INSEC Online

📅 २०८३ असार २२

हिंसा पीडितको न्यायिक प्रक्रिया अवस्थाबारे इन्सेकद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार सहायता कक्षमार्फत सहयोग प्राप्त गरेका धनुषा र महोत्तरी जिल्लाका हिंसा प्रभावित तथा मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरूको वर्तमान अवस्था, न्यायिक प्रक्रियाको प्रगति तथा पुनर्स्थापनाको अवस्थाबारे ०८३ असार २० गते अनुगमन गरेको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक केन्द्रीय कार्यालयकी अनुगमन तथा मुल्याङ्कन कार्यक्रम अधिकृत सुना प्याकुरेल, मधेश प्रदेश कार्यालयका संयोजक राजु पासवान, प्रलेख अधिकृत ममता विश्वकर्मा, धनुषा प्रतिनिधि सन्तोष कुमार यादव, आफन्त नेपाल धनुषा संयोजक अम्रिता घिमिरे तथा प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका सदस्य रञ्जन भण्डारी सम्मिलित टोलीले  अनुगमनका क्रममा धनुषा जिल्लामा अन्तरजातीय विवाहका कारण प्रभावित एक जना पीडित तथा घरेलु हिंसाबाट प्रभावित एक जना पीडितसँग भेटघाट गरी उनीहरूको वर्तमान अवस्था, सुरक्षा, जीविकोपार्जन, न्यायिक प्रक्रियाको अवस्था तथा आवश्यक सहयोगका विषयमा जानकारी लिइएको थियो।

त्यसैगरी महोत्तरी जिल्लामा बोक्सी आरोपसम्बन्धी घटनाका एक जना पीडित, अन्तरजातीय विवाहका कारण प्रभावित एक जना पीडित तथा बलात्कार घटनाका दुई जना पीडितसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्था, मनोसामाजिक अवस्था, न्यायिक प्रक्रियाको प्रगति, सुरक्षा तथा पुनस्र्थापनाका विषयमा छलफल गरिएको थियो।

भेटघाटका क्रममा पीडितहरूले इन्सेकप्रति आभार व्यक्त गर्दै प्रदेश कार्यालय र जिल्ला प्रतिनिधिबाट प्राप्त निरन्तर सहयोगका कारण आफूहरू न्याय प्राप्तिको प्रक्रियामा अघि बढ्न सकेको बताएका थिए। उनीहरूले न्यायिक प्रक्रियामा आवश्यक परामर्श, सहजीकरण तथा हौसला प्रदान गर्दै निरन्तर साथ दिएकोमा इन्सेकलाई धन्यवादसमेत दिएका थिए।

पीडितहरूले भोगिरहेका समस्या, न्याय प्राप्तिका क्रममा देखिएका चुनौती तथा आवश्यक सहयोगका विषयमा समेत जानकारी लिएको थियो। साथै, सहायता कक्षमार्फत आर्थिक सहयोग प्राप्त गरेका सबै पीडितको अवस्था, सहयोगको प्रभावकारिता तथा न्यायमा पहुँचको अवस्थाबारे समीक्षा गरिएको थियो।

सन्तोष कुमार यादव

अन्य

भिडियो