मानव अधिकारका आधारभूत विषयमा नागरिकलाई जानकारी गराउने उद्देश्यले जानकी गाउँपालिकाको आर्थिक सहयोग तथा इन्सेकद्वारा गठित मानव अधिकार समूहको प्राविधिक सहयोगमा आयोजित दुईदिने आधारभूत मानव अधिकार सचेतना तालिम ०८३ असार ७ गते जानकी गाउँपालिका–२ बेलभारमा सम्पन्न भएको छ।
तालिमको उद्घाटन सत्रमा जानकी गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हक, नागरिकका अधिकार तथा दायित्वबारे सचेत भई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले नागरिक सचेत भएमा सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुने र विभिन्न समस्या समाधानमा सहजता आउने उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
प्रहरी चौकी बेलभारका इन्चार्ज भीम रावलले समुदाय र प्रहरीबीचको सम्बन्ध नङ र मासुको जस्तै घनिष्ठ हुने भएकाले मानव अधिकारका आधारभूत विषयमा जानकारी भएमा समाजमा रहेका धेरै समस्या समुदायस्तरमै समाधान गर्न सकिने बताउनुभयो। अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन नहोस् भन्ने विषयमा पनि सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो।
बेलभार स्वास्थ्य चौकीका डाक्टर विवेक बर्माले नेपालको संविधान, २०७२ को भाग–३ अन्तर्गत धारा ३५ ले स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरेको उल्लेख गर्दै नागरिकले राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, स्वास्थ्य उपचारसम्बन्धी जानकारी पाउने तथा आकस्मिक उपचार सेवाबाट वञ्चित नहुने अधिकार पाएको बताउनुभयो। सरकारले उपलब्ध गराइरहेका निःशुल्क स्वास्थ्य सेवाको प्रभावकारी उपयोग गर्न नागरिक सचेत हुन आवश्यक रहेको उहाँले जानकारीदिन्नुभयो।
तालिममा सहभागी राजु यादवले मानव अधिकारका आधारभूत सवालबारे महत्वपूर्ण ज्ञान हासिल गरेको बताउँदै जानकी गाउँपालिका, वडा कार्यालय तथा इन्सेकप्रति धन्यवाद व्यक्त गर्नुभयो। विद्यालयको पाठ्यक्रममा मौलिक हकसम्बन्धी विषय सीमित रूपमा समेटिने भए पनि मानव अधिकारको क्षेत्रमा लामो समयदेखि कार्यरत इन्सेकद्वारा सञ्चालन गरिएको तालिम सहभागीहरूका लागि उपयोगी र प्रभावकारी भएको उहाँले बताउनुभयो।
तालिममा जानकी गाउँपालिकाका स्थानीय महिला तथा पुरुष, वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा सदस्य अम्मर बहादुर पुन, प्रहरी चौकी बेलभारका इन्चार्ज भीम रावल, बेलभार स्वास्थ्य चौकीका डाक्टर विवेक बर्मा, मानव अधिकार समूहका अध्यक्ष मो. जाहिर शेष तथा समूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
इन्सेकका बाँके प्रतिनिधि ध्रुबराज शर्माले तालिमको सहजीकरण गर्दै तालिममा सहभागी बालबालिकाहरुलाई आफ्नो घर-छरछिमेकमा घरेलु हिंसा र मानव अधिकार हननका कुनै घटना भए तत्कालै पालिका स्तरीय मानवअधिकार समूहलाई जानकारी गराउन आग्रह गर्नु भएको थियो ।
तालिमका क्रममा घरेलु हिंसा, दाइजो प्रथा, बालविवाह तथा कानुनी विवाहको उमेरलगायतका विषयमा छलफल समेत गरिएको थियो ।