अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिकामा जेष्ठ २२ गते सरसफाइ तथा प्रदूषण सम्बन्धी सचेतना कार्यक्रम गरेर विश्व वातावरण दिवस २०२६ मनाएको छ । इन्सेकले देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जस्थित सडक, हटिया, मन्दिर, विद्यालयमा सरसफाइ गरेर विश्व वातावरण दिवस मनाएको हो ।
इन्सेकद्वारा गठित कोशी प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल, कालिका पब्लिक स्कूलका शिक्षक, विद्यार्थी, स्थानीयवासीको सहभागितामा सरसफाइ र सचेतना कार्यक्रम गरिएको सञ्जालका सदस्य तथा शिक्षक जहाँगिर आलमले बताउनु भयो । वातावरणलाई मानिसको जीवन र जीविकासँग जोडन, फोहरले पार्ने असरबारे सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिन सरसफाइ तथा सचेतना कार्यक्रम गरिएको हो ।

इन्सेक प्रदेश संयोजक मनोहर कुमार पोखरेलले पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुने बताउनु भयो । जथाभावी फालेको फोहोर हावा, पानी र खाधान्नमा मिसिएर मानव शरिरमा प्रवेश गर्ने र स्वास्थ्यमा असर पर्ने कुरा सिकाउन जरुरी रहेको उहाँले बताउनु भयो । वातावरण प्रदूषण भएमा मानव जीवन पनि दूषित हुन्छ भन्ने हेक्का समुदायमा पुर्याउन कार्यक्रम गरिएको पोखरेलले बताउनु भयो ।
देवानगञ्ज गाउँपालिका अध्यक्ष वेचन प्रसाद मेहताले वन, वातावरण संरक्षणसँगै जलवायु परिवर्तनलगायत सरसफाइका विषयको सैद्धान्तिक ज्ञान कमजोर रहेकोले त्यसको व्यावहारिक उपयोगको पाटोमा झनै कमजोर अवस्था रहेको बताउनु भयो ।

कार्यक्रममा बजार समितिका अध्यक्ष रामचन्द्र मेहता, विद्यालयका प्रधानाध्यापक उमेशकुमार मेहता, मानव अधिकार रक्षक सञ्जालका सदस्य दिपेन्द्र झालगायतले जलवायु परिवर्तन र हरितगृह ग्यासको उत्सर्जन बढ्नाले पृथ्वीको औसत तापक्रम बढिरहेको, प्राकृतिक प्रकोप निम्तिएको, स्वास्थ्यमा गम्भीर असर र प्राणघातक रोगहरू फैलिरहेको, दुर्लभ वन्यजन्तु र वनस्पति लोप भइरहेको, खाद्य तथा पानीको संकट बढदै कृषि उत्पादन घट्न गई खाद्य संकटको जोखिम समेत बढेकोमा चिन्ता जाहेर गर्नुभयो ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ देखि १६ जूनसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनको एक वर्षपछि वातावरण संरक्षणको लागि जागरूकता ल्याउन प्रोत्साहित गर्ने उद्देश्यले १९७३ जून ५ देखि विश्व वातावरण दिवस मनाउन शुरू गरिएको हो । नेपालको संविधान २०७२ को धारा ३० मा प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ्य रूपमा बाँच्न पाउने भनी यसलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ ।

