INSEC Online

📅 २०८३ जेष्ठ २१

भोको पेटले कसरी चिनोस् लोकतन्त्र !

अर्जुन शाह

७ जेठ ०६३

यसपाली परेको असीना बाजुरेलीका लागि सुनामी भएको छ । पाँच महिनासम्मको खडेरीले हिउँदेबालीको उत्पादनमा असर पारेकै थियो; त्यसमाथि रहे-बचेको दानापानी पनि दुई साताअघि परेको असीनाले नष्ट पारेको छ । जिल्ला कृषि विकास कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार असिनाबाट ८९ प्रतिशत गहुँ बाली नष्ट भएको छ भने फलफूल, तरकारी र अन्य कुनै पनि बालीनालीसमेत बचेका छैनन् । असीनाबाट गोत्री गाविसमा २ सय भन्दा बढीको संख्यामा भेडा च्याँग्रा मरे । जिल्ला भरिमा दर्जनौ संख्यामा अन्य पशु चौपायाहरू पनि मरेको तथ्यांक स्थानीय गैर-सरकारी संस्थाहरूले तयार गरेका छन् ।

सारा देश लोकतन्त्रको उत्सवमा रमाइरहेको बेलामासमेत बाजुराका बासिन्दाहरू भने मन खोलेर रमाउन सकेका छैनन् । देशमा लोकतन्त्र आएको कुरा भोको पेटले कसरी थाहा पाओस् ! ऐतिहासिक परिवर्तनपछि पनि आफ्नो सामु मुख बाइरहेको अनिकालको समस्याले उनीहरूलाई पिरोल्न छाडेको छैन । साँझ छाक टारे बिहान के गर्ने – बिहान खाए साँझ के खाने – उनीहरू आधारभूत आवश्यकता परिपूर्ति गर्ने यस्तै चुनौतीसँगै जुधिरहेका छन् । यो वर्षबाजुरेलीले छाक र्टार्नका लागि कहिल्यै गर्नु नपरेको संघर्ष गर्नु परिरहेको छ ।

बूढापाकाहरू जीवनमा कहिल्यै नपरेको असिना यस पाली परेको बताउँछन् । वैशाखको पहिलो साता पूरै जिल्लाभरि करिब डेढ घण्टा सम्म लगातार परेको असीना पानीले खेतबारीको केही नबचेपछि ०२३ सालमा भएको भोकमरीलाई यो वर्षे उछिन्ने अनुमान गर्छन् मानाकोट गाविसका ७० वर्षीय पुन्या रोकाया । त्यति बेलाको भोकमरीमा सयौंजनाको मृत्यु भएको अनुमान गर्छन् उनी । उक्त भोकमरीलाई सम्झदै डोगडी गाविसका राम राउतले भन्छन् – “त्यो बेला डोगडीका बासिन्दाले अछामको साँफेबगरमा गई एक छाक खाएवापत आफूले भात खान बोकेको काँसाको थाल त्यहीँ बुझाएका थियौं । यो वर्ष त्यो भन्दा बढी हुने भयो ।” काँसा मूल्यवान धातु मानिन्छ ।
जिल्लामा डाक्टर नभएकाले स्वास्थ्य सेवाबाट वञ्चित भएको, जिल्लामा एउटै क्याम्पस नभएकाले उच्चशिक्षा प्राप्त गर्न नपाएको तथा सडक यातायात, सूचना तथा सञ्चार र रोजगारीबाट पनि वञ्चित भएको अवस्थाको विश्लेषण गरी आफ्नो हक माग्न यहाँका बासिन्दाले भ्याएकै छैनन् । जिल्लामा एकजना भन्दा बढी निजामती अधिकृत नहुनुमा उनीहरूलाई कुनै पीडा र प्रतिष्ठा थिएन र छैन । उनीहरूको संघर्ष त केवल छाक र्टार्न मै सीमित भैरहेको छ । यो वर्षत झन् उनीहरूलाई अभुतपूर्व संकट थपिएको छ ।

जिल्लाको कूल भू-भागको ११ प्रतिशत मात्र खेती योग्य जमिन रहेको छ । ०५८ को तथ्यांक अनुसार यहाँका बासिन्दालाई सामान्य अवस्थामा पनि वाषिर्क ७ हजार मेटि्रक टन खाद्यान्न अपुग हुने गरेको छ । अहिले हिउँदेबाली नष्ट भएपछि भने १५ हजार मेटि्रक टन भन्दा बढी खाद्यान्नको आवश्यकता यहाँका बासिन्दालाई पर्ने जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रकुख विश्वराज पण्डित बताउनु हुन्छ । तर आवश्यक अन्न जुटाउन यहाँका बासिन्दाहरूसमक्ष कुनै विकल्पहरू भने छैनन् ।

वर्षरि कुटो कोदाली गरि नङग्रा खियाएर पनि तीन महिना सम्मको छाक नर्टने यहाँका बासिन्दासामु यस्तो विपद आइपरेपछि अवस्था भयावह हुने संकेतहरू देखिन थालेका छन् । आयश्रोत पटक्कै नभएका यहाँका बासिन्दाहरूले अहिले आफ्नो घरमा भएका भाँडाकुँडा, गर-गहना बिक्री गर्दै साँफेबाट चामल ल्याई छाक र्टार्ने क्रम सुरु भएको छ । गोत्री गाविस-३ का यमलाल विष्टले सम्पतिको नाममा रहेको पत्नीको एकजोर कल्ली बेचेर मार्तडीबाट ३० किलो चामल ल्याएका छन् । चाँदीबाट निर्मित ती कल्ली किन्ने पैसा गाउँमा कोहीसंग नभएपछि उनले मार्तडीमा आएर सस्तो भाउमा बेच्नु परेको हो । उनले भने – “मसँग त ती कल्ली थिए, बेचेर चामल ल्याएँ । केही पनि नहुनेहरूको हालत के होला -” तर अनिकाल लम्बियो भने के गर्ने भन्नेबारे उनलाई केही थाहा छैन । “जग्गा बेचूँ भने किनिदिने कोही छैन; मर्नुसिवाय केही उपाय रहेन ।” गोत्रीकै प्रेमलाल विष्टले आफ्नो दुखेसो पोखे ।

जिल्ला प्रशासन र जिल्ला विकास समितीको कार्यालयमा गाउँ-गाउँबाट राहतका लागि धमाधम निवेदनहरू आइरहेका छन् । तर त्यहाँबाट राहतको कुनै सम्भावना देखिएको छैन । निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल भन्नु हुन्छ – “जिल्लाभरिको रिर्पोट तयार गरी गृह मन्त्रालयमा पठाउने विचारमा छौं, त्यहाँबाट आउने निर्णय निर्देशनअनुसार काम हुन्छ ।”

नेपाल खाद्य संस्थान मार्तडी शाखाका प्रमुख डिल्लीराम लम्साल सामान्य अवस्थामा पनि जिल्लाका पूर्वोत्तर क्षेत्रका ११ वटा गाविसका बासिन्दाहरूले खाद्य संकट चर्को रूपमा बेहोर्नु पर्ने बताउनु हुन्छ । त्यस क्षेत्रका बासिनदालाई संस्थानको कोल्टी डिपोले ढुवानीमा सहुलियत उपलब्ध गराई चामल बिक्रि वितरण गर्दै आएकोमा दूई महिनाअगाडि चामल सकिएर गोदाम रित्तै भएको छ । त्यहाँ भएको हाहाकारप्रति कसैले वास्ता नगरेको र केन्द्रमा जानकारी गराउँदासमेत चामल थप नभएकोमा दिक्क मान्दै शाखा प्रमुख लम्साल भन्नु हुन्छ- “त्यहाँको हाहाकार मैले मात्र बुझेर के गर्ने – चामल माग गर्दा गर्दे म निराश भैसकेँ ।”

चामल किन्नका लागि स्थानीय बासिन्दासँग पैसा नभएको कुरा पनि लम्साललाई थाहा छ- “साप्पाटाको एक जनाले मेरो कार्यालयमा तामाको गाग्री ल्याएर त्यसको चामल दिन भनेको थियो ।” पैसाको जुगाड गर्न सके पनि त्यहाँका बासिन्दाले मार्तडीको गोदाममा पुग्न एक दिन देखि पाँच दिनसम्मको पैदल दूरी पार गर्नु पर्दछ । गाउँघरमा सरसापट गरी ल्याएको पैसा पनि मार्तडी आउन-जानमै सकिन्छ । मार्तडीको खाद्य गोदाममा पनि चामलको अभाव भएकै कारण नागरिकताको आधारमा एकजनालाई बढीमा १० किलो मात्र चामल दिने गरिएको छ । लम्सालका अनुसार, शाखाको गोदाममा अहिले आठ क्वीन्टल चामल मात्र मौज्दात रहेको छ ।

“बाजुरामा खाद्यान्नको हाहाकारी र आसन्न भोकमरीप्रति केन्द्रका सरोकारवालाहरूलाई चासो होला त !” बाजुरेलीको यो सवाललाई कसैले सम्बोधन गर्ने हो कि होइन, केही थाहा छैन ।

अन्य

भिडियो