ज्ञानेन्द्र खड्का
८ असार ०६३
माओवादीका कार्यकर्ता इन्द्रबहादुर कार्कीले २०६१ साउन २८ गते बाबु-आमा कुलबहादुर राई र लक्ष्मी राईको गोली हानेर हत्या गरेपछि दोभाने गाविस-७, तेन्दोका तीनजना नाबालकहरू अहिले धनकुटाको हिलेमा अर्काको घरमा शरण लिई भाँडा माझेर बाँचिरहेका छन् । बाबु-आमालाई माओवादीले आफ्नै अगाडि ढालेको देखेकी ११ वर्षीया सुनीता राईले तीन कक्षा पढ्दा पढ्दै पढाइ छोडिन् । बाबु-आमा गुमाएपछि विरक्तिएकी सुनीता हाल धनकुटाको हिलेस्थित होटलमा भाँडा माझेर ज्यान पाल्दै छन् ।
सहयोगको याचना गर्दै आफ्नी ठूलीआमासँग असार पहिलो साता भोजपुर आएकी सुनीताले आमा-बाबु गुमेपछि सहयोग गर्ने कोही नभएर पढाइ छोड्नुपरेको बताइन् । अझै कसैले सहयोग गरेमा अधुरो पढाइ पूरा गर्ने उनको लक्ष्य छ । उनका नौ वर्षीय सुजन र आठ वर्षीया सन्जु गरी दुईजना भाइ-बहिनी रहेका छन् । उनीहरू अहिले पनि जसोतसो पढिरहे पनि बाबु-आमाको अभावमा सधैं उदाशी भएर बाँचिरहेका छन् । सुजन र सन्जुले अहिले पनि बाबुआमाको खोजी गरिरहने सुनीता बताउँछिन् ।
आफू सरहका अरुका बालबालिका पोसाक लगाएर विद्यालय गइरहेको समयमा भोजपुरका युद्ध पीडित बालबालिका भने जुठा भाँडा हातमा लिएर टुलुटुलु हेरिहेका हुन्छन् । युद्धमा प्रत्यक्ष स्रलग्न नभए तापनि ज्यान गुमाउन पुगेका बाबु-आमाका अभागी छोराछोरीहरूको अवस्था कम दर्दनाक छैन । उनीहरूका बाबु-आमा त मरेर गए, तर उनीहरू भने प्रत्येक पल मर्दै बाँचिरहेका छन् । बाबु-आमाको सुरक्षाफौज तथा माओवादीबाट हत्या भएपछि कति बालबालिकाले पढाइ छोडेका छन् त कति बालबालिकाले पढ्नै नपाई कलम कापी च्याप्ने हातले जुठा भाँडा र पिठ्यूँमा आफू भन्दा ठूलो भारी बोक्न विवश छन् ।
त्यसैगरी तिम्मा गाविस ७ का जुद्ध सुन्दासको २०६२ पुस १ गते माओवादी कार्यकर्ताले हत्या गरेपछि उनका दुई नावालक छोराछोरीको अवस्था पनि कम पीडादायक छैन । जुद्धकी बिधवा श्रीमति कल्पना सुन्दास अहिले पनि छोराछोरीले बाबाको खोजी गरिरहने बताउँछिन् । “अहिले पनि छोराछोरीले बाबा खोजेर रुवाउँछन् । मैले त वँहालाई बिर्सन खोज्छु । तर छोराछोरीले रातोदिन बाबाको खोजी गरेर खाटा बसेको घाउ बल्झाइदिन्छन् । वाँहाको हत्यापपछि यिनीहरूलाई पाल्न समस्या भएको छ । यसपटक देखि छोरालाई विद्यालय पठाउन थालेकी छु । तर उसलाई कसरी पाल्ने नै समस्या भएको छ । वाँहाले मनदुरी गरेर मलाई समेत पाल्नु भएको थियो । अव त सबै जिम्मेवारी मेरो काँधमा आएको छ ।” उनले भनिन् ।
उता जिल्लाको नेपालेडाँडा गाविस ७ का रामबहादुर कार्की २०५९ साल चैत्र देखि बेपत्ता भएदेखि उनका दुई बालबच्चाको पनि बिचल्ली भएको छ । रामबहादुरलाई काठमाडौंको थानकोटबाट माओवादी आरोपमा सुरक्षाफौजले पक्रेदेखि उनको अत्तोपत्तो छैन । रामबहादुरका बाबु खड्गबहादुर भन्छन्-“छोरालाई बेपत्ता पारेदेखि बुहारी र नाती नातिनाको बिचल्नी भएको छ । बुढेसकालमा मैले बुहारी तथा नाती नातिनालाई स्याहार्नुपरेको छ । बाबु मरे बाँचेको अत्तोपत्तो छैन । तर उनीहरूले बाबा काँहा जानुभयो भनेर खोजेको खोज्यै गर्छन् । उनीहरूलाई पढाउन तथा शिक्षा दिक्षा दिन समेत समस्या भएको छ ।”
त्यसैगरी साङपाङ गाविस-७ का शरण तामाङलाई सुरक्षाफौजले ३ बर्षअघि गोली हानेर मारेपछि उनकी श्रीमति र ३ वर्षीय नावालक छोराको पनि अवस्था कम दर्दनाक छैन । पूर्ण रूपमा सुकुम्बासी अवस्थामा रहेकी प्रेममायालाई अहिले हुकदैं गरेको छोरालाई लालन पालन गर्न र शिक्षा दिनु अगाडी उभिएको पहाड नाघ्नुभन्दा पनि ठूलोकुरा भएको छ । बाबु मारिएको भोलिपल्ट जन्मेका तीनबर्षो छोराको भविष्य देखेर चिन्तीत छिन् प्रेममाया । “टुहुरो छोरालाई मैले हुकाउनुकी मेरो पेट पालनको व्यवस्थामा लाग्नु समस्या भएको छ । धन सम्पत्ती भए त खुवाएर हुकाउँथे, आफ्नो नाममा केही छैन, के गरेर यसलाई हुकाउने र पढाउने म संकटमा परेकी छु ।”प्रेममायाले भनिन् । माओवादी तथा सुरक्षाफौजले हतया गरेकाका बालबालिका कोही विद्यालय नै जान सकेका छैनन् भने कोहीले भने घरको चरम आर्थिक संकटका कारण जीवन ज्यूनका लागि पनि पढाइ छाडेका छन् ।
अरुको सहारामा बाँच्नुपरेका कारण उनीहरूमा मानसिक समस्यासमेत देखिन थालेको छ ।
जुद्ध सुन्दासकी श्रीमति कल्पना बाबुको हत्यापछि छोरो टोहोलाएर बस्ने तथा पढ्न मन नगर्ने र एकान्तमा बसेर रुने गरेको बताउँछिन् । “मैले बोलाउँदा समेत छोरो झर्किने तथा नबोल्ने गर्छ । बाबुको अभावमा ऊ सधैँजसो रुने गर्छ । विद्यालय समेत जान कर गर्नु पर्छ ।” कल्पनाले भनिन् ।
जिल्लामा द्वन्द्वका कारण अभिभावक गुमाएका बालबालिकाहरू आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा समेत संकटग्रस्त बनेका छन् ।