चारैतिर घना जङ्गल । बीचमा सानो बस्ती । बिहानको उज्यालोसँगै साइकलमा किताबको झोला बोकेर विद्यालयतर्फ निस्किने बालबालिका । तर उनीहरूको यात्रामा केवल पढाइको सपना मात्र छैन, सँगै हुन्छ बाघ, चितुवा र अन्य वन्यजन्तुको त्रास ।
यो कुनै काल्पनिक कथा होइन । बर्दियाको बारबर्दिया नगरपालिका–९ स्थित ढकेला गाउँका बालबालिकाको दैनिक यथार्थ हो । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले घेरिएको यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर छ, शिक्षा पहुँचको अभावले त्यति नै पीडादायी पनि बनेको छ ।
ढकेला गाउँमा प्राथमिक तहसम्म मात्र विद्यालय छ । कक्षा ५ पछि अध्ययन गर्न बालबालिकाले करिब सात किलोमिटर टाढा रहेको विद्यालय पुग्नुपर्छ । गाउँका करिब १ सय २० जना विद्यार्थी दैनिक जङ्गलको बाटो हुँदै कर्तनियास्थित धर्मभक्त माध्यमिक विद्यालय पुग्ने गर्छन् । उनीहरूका लागि विद्यालय पुग्नु केवल पढ्न जानु होइन, जोखिमसँगको यात्रा पनि हो ।
११–१२ वर्ष उमेरका बालबालिका बिहान सबेरै साइकल चढेर विद्यालय जान्छन् । बाटो खाल्डाखुल्डी छ । वरिपरि घना जङ्गल । त्यही जङ्गल बाघ, चितुवा, अजिङ्गर लगायतका वन्यजन्तुको बासस्थान हो । विद्यार्थीहरू किताब र कापी मात्रै बोकेर हिँड्दैनन्, मनभरि त्रास पनि बोकेर विद्यालय पुग्छन् ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०७५/०७६ देखि चालू आर्थिक वर्ष २०८२/ २०८३ को फागुनसम्ममा ४३ जनाको मृत्यु, ५० जना शक्त घाइते र ३२ जना सामान्य घाइते भएको बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्क रहेको छ । साना बालबालिका जङ्गलको बाटो भएर विद्यालय जाँदा राज्यको कुनै पनि निकायको ध्यान गएको देखिदैन।

ढकेला गाउँका ६० वर्षीय कल्चु थारूका लागि नातिनी विद्यालय जानु गर्वको कुरा भए पनि चिन्ता अझ ठूलो छ । “विद्यालय नपठाउने हो भने बालबालिका अशिक्षित हुन्छन्, पठाउँदा वन्यजन्तुको डर हुन्छ,” उनले भने, “मेरो नातिनी अहिले कक्षा १० मा पढ्दै छिन् । घरबाट विद्यालय जाने साधन भनेको साइकल हो । जंगलको बाटो भएर जानुपर्छ । नातिनी घर नफर्किदासम्म मनमा डर भइरहन्छ ।”
गाउँमा रहेको भवानी प्रताप प्राथमिक विद्यालयबाट हरेक वर्ष विद्यार्थीहरू माथिल्लो कक्षामा अध्ययनका लागि बाहिरिने गर्छन् । विद्यालयकी प्रधानाध्यापक सीता ढकालका अनुसार कतिपय अभिभावकले जंगलको जोखिमका कारण आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा भर्ना गर्ने गरेका छन्, जहाँ बसको सुविधा उपलब्ध छ ।
“कतिपय विद्यार्थीले कक्षा घटाएर भए पनि निजी विद्यालय रोजेका छन्,” ढकालले भनिन्, “अभिभावकहरू भन्छन्— जङ्गलको बाटो भएर बालबालिका पठाउन डर लाग्यो ।”
विद्यालय जाने क्रममा हुने जोखिमबारे विद्यार्थीहरू स्वयम् पनि सचेत छन् । धर्मभक्त माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सिमरन थारूले विद्यालय आउजाउका क्रममा कहिलेकाहीँ बाघसमेत देखिने गरेको बताइन् ।
“घरबाट स्कुल पुग्न एक घण्टा लाग्छ,” उनले भनिन्, “जङ्गलको बीचको ग्राबेल बाटोमा साइकल चलाउनै गाह्रो हुन्छ । कहिलेकाहीँ बाघ वा चितुवा देखिन्छ । त्यसबेला निकै डर लाग्छ ।”
ढकेला गाउँ निकुञ्जसँग जोडिएको क्षेत्र भएकाले वन्यजन्तु गाउँमै आउने गरेको स्थानीयको अनुभव छ । ५५ वर्षीया लाहानी थारूले बाघ र चितुवाले बेला–बेला वस्तुभाउ खाने गरेको बताइन् ।
“धन्न अहिलेसम्म मान्छेलाई आक्रमण गरेको छैन,” उनले भनिन्, “तर बालबालिकालाई स्कुल पठाउँदा हरेक दिन डर लाग्छ । कम्तिमा स्कुल बस भएको भए धेरै राहत मिल्थ्यो । हाम्रो कुरा कसले सुनिदेला ?”
धर्मभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव बस्याल बालबालिकाको संघर्ष देख्दा आफू भावुक हुने बताउँछन् ।
“ती साना बालबालिका वन्यजन्तुको जोखिम भएको बाटो हुँदै साइकल चलाएर आउँछन्,” उनले भने, “उनीहरूका लागि यो रहर होइन, बाध्यता हो । कम्तिमा ढकेलाबाट आउने विद्यार्थीका लागि बसको व्यवस्था हुन सके जोखिमपूर्ण यात्रा कम हुन्थ्यो ।”
ढकेला गाउँमा २ सय ५७ घरधुरी छन् । लगभग प्रत्येक घरमा विद्यालय जाने उमेरका बालबालिका छन् । तर गाउँमा माध्यमिक तहको विद्यालय छैन । सुरक्षित यातायातको व्यवस्था छैन । बाटोमा साइकल बिग्रिए मर्मत गर्ने ठाउँ छैन । तिर्खा लाग्दा पानी पिउने सुविधा छैन । घामपानीबाट जोगिने ओतसमेत छैन ।
स्थानीयवासीका अनुसार चुनावका बेला आश्वासन दिने जनप्रतिनिधि निर्वाचित भएपछि गाउँको समस्यातर्फ फर्केर हेर्दैनन् । राज्यका निकाय पनि कुनै ठूलो दुर्घटना नभएसम्म यस्ता समस्यालाई गम्भीर रूपमा नलिने गरेको उनीहरूको गुनासो छ ।
शिक्षा प्रत्येक बालबालिकाको अधिकार हो । तर ढकेलाका बालबालिकाका लागि त्यो अधिकार हासिल गर्न दैनिक जोखिमसँग जुध्नुपरेको छ । उनीहरूका लागि विद्यालय केवल पढ्ने ठाउँ होइन, साहस र संघर्षको अर्को नाम बनेको छ ।