INSEC Online

📅 २०८३ असार २०

न्यायिक प्रक्रियाका लागि इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरले घरपरिवारबाट हिंसामा पर्नु भएकी दमक नगरपालिका–५ नवीन टोलकी २७ वर्षीया कविता गुरुङलाई न्यायिक प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

अपाङ्गता भएकै कारण घरपरिवारबाट हिंसामा पर्नु भएकी पीडितलाई न्यायिक प्रक्रियाका लागि इन्सेक कोशी प्रदेश कार्यालयले ०८३ असार १८ गते ७ हजार ५ सय रुपियाँ आर्थिक सहयोग प्रदान गरेको इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहरकुमार पोखरेलले बताउनु भयो ।

अपाङ्गता भएकै कारण ८० वर्षीय हजुरबुबा चन्द्रबहादुर गुरुङसहित परिवारका सदस्यहरुबाट घरेलु हिंसामा परेर पीडित हुनु भएकी गुरुङलाई न्यायिक प्रक्रियाका लागि मानव अधिकार सहायता कक्षमार्फत सहयोग प्रदान गरिएको संयोजक पोखरेलले बताउनु भयो ।
अपाङ्गता भएका कारण घरेलु हिंसामा परेकी पीडितले न्यायका लागि झापा जिल्ला अदालतमा ०८२ कात्तिक ३० गते घरेलु हिंसाको मुद्दा दर्ता गरेको र अदालतले चन्द्र बहादुर गुरुङ, देबेन्द्र बहादुर गुरुङ, दुर्गाबहादुर गुरुङविरुद्ध अन्तरिम राहतस्वरुप ३० हजार रुपियाँ उपलब्ध गराउन अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको छ । उक्त आदेश समेत आरोपितहरुले अवज्ञा गरेपछि पीडितले दायर गरेको अदालतको अपहेलना, घरेलु हिंसा, अभद्र व्यवहार, अंशचलन, अंश भरपाईको लिखत बदर, जालसाजलगायतको मुद्दामा न्याय प्राप्तिका लागि आर्थिक सहयोग प्रदान गरिएको संयोजक पोखरेलले बताउनु भयो ।

अपाङ्गता हुनु भएकी पीडितले झापा जिल्ला अदालतमा वासस्थान संरक्षणको मुद्दा हजुरबुबासहित हजुरआमा ७५ वर्षीया हस्तमाया गुरुङ, काका ४७ वर्षीय दुर्गाबहादुर गुरुङलगायत घरपरिवारका सदस्यसँग लडेको र सो मुद्दामा पीडितलाई वासस्थान दिनु भन्ने अन्तरकालीन आदेश अदालतबाट भएपनि सोको कार्यान्वयन पीडक पक्षले नगर्दा पीडित झनै पीडित भएको संयोजक पोखरेलले बताउनु भयो । झापा जिल्ला अदालतले ०८२ वैशाख १ गते अन्तरकालीन आदेश जारी गरेको भए पनि सोको कार्यान्वयन नहुँदा कविता गुरुङ झनै पीडित हुँदै आउनु भएको छ ।

झापा जिल्ला अदालतका न्यायाधीश लोकबहादुर हमालको ०८२ मङ्सिर १ गतेको इजलासबाट अतिअशक्त, बहुअपाङ्गता भएकी पीडित कविता गुरुङलाई घरमा बसोवास गर्न दिनु, खान लाउन दिनु, कुटपिट नगर्नु, उपचार खर्च दिनु भनि विपक्षी ८० वर्षीय चन्द्रबहादुर गुरुङसहितको परिवारका नाममा आदेश जारी भए पनि पीडित परिवारले अदालतको आदेशलाई वेवास्ता गर्दै आएको छ । पीडितलाई राहत स्वरूप ३० हजार रुपियाँ दिन अदालतले आदेश दिएकोमा सो समेत कार्यान्वयन नभएपछि पीडितले अदालतको अवहेलना मुद्दामा कारवाही प्रकृया अगाडि बढाएकी छिन् ।

हाल झापाको शिवसताक्षी नगरपालिका–५ मा बस्दै आएकी पीडितले अदालतमा पुन अवहेलनाको मुद्दा लड्नुपर्ने अवस्था आएको, घरेलु हिंसा, अभद्र व्यवहारको मुद्दा चलिरहेको र आर्थिक अवस्था कमजोर भएकाले सहयोग प्रदान गर्न आग्रह गर्दै शिवसताक्षी नगरपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद प्रसाइले आग्रह गरेपछि इन्सेकले पीडितलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो