INSEC Online

📅 २०८३ जेष्ठ २१

माओवादी कुटपिटबाट असक्त बनिन् श्रमिकमहिला

दीपेन नेउपाने

३ साउन ०६३

माओवादी कार्यकर्ताद्वारा दुई महिनापहिले कुटपिट गरिएकी २६ वर्षीया शान्ति लिम्बू अझै पनि राम्रोसँग तंग्रिन सकेकी छैनन् ।

बयरवन गाविस-९, महेन्द्र राजमार्गको कानेपोखरीस्थित चिसाङखोला किनारामा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएकी शान्ति कुटपिटपछि एक महिनासम्म उनी ओछ्यामै थला परिन् । पति रोजगारीको सिलसिलामा विदेशिएका कारण उनको उपचार गर्न बहिनी ज्वाईँ लीला श्रेष्ठको सहयोग लिनुपर्‍यो । टाढा जान खर्च धेरै लाग्ने भएकाले पथरी गाविसस्थित पथरी बजारको चापागाई मेडिकोमा उनले उपचार गराइन् । माओवादीको धम्कीका कारण उपचार पनि उनले लुकेर गर्नुपर्‍यो ।

उनका शर्मिला र पदम क्रमशः ११ र ७ वर्षा दुई सन्तान छन् । ती दुईलाई पाल्न उनलाई दुई महिनादेखि धौधौ परेको छ । शान्तिकी बहिनी भगवती नै अहिले उनीहरुका सहारा बनेकी छन् ।

पुरानो रिसइविका कारण छिमेकी बुद्धिराज लिम्बू र अइन्द्र लिम्बूले माओवादी महिलाहरु लगाएर कुटाएको उनको भनाइ रहेको छ । एकपटक बुद्धिराजले उनलाई राति सुतेको ठाँउमा बलात्कार गर्न खोज्दा उनले प्रतिकार गरिन् । छिमेकी ठानेर कतै उजुरबाजुर गरिनन् । त्यसपछि उसले शान्ति चरित्रहीन भएको आरोप लगाउन थाल्यो । त्यही निहुँ झिकेर कुटपिट पनि गर्‍यो । उनले उसको अत्याचार खप्न सकिनन् र इलाका प्रहरी कार्यालय बेलबारीमा उसका विरुद्ध उजुरी दिइन् । उसलाई प्रहरीले गिरफ्तार गरेर लग्यो । औषधी गरिदिने र्सतमा उनले बुद्धिराजसँग मिलापत्र गरिन् । त्यसपछि बुद्धिराज माओवादीमा प्रवेश गर्‍यो र उनीविरुद्ध अझ बढी आक्रमक भएर खनिन थाल्यो ।

बुद्धिराजको दबदबा बढ्दै गयो । उसले सो गाउँका आफ्नो बाबु समानका जबरधन राई र बहिनी समानकी भगवती श्रेष्ठलाई आफूले भनेको नमानेको आरोपमा कुटपिट गर्दै गयो । यसै सिलसिलामा उसकै निर्देशनमा शान्तिलाई चरित्रहीन भएको र केटीहरु बेचेको आरोप लगाएर छानबिन गर्नु छ भनी ०६३ जेठ ११ गते घरैबाट अपहरण गरेर सोही गाविसको आइतबारे लगियो ।

घरबाट जंगलको बाटो हुँदै सो ठाँउ पाँच किलोमिटरको दूरीमा दक्षिण गाउँमा पर्दछ । त्यही ठाँउको पौदारको घरमा खाटमा बसाएर बाँसको डोलो पारेर काटिएका भाटाले उनलाई दिउँसै कुटपिट गरियो । पीडित पीडा सहन नसकेर चिच्याइन् । त्यही बेहोस भइन् पनि । पानी खन्याएर उनलाई होसमा ल्याइयो । होसमा आउनासाथ पुनः उही तरिकाले हात-खुट्टा र शरीरका विभिन्न भागहरुमा कुटपिट गरियो । पूर्णरुपमा पीडाबाट थकित भई लखतरान भएपछि घर जान भनियो तर उनले नसक्ने बताइन् । उनलाई केही माओवादी कार्यकर्ताको सहयोगमा घर पुर्‍याउने प्रबन्ध मिलाइयो । सो घटनाबारे पत्रकार वा अरु कसैलाई भनेमा अथवा उपचार गरेमा ज्यानसमेत जानसक्ने धम्की दिएर उनलाई पठाइएको थियो ।

सो घटनाबारे माओवादीको विराटनगर उपमहानगरपालिका-१४ बसपार्कस्थित जनसर्म्पर्क कार्यालयका आनन्दले पार्टी छानबिन गरी दोषी देखिएका कार्यकर्तालाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

अन्य

भिडियो