किएका छैनन् । “दोरम्बा बजारका अधिकांश घरहरू अहिले पनि खुलेका छैनन् । बजार क्षेत्रका घरहरूमा ताला झुण्डिरहेका देखिन्छन् । घरका आँगनभरि घाँस उम्रिएका छन् । घरहरू भूतबंगला जस्तै भइसकेका छन् । मानिसहरू गाउँ फर्किने सुरसार अहिले पनि छैन । दोरम्बा गाविस ९ का रामबहादुर तामाङ भन्दछन् गाउँ-ठाउँ त सुनसान भएको छ ।
कतै जानसक्ने विकल्प नभएका कारण गाउँमा नै बसेका मानिसहरूको मनमा डर, त्रास जस्ताको त्यस्तै छ ।”बिर्सनै नसक्ने खालको मानसिक आघातबाट पीडित भएका छन् दोरम्बा बासिन्दाहरू” । यस्तै भनाई व्यक्त गर्छिन् दोरम्बा बजारकी व्यापारी रुपा घिसिङ ।
“राम्रो व्यापारिक केन्द्रको रुपमा विकसित भइसकेको थियो दोरम्बा बजार । तर, ०५९ साउन ३१ गतेको घटनापछि सबै बदलियो । मानिसहरूले रातारात बजार छोड्नुपर्यो । अहिले केही मानिसहरू गाउँमा त छन् । तर, गाउँमा बसेकाहरू पनि मानसिक रुपले पीडित छन् । अनि विस्थापित सबै गाउँलेले फर्कने आँट गरिरहेका छैनन्”, रुपा चिन्तित छन् ।
“हामी चाहन्छौ देशमा चाँडै दीर्घकालीन शान्ति कायम होस् र दोरम्बाका सबै दाजुभाइहरू घर फर्कन सकून् ।”
रुपा घिसिंङको मात्र होइन अहिले हरेक नेपालीको कामना छ देशमा शान्ति होस् र सबै मानिसहरू आ-आफ्नो घरमा स्वतन्त्रतापूर्वक निर्भयताका साथ बस्न सकून् । कामना गरौं, नेपालीहरूको यो चाहना चाँडै पूरा होस् ।