INSEC Online

📅 २०८३ जेष्ठ २१

 ‘पानी देऊ’ भन्दै बित्दैछन् स्थानीयका वर्षहरू

मालिकार्जुन गाउँपालिका–२ का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाका लागि पानी माग गर्दै आएको वर्षौ भयो । यहाँका महिला, बालबालिका र वृद्धहरूको पानीको खोजीमै समय बित्ने गरेको छ ।

यी बस्तीहरूमा अझै पनि खानेपानी पुगेका छैनन् । बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम सुरु हुनासाथ गाउँभरि पानीको हाहाकार मच्चिन्छ । पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौं प्लास्टिकका जर्किन, गाग्री र ड्रम थन्क्याएर राखेका छन् ।

स्थानीय गजेन्द्रसिंह धामी भन्नुहुन्छ, ‘अहिलेको समयमा पनि नागरिकले खानेपानीको लागि यति दुःख पाउनु पर्ने अवस्था रहनु दुःखद हो । पानी त आधारभूत आवश्यकता हो । तर, हामीले अझै पनि यसको लागि संघर्ष गर्नुपरेको छ । पानीको जोहो बीना कसरी बाँच्नु । हरेक पटकको समस्या भनेकै यो क्षेत्रका नागरिकको खानेपानी हो । घरघरमा धारा नपुग्ला तर बस्तीमै राम्रो पानी भए पनि जोहो हुन्थ्योे । ’

यी बस्ती भन्दा करिब एक किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधिमार्फत पानी ल्याउने उद्देश्यसहित २०७९ सालमा खानेपानी योजना सुरु गरिएको छ । योजना सुरु भएको चार वर्ष बित्न लाग्दा पनि योजना अझै अधुरै छ ।

हालसम्म मुहान क्षेत्रमा इन्टेक निर्माणबाहेक उल्लेख्य प्रगति हुन सकेको छैन् । गाउँलेहरू योजना सुरु हुँदा केही वर्षभित्रै घरघरमा धारा पुग्ने अपेक्षामा थिए । तर अहिले पनि उनीहरू पुरानै दुःख दोहोर्याउन बाध्य छन् । स्थानीय चन्द्रसिंह धामीका अनुसार, ‘अरू ठाउँमा प्रत्येक घरमा धारा पुगेका छन् । यहाँ भने अहिले पनि पानीकै लागि घण्टौं हिँड्नुपर्छ ।
‘पानी बिना जीवन सम्भव छैन, तर हाम्रो पीडा कसैले सुनेजस्तो लाग्दैन ।’ अरु ठाउँमा अन्य विकासको योजना माग्छन्, तर मेरो गाउँका नागरिकले अहिले पनि राज्यले गर्नैपर्ने आधारभूत खानेपानी मागेको माग्यै गर्नुपर्ने अवस्था छ । खानेपानी गाउँमा समयमै नपुग्नुमा नागरिक एकता समेत नहुनु उहाँले अथ्र्याउनुभयो । यी सबै वस्तीमा झण्डै डेढ सय घरधुरीको बसोबास रहेको छ ।

नेपालको संविधानको धारा ३५ को दफा (४)मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनिएको छ । तर नागरिकले अहिले पनि आधारभूत खानेपानीको पहुँचसमेत हुन सकेको छैन् ।

बालबालिकाको काँधमा पानीको भार
खानेपानी अभावको सबैभन्दा ठूलो असर बालबालिकामा परेको छ । विद्यालय जाने उमेरका विद्यार्थीहरू दिनको ठूलो समय पानी बोकेर बिताउँछन् । कतिपय परिवारमा बिहान र साँझ पानी ल्याउने जिम्मेवारी नै बालबालिकाको काँधमा छ ।

पूर्व शिक्षक समेत रहेका धामीका अनुसार पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुने गरेको छ । कतिपय अवस्थामा विद्यार्थीहरू नियमित विद्यालय जानसमेत सक्दैनन् । आवासीय रुपमा विद्यार्थी पढाउ भन्दा बालबालिका पानी बोक्नुपर्छ भन्दै अभिभावक नै लगाउन मान्दैनन् ।

बालबालिकाको समेत घरमा पानी ल्याउनु पहिलो काम हुने गर्छ, अर्का स्थानीय तिलकसिह धामी भन्नुहुन्छ् ‘पानी नभएपछि खाना पकाउन, पशु चौपाया पाल्न र दैनिक काम चलाउनै सकिँदैन ।’ यहाँको समस्या समाधान गर्न सबै निकायले खानेपानी कार्यालयलाई दबाब दिन आवश्यक छ ।

गाउँ नजिक भरपर्दो मुहान नहुँदा हिउदयाममा समस्या अझ विकराल बन्ने गरेको उहाँले बताउनुभयो । त्यसबेला स्थानीयले खच्चडमार्फत ड्रममा पानी ढुवानी गर्नुपर्ने बाध्यता छ ।
वडा सचिव खगेन्द्रसिंह धामीका अनुसार अधिकांश परिवारले पानी सञ्चयका लागि घरघरमा ठूला ड्रम राखेका छन् । ‘हिउँद लागेपछि गाउँमा पानीको काकाकुल अवस्था हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले धेरैले पानी भण्डारण गरेर राख्न घरघरमा ड्रम, जरकिन धेरै राख्ने गरेका छन् ।’

खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्करसिंह धामीका अनुसार योजना ढिलो हुनुको मुख्य समस्या भनेकै बजेट पनि हो । उनका अनुसार आर्थिक वर्ष २०७९÷८० मा १५ लाख रुपियाँ, २०८०÷८१ मा २५ लाख रुपियाँ र २०८२÷८३ मा २५ लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

चालु आर्थिक वर्षमा ट्यांकीको ढोका निर्माण तथा सिराडसम्म ९५ ओटा पिलर निर्माणको काम भइरहेको छ । अहिले पनि योजनाको काम चलिरहेको छ । ‘बजेट सानो–सानो आउदा कामले गति लिन सकेको छैन,’ उहाँले भन्नुभयो, अर्कोतर्फ समयमै मजदुर पाइदैनन् । पाइएका मजदुर पनि सरकारी स्टमेट अनुसार काम गर्न तयार हुँदैनन् ।

अहिले त आफैँ मिस्त्री भएर काम गर्दा थोरै गराउन सकिएको छ । गाउँमा योजनाको काम गराउनु निकै चूनौतिपूर्ण भएको एकैपटक ठूलो बजेट हालेर योजनासम्पन्न गराउनतर्फ सबैले लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय, दार्चुलाबाट सञ्चालन भइरहेको योजनामा बजेट क्रमश ः थपिँदै गए पनि आवश्यकता अनुसार रकम नपुग्दा निर्माण कार्य लम्बिएको स्वीकार गरिएको छ ।

मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी खानेपानी योजना सम्पन्न गर्न कार्यालयसँग नियमित बजेटको लागि माग भइरहेको बताउनुहुन्छ । ‘हामीले प्रयाप्त बजेट विनियोजन गर्न आग्रह गरेका छौं,’ अध्यक्ष धामीले भन्नुभयो, ‘नयाँ आर्थिक वर्षमा कति आउँछ आशा गरौं ।’

नरेन्द्रसिह कार्की

अन्य

भिडियो