सिन्धुपाल्चोक ठूलोसिरुबारी ६, कोटडाँडाका १८ वर्षीय मिलन चौलागाईलाई बालअधिकारको आधारभूत सवाल बारे अब कसैले बताइरहनु पर्दैन । मिलन १३ वर्षो उमेरदेखि नै बालअधिकार चेतना समूहमा संलग्न भएका हुन् । समूहको अभियान अर्न्तर्गत रहेर उनी बालअधिकारको रक्षा र विकासका लागि समर्पित भएका छन् । बालअधिकारको ज्योतीलाई आफ्नो ठाउँको कुना कन्दरासम्म फैलाउनु उनको लक्ष्य भएको छ ।
स्थानीय सेतीदेवी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत मिलन आफ्नै विद्यालयमा फरक फरक भूमिकामा देखिने गरेका छन् । विहान ९:०० बजेसम्म विद्यालयमा पियनको भूमिकामा, त्यसपछि विद्यालय समयमा विद्यार्थीको भूमिकामा र त्यसबाहेकको समयमा बालअधिकार रक्षकको भूमिका उनी देखिन्छन् । घरको आर्थिकका अवस्था अत्यन्तै नाजुक भएको र बाबुआमा सामाजिक अन्धविश्वासको शिकार भएका कारण उनी अहिले पनि घर परिवारको आँखा छलेर बालअधिकार रक्षाको निम्ति अहोरात्र खटिरहेका छन्, जुटिरहेका छन् । “मेरो बालअधिकारप्रतिको सक्रियताका बारेमा थाहा भयो भने बुबाले बाँकी राख्नुहुन्न ।” मिलन भन्छन् ।
बाउआमाका १० सन्तानमध्ये पाँचौं छोरा हुन् मिलन । प्रतिकूल पारिवारिक वातावरण र सामाजिक रुढीवादका कारण उनका छजना दाजुभाई मध्ये उनी र उनका भाइ बाहेक कसैले विद्यालयको मुहार देख्न पाएनन् । तर विपरित परिस्थितिमा पनि उनले शिक्षकहरूको प्रेरणा र मायाका कारण पियनको काम गरेर आफू पनि पढ्न थाले र भाइलाई पनि पढाउन थाले । विद्यालयमा अध्ययन गर्ने क्रममा बालअधिकार चेतना समूहमा आबद्ध भएपछि त उनले धेरै कुराहरू जान्ने अवसर पाएका छन् । समूहमा उनको सक्रियता सबैको भन्दा बढी देखिएका कारण एक वर्षअघिदेखि मिलन नै अध्यक्ष भएका छन् । आफूले समूहको प्रेरणाका कारण अधिकारका धेरै कुरा सिक्ने अवसर पाएको अनुभव सुनाउँदै उनी भन्छन्- “बालअधिकार चेतना समूहका कारण बालअधिकारका बारेमा मैले मेरो ठाउँमा धेरै कुरा बुझाउन सकेको छु र समूहको अभियानका कारण स्थानीय स्तरमा परिवर्तनहरू देखिन थालेका छन् ।”
मिलनको अगुवाइमा बालअधिकार चेतना समूहले गाउ“मा सरसफाइ, भेदभाव र कुरिती तथा चेलीबेटी बेचबिखनविरुद्व सडक नाटक, छुवाछूत विरुद्व जनचेतना लगायतका कार्यक्रमहरू आवधिक तथा नियमित रूपमा सञ्चालन गरिरहेको छ । समूहको सक्रियताका कारण अहिले ठूलोसिरुबारी र आसपासका क्षेत्रमा मादकपदार्थ सेवन गरी जथाभावी गर्ने क्रममा कमी आएको छ । सेतीदेवी माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्र र छात्राको संख्या बराबर भएको छ । “हामीले छोराछोरीलाई भेदभाव नगरी विद्यालय पठाउनु पर्छ भनेर अभिभावकहरूलाई बुझाएपछि अहिले विद्यालयमा छात्र र छात्राको संख्या बराबर भएको हो ।” मिलनको थप्छन् ।
मिलन त उदारण मात्र हुन्, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको बालअधिकार चेतना समूहमा क्रियाशील रहेका प्रायः सबै बालबालिकाको अधिकारका बारेमा सोच्ने धारणामा आमूल परिवर्तन भएको छ । समूहका कारण बालबालिकाको सोच्ने, बोल्ने र व्यवहार गर्ने पुरानो शैलीमा अधिकारमूखी अवधारणाले स्थान लिएको देखिएको छ । आफूले अधिकारको उपभोग गर्दा अरुको अधिकार कतिको हनन हुन्छ भन्नेमा समूहका बालबालिका निकै सचेत बन्न थालेका छन् । त्यसैगरी अरु बालबालिकालाई पनि बालअधिकार बारे सिकाउन पाए हुन्थ्यो भन्ने भावना समेत उनीहरूमा पाइन्छ ।
अहिले इन्सेकको मध्यमाञ्चल विकास क्षेत्र अर्न्तगत मात्रै ११ ओटा जिल्लाका ५५ वटा विद्यालयमा बालअधिकार चेतना समूह गतिशील छन् । ती जिल्लाका पाँचओटा विद्यालयमा बालअधिकार चेतना समूह गठन गरी कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयले ०६२ असोज ३ गतेदेखि ५ गतेसम्म धुलिखेलमा सञ्चालन गरेको बालअधिकार तालिममा सहभागी बालबालिकाले बालअधिकार चेतना समूहका कारण आफूहरूमा धेरै परिवर्तन आएको बताउ“दै यो अभियानलाई देशव्यापीरूपमा विस्तार गरिनु पर्नेमा जोड दिएका थिए । तालिममा नुवाकोटको निरञ्जना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय नमराज भट्टले बालबालिकाका लागि के आवश्यकता र के चाहना हो भन्ने विषयमा दिएको धारा प्रवाह अभिव्यक्तिले सबैलाई पुलकित, मन्त्रमुग्ध र प्रभावित तुल्याएको थियो । त्यसो त चितवनकी सचिना पौडेल हुन् या काभ्रेकी सुजनी तामाङ, सबैमा बालअधिकार चेतना समूहमा लागेपछि व्यापक परिवर्तन आएको देखिएको छ ।
बाबुराम विश्वकर्मा