INSEC Online

📅 २०८३ जेष्ठ २१

माओवादी छाड्नेहरू – कराहीबाट फुत्केको माछोभुङ्ग्रोमा

निर्मलमणि अधिकारी

२४ कार्तिक ०६२

दिनेश श्रेष्ठ (३४, नाम परिवर्तन) लाई आफ्नो विगत सम्झँदा जति आङ सिरिङ्ग हुन्छ, त्यो भन्दा बढी आफ्नो भविष्यको अन्यौलले कहाली लाग्छ । वि.सं. २०५२ सालमा नेकपा (माओवादी) ले दीर्घकालीन जनयुद्ध सुरु गर्नु भन्दा पनि पहिल्यैदेखि दिनेश उक्त पार्टीमा आबद्ध भइसकेका थिए । साह्रै राम्रा अक्षर भएका दिनेशले ‘कामरेड गोञ्जालोलाई रिहा गर्’  भनेर लेखेका नाराहरू कताकति अझै पनि नमेटिएका अवस्थामा फेला पर्छन् । पछि माओवादीले जनयुद्ध सुरु गरेपछि त्यसलाई गाउँ-गाउँसम्म परिचित गराउन दिनेशका अक्षरहरूले पनि कम्ती योगदान पुर्‍याएका छैनन् । मादल बजाउन खप्पिस, गीत गाउनमा सुर पनि मिलाइहाल्ने र कविता लेख्न पनि अघि सर्ने हुनाले दिनेश माओवादीको जनसांस्कृतिक टोलीका प्रिय सदस्य बन्नु स्वाभाविकै थियो । केही समयपछि उनकी श्रीमती पनि माओवादीमा लागिन् ।

जिल्लामा माओवादीको गतिविधि प्रारम्भिक अवस्थामै रहँदादेखि नै उनी सुरक्षाफौजको निशाना बने । कतिसम्म भयो भने उनको गाउँ वरपर माओवादीको पर्याय नै दिनेश बने । पार्टीका जिल्ला स्तरीय नेताहरू भूमिगत नहुँदै उनी अर्धभूमिगत हुनु पर्ने अवस्था आइपर्‍यो । उनलाई गिरफ्तार गर्न आएका एक-दुईजना सुरक्षाकर्मी उल्टै पिटाइ खाएर भाग्नु परेका घटना चर्चामा आउन थाले । पछि त सुरक्षाफौजले उनलाई पक्राउ गर्न घर घेर्दा उनी कसरी उम्के भन्ने बारेमा किंवदन्ती नै चल्यो।

तर दिनहरू एकैखाले रहेनन् । शारीरिक रूपमा बलिया दिनेशलाई पार्टीको जिल्ला नेतृत्वले जनसेनामा लान सिफारिस गर्‍यो । किन हो, उनलाई त्यतापट्टी जान मन लागेन । बरु जनसांस्कृतिक फाँटबाट पार्टी जाने इच्छा उनले नेतृत्वसमक्ष राखे । शनैः शनैः तिक्तता बढ्यो । एक दिन पार्टीले सांस्कृतिक विचलन आएको भनेर निलम्बन गर्‍यो । छ महिने निलम्बन अवधि पार गरी जनादेश साप्ताहिकमा एउटा आत्मालोचनात्मक लेख छापेपछि उनको पुनर्बहाली पनि भयो ।

तर यस बीचमा मन जो टुटिसकेको थियो, त्यसको भर्ताल भएन । त्यसमाथि जनसेनापट्टी नभए तापनि यसपछिका केही समयमा उनले ‘भौतिक कार्बाही’ गर्नमा पनि लाग्नु पर्‍यो । आफैले चिने-जानेका निर्दोषहरूलाई राजनीतिक आस्था फरक भएको वा चन्दा नदिएको कारणले अङ्ग-भङ्ग हुने गरी कुटपिट गर्नु पर्दा दिनेशलाई आफैप्रति साह्रै आत्मग्लानी भयो । अन्ततोगत्वा उनले पार्टी छाडे; तर सुरक्षाफौजसमक्ष आत्मर्समर्पण गर्न’स्वाभिमानले दिएन’ भन्छन् उनी । दिनेशले छाडे पनि उनकी श्रीमतीले भने माओवादी त्याग्न अस्वीकार गरिन् ।

माओवादी परित्याग गर्नुअघि जति सजिलो ठानेका थिए, त्यति सजिलो नहुने कुरा त पछि मात्र थाहा पाए उनले । एकातिर आफ्ना पूर्वसहकर्मीहरूले गरेको अविश्वास एवं दिएको धम्की र माओवादीमै छाडिएकी आफ्नी श्रीमतीको आफूप्रतिको घृणा; अर्कोतिर उनले माओवादी छाडेकै हो भन्नेमा सुरक्षानिकायले पत्यार नगरेको अवस्थाले कराहीबाट फुत्केको माछो भुङ्ग्रोमा परे झैं पो भए उनी ।

माओवादी त्यागेपछि दुईपल्टसम्म सुरक्षाफौजको पक्राउमा परे दिनेश । पहिलोपल्ट नेपाली कांग्रेसमा प्रवेश गरेको नाटक गरेपछि छुटे भने अर्कोपल्ट नेकपा (एमाले) ले आफ्ना कार्यकर्ता भएको कागज गरिदियो । तर कतिञ्जेल चलोस् यस्तो नाटक ! अब पक्राउ परेपछि छुटाइदिने कोही हुनेछैन भन्ने बुझेपछि र कथम् पक्राउ नै नपरे पनि आफ्ना पूर्वसहकर्मीहरूले आफ्नो लागि गोली छुट्ट्याइसकेको खबर पनि पाएपछि दिनेश राजधानी पलायन भए । अहिले आफ्नो विगतको छायासँग तर्सिएर उनी सउदी अरब पुगेका छन् । “कुन दिन आत्महत्या गर्छु कि भन्ने अत्यास लागिरहेछ आफैलाई”, दशैंको पूर्वसन्ध्यामा एकजना मिल्ने साथीलाई पठाएको चिठीमा लेखेका छन् दिनेशले ।

भोजपुर जिल्ला, बोया-९, पपुङ्लाका २३ वर्षीय सन्तोष राईको जीवनले पनि उनले चाहेजस्तो निकास कहाँ पाएको छ र ! माओवादीका तत्कालीन एरिया कमाण्डर राजकुमार श्रेष्ठले जबर्जस्ती माओवादीमा डेढ महिनासम्म हिँडाएपछि भागेर घर आएका उनलाई स्थानीय विष्णुदल गुल्मका सुरक्षाकर्मीले ०६२ बैशाख ६ गते भोजपुर सदरमुकामबाट गिरफ्तार गरे । सन्तोषलाई बैशाख ११ गतेदेखि भोजपुर कारागारमा थुनामा राखिएको छ ।

सन्तोषकी आमा जोकमाया माओवादी कमाण्डरले जबर्जस्ती अपहरण गरेर लगेपछि आफूले एक महिनासम्म खोजी गरेर माओवादीबाट भगाएर ल्याएको, तर अहिले छोराले नपाउनु कष्ट पाएको दुःखेसो गर्नुहुन्छ । स्थानीय प्रशासनले भने उनी अहिले पनि माओवादी भएको दाबी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायण आचार्य सन्तोषको बारेमा अनुसन्धान भइरहेको बताउनु हुन्छ।

सरकारले नेकपा (माओवादी) परित्याग गर्नेहरूलाई आममाफी दिने तथा वैदेशिक रोजगारी लगायतका पुनर्स्थापनाका व्यवस्था पनि गर्ने आश्वासन दिँदै आत्मर्समर्पणका लागि बेला बेलामा आह्वान गर्ने गरेको छ । विगतमा नेपाली कांग्रेस तथा नेकपा (एमाले) सत्तासीन हुँदा पनि कायम रहेको उक्त नीतिलाई २०६१ माघ १९ को शाही कदमपछि पनि निरन्तरता दिइएको छ । तर सरकारी आश्वासनलाई पत्याएर आत्मसमर्पण गर्नेहरू भने आफूहरूमाथि धोका भएको महसुस गरिरहेका छन् । तनहुँ जिल्ला, ढकालटारमा सरकारले नेकपा (माओवादी) का आत्मसमर्पण गरेका कार्यकर्तालाई राख्नको लागि स्थापना गरेको माओवादी पुनर्स्थापना केन्द्रका पूर्वमाओवादी कार्यकर्ताहरूले बेला बेलामा गर्ने आन्दोलन त्यसैको प्रकटीकरण हो । ” पार्टी त्याग्न चाहने साथीहरूलाई त्यसो गर्न सल्लाह दिन आफ्नो हविगत सम्झेरै मन लाग्दैन”, एकजना पूर्वमाओवादी भन्छन् । “सरकारले बुद्धि पुर्‍याउने हो भने हतियार बिसाउन तयार साथीहरूको पंक्ति ठूलो छ”, उनी थप्छन् ।

हाल केन्द्रमा महिला, पुरुष र बालबालिका गरी कूल ४७ जना पूर्वमाओवादी रहेका छन् । पछिल्लोपल्ट २०६२ कार्तिक २ गतेदेखि पनि पूर्वमाओवादीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । सरकारले आफूहरूलाई बन्दी बनाई मानवअधिकार हनन् गरेको अरोप लगाई उनीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । पूर्वमाओवादी कार्यकर्ताहरूले चरणबद्ध रूपमा पर्चा पम्पलेटीङ्ग गर्ने, दिउँसै बत्ती बाल्ने, कालोपट्टी बाँध्ने,पुनर्स्थापना केन्द्रको मुख्य कार्यालय घेराउ गर्ने तथा रिले र आमरण अनसन बस्ने कार्यक्रमहरू राखेका छन् । विगतदेखि नै अनेक चरणमा आन्दोलन हुने र सरकारले जसरी तसरी थुम्थुम्याउने, अनि केही समयपछि पुनः आन्दोलनको उद्घोष हुने क्रम चल्दै आएको छ ।

पूर्वमाओवादी कार्यकर्ताहरूले स्वतन्त्रता, रोजगारी र सुरक्षाको माग गरेका छन् । उनीहरूले निर्बाध रूपमा पत्रकार र मानवअधिकारवादीहरूसँग भेट्न पाउनु पर्ने, समय समयमा घर जान पाउनु पर्ने, पत्रपत्रिका पढ्न पाउनु पर्ने,भत्ता वृद्धि हुनु पर्ने र चार्डपर्वमा विशेष भत्ता हुनु पर्ने लगायतका मागहरू स्थानीय प्रशासनसमक्ष पटक पटक पेश गरिसकेका छन् । तनहुँका प्रमुख जिल्ला अधिकारी टेकवीरजंग रायमाझीले उनीहरूका मागको सम्बन्धमा क्षेत्रीय प्रशासन कार्यालय र गृहमन्त्रालयमा जानकारी गराइसकेको र केही माग जिल्ला प्रशासनले पूरा गरिसकेको बताउनु भए तापनि पूर्वमाओवादीहरू भने सरकारले आफूहरूलाई उपयोग गर्न मात्र चाहिरहेको र पुनर्स्थापनाका लागि इमान्दार सरोकार नदेखाएको बताउँछन् ।

अन्य

भिडियो