INSEC Online

📅 २०८३ जेष्ठ २१

छ वर्षमै विधवा

इश्वरी काफ्ले

३० जेठ ०६३

सुन्दादेवी मल्लिक (डोम) लाई छिमेकी र साथीहरूले मात्र होइन, आफ्नै बाबु-आमालेसमेत ‘मुसमाइत’ भनेर बोलाउन थालेको दुई वर्षभयो । मुसमाइत अर्थात् विधवा । महोत्तरी जिल्ला, सम्सी गाविस-६ की आठ वर्षीया सुन्दादेवीको उनी छ वर्षीय हुँदा भारत सोनवर्षका आठ वर्षीय उदेश्य मल्लिकसँग भएको थियो । विवाहको महिना दिन नबित्दै उदेश्यको मृत्यु भएकाले सुन्दादेवीलाई सबैले यो नाम दिएका हुन् । उनलाई न विवाह भनेको के हो भन्ने मेसो छ; न त विधवा भनिनुको अर्थ नै थाहा छ । तराइको अत्यन्त पिछडिएको डोम समुदायमा बढी उमेर भए जोडी नपाइने भएकाले बालविवाह बाध्यता नै भएको उनीहरू बताउँछन् । सुन्दादेवी मात्र होइन सोही डोम टोलकी छ वर्षीया पिंकि मल्लिक पनि एक वर्षअघिदेखि विधवा भएकी छिन् । पिंकिको विवाह उनी दुई वर्षी हुँदा जानकी नगर (भारत) का तीन वर्षीय झगडु मल्लिकसँग भएको थियो । एक वर्षअघि कालाज्वरका कारण झगडुको मृत्यु भएपछि पिंकि मुसमाइत (विधवा) भएकी हुन् ।

सम्सी गाविस-६ को सो डोम वस्ती मात्र होइन तराइका हरेक डोम वस्तीमा दुई-चारजना पिंकि र सुन्दादेवीजस्ता बालविधवा पाइनु वा आमाको काखमा बसेर दुध चुस्दै गरेका बालवालिकाको विवाह भई सकेको हुनु अनौठो घटना मानिदैन । “केटा केटीको उमेर १० वर्षनाघे विवाह हुन गाह्रो पर्छ । त्यसमा पनि विधवा वा विधुरको त झन् गाह्रो हुन्छ ।” सम्सी गाविस-६ का मिश्री मल्लिक बताउछन् । पारपाचुके गरी अर्को विवाह गर्न झन गाह्रो छ डोम समुदायमा ।

डोम समुदायमा विधवालाई दोश्रो विवाह गर्न केटा नै पाइँदैन । पाइहाले पनि उनले सरक्कै विवाह गर्न पाउँदिनन् । त्यसका लागि विधवा पक्षले पहिलो केटा पक्षलाई जरिवाना तिरिसकेको हुनु पर्छ, जसलाई उनीहरूकै भाषामा”बिहीदानी” भनिन्छ । विधुर केटाको विवाहका लागि कन्याकेटी पाउने त सम्भावना नै रहँदैन । त्यस्तो केटाले अर्काकी श्रीमती भड्काएर र फकाएर मात्र बिहे गर्न सक्छ, तर त्यसो गर्दा केटाले ठूलो आर्थिक भार वहन गर्नु पर्छ । यस्तो केटाले केटीपक्षले पहिलेको केटापक्षलाई तिर्नु पर्ने -बिहिदानी) जरिवाना पनि तिर्नु पर्छ भने अर्काकी श्रीमती भगाएवापत स्वजातीय गाउँले र इष्टमित्रलाई समेत भोज ख्वाउनु पर्छ ।

अत्यधिक श्रमशील भएर पनि अत्यन्त गरिबीको जीवन बिताइरहेका छन् डोमहरू । श्रमको दृष्टिले हेर्ने हो भने डोम समुदायमा बेकारी कोही भेटिदैनन् । स-साना केटाकेटीहरू सुंगुर चराउँछन् । महिलाहरू घरधन्दाको साथै बाँसका सामानहरू पंखा, ढाकी, चङेरा बनाई बजारमा बिक्री गर्छन् । पुरुषहरू हाट बजारमा सुंगुरको मासु बिक्री गर्ने र बाँसका काम गर्दछन् । खाली हात कोही नरहने भए पनि आफ्नै निजि जमिन भएको डोम परिवार पाउन गाह्रो छ ।

सुंगुरको मासु र रक्सी प्रिय भोजन मानिने डोम समुदायमा केटा केटीको विवाहको कुरा पनि दुवैपक्षका बाबुहरूबीच रक्सी भट्टीमा छिनिने गरेको बताइन्छ । रक्सीलाई पानी भनेर सम्बोधन गरिने यो समुदायमा कसैलाई पीर मर्का पर्यो र जातीय छलफल डाक्नु पर्यो भने उजुरीकर्ताले धरौटी राख्नु पर्छ । सो धरौटी रकमको रक्सी खरिद गरी छलफलमा सहभागीले खान्छन् । उजुरीकर्ता निर्दोष ठहरे पीडक पक्षबाट क्षतिपूर्ति लिई धरौटी फिर्ता दिइन्छ ।

महोत्तरीकै सोनामाई गाविस, टिम्कीया टोलका गगन मल्लिक सो समुदायका एक मात्र पढेलेखेका युवक हुन् । १५ वर्षीय गगनले नौ कक्षा उत्तिर्ण गरेका छन् र विवाह गरेका छैनन् । “मलाई बिहे गर्न हतारो छैन । परिवार हतारिएको छ ।” गगन भन्छन । उता, गगनको विवाहका लागि उनको परिवार केटी खोजेर हैरान भइसकेको छ । उनका आफन्त सुरेन्द्र मल्लिकका अनुसार, उमेर छिप्पिएकाले केटी नपाइएको हो । “सिराहामा यस्तै पढेकी एउटा केटी छ रे । उसका दुईवटा र्सत छन् रे विवाहका लागि । एउटा केटा रक्सी नखाने हुनु पर्छ, दोश्रो सुंगुर नपाल्ने परिवार हुनु पर्छ । गगन रक्सी त खाँदैन, तर सुंगुर पालेको छ ।” सुरेन्द्रले भने ।

दलितमध्येको पनि दलित, पिछडिएकामध्येको पनि सबै भन्दा पिछडिएको मानिने डोम समुदायमासमेत अचेल बिस्तारै चेतनाको किरण छिर्न थालेको पाइएको छ । भारतका विख्यात दलित नेता भीमराव अम्वेडकरको विचारका अनुयायीहरूको प्रभावले नेपाली केही डोम समुदायका व्यक्तिहरू मिलेर अम्वेडकर विचार मोर्चा नामको संस्था खोली डोम समुदायमा कर्तव्य र अधिकार बारे चेतना फैलाउने कार्य सुरु गरेका छन् । करिब वर्षदिन अघि भारतको सीतामढी जिल्ला र नेपालको महोत्तरी जिल्लाका डोम समुदायको साझा समिति रहेकामा नेपालमा भर्खरै गत चैत महिनामा महोत्तरी जिल्ला सम्मेलन मार्फ छुट्टै समिति निर्माण भएको छ । अशिक्षा, गरिबी, बालविवाह,मदिराजस्ता अनेकौँ विकृतिले जकडिएको डोम समुदायमा अधिकारबारे चेतना जगाउनु त परको कुरा हामी पनि अरु जस्तै मान्छे हौ र प्रयास गरे हामी पनि त्यत्तिका हुन सक्छौ भनेर बुझाउन नै गाह्रो भएको अम्वेडकर विचार मोर्चा महोत्तरीका अध्यक्ष दीपलाल मल्लिक बताउछन । सो मोर्चाको सदस्य हुनेले रक्सी खान नपाइने र लुकीछिपी खाएको पाइएमा ५ सय १ रुपैंया जरिवाना तिर्नु पर्ने प्रावधान रहेकोले एक वर्षदेखि सदस्य संख्या ३० बाट ३१ पुर्याउन नसकिएको अध्यक्ष दीपलालको गुनासो छ ।

अन्य

भिडियो