INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनीमा १ लाख बढी मत बदर हुँदा रुपन्देहीमा सबैभन्दा बढी मत बदर

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको मत विवरण हेर्दा तराई तथा भित्री तराईका जिल्लामा बदर मतको संख्या उल्लेखनीय रूपमा रहेको छ । तराई जिल्लाको तुलनामा पहाडी जिल्लामा तुलनात्मक रूपमा मतबदर संख्या कम रहेको तथ्यांकले देखाएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रवक्ता गेहेन्द्र कुँवरका अनुसार मतदाताको संख्या धेरै भएका जिल्लामा बदर मतको संख्या पनि उच्च देखिएको छ । तुलनात्मक रुपमा तराईका जिल्लाहरुमा बदर मत बढी देखिएको छ ।

प्रदेशका २१ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ खसेको २० लाख ४३ हजार ६ सय ३४ मतमध्ये १ लाख २ हजार ९ सय ५६ मत बदर भएको १९ लाख ४० हजार ६ सय ७८ मत सदर भएको प्रवक्ता कुँवरले बताउनभयो ।

निर्वाचन कार्यालय लुम्बिनी प्रदेश कार्यालय दाङका अनुसार रुपन्देहीमा सबैभन्दा बढी २२ हजार ३५ मत बदर रहेको छ । रुपन्देहीमा कुल ४ लाख ३८ हजार ३ सय २५ मत सदर रहेको छ, जुन सूचीमा सबैभन्दा धेरै मतदाता भएको जिल्ला पनि हो ।

त्यस्तै रुपन्देहीपछि कपिलवस्तुमा १ लाख ७२ हजार १८ सदर मतमध्ये १६ हजार ७ सय ८४ मत बदर भएको तथ्यांकमा देखिन्छ ।

त्यस्तै बाँकेमा २ लाख २१ हजार ३ सय ९ सदर मत रहेकोमा १३ हजार ४ सय ४२ मत बदर भएको छ भने बर्दियामा १ लाख ९५ हजार १ सय ७ सदर मतमध्ये १० हजार ३ सय ६८ मत बदर भएको छ । त्यसैगरी नवलपरासीमा १ लाख ७० हजार २ सय २२ सदर मतमध्ये १० हजार ४ सय ७७ मत बदर भएको तथ्यांकले देखाउँछ ।

दाङमा पनि बदर मतको संख्या उल्लेखनीय देखिएको छ । दाङमा २ लाख ५१ हजार ३ सय ६८ सदर मतमध्ये १० हजार ६ सय ९८ मत बदर भएको तथ्यांकले देखाएको छ । यी जिल्लाहरू तराई तथा भित्री तराई क्षेत्रमा पर्ने भएकाले यहाँ मतदाता संख्या धेरै भएको र त्यसैको अनुपातमा बदर मत पनि बढी देखिएको विश्लेषकहरू बताउँछन् ।

त्यसै गरी सबैभन्दा कम बदर मत रुकुमपुर्वमा देखिएको छ । रुकुमपुर्वमा १८ हजार ८ सय ९ सदर मत रहेकोमा ५ सय ६३ मत मात्रै बदर भएको छ । यहाँ नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् ।

त्यस्तै गरी पहाडी जिल्लाहरूमा भने बदर मतको संख्या तुलनात्मक रूपमा कम देखिएको छ । गुल्मीमा १ लाख १९ हजार २३ सदर मतमध्ये ४ हजार १ सय ४० मत बदर भएको छ भने पाल्पामा १ लाख १४ हजार ७ सय ६२ सदर मतमध्ये ४ हजार ७ सय ९८ मत बदर भएको छ ।

त्यस्तै अर्घाखाँचीमा ८६ हजार ५ सय २६ सदर मतमध्ये ३ हजार २ सय २० मत बदर भएको छ ।

रोल्पामा ६८ हजार ७ सय ७६ सदर मतमध्ये ३ हजार १ सय ४४ मत बदर भएको छ भने प्यूठानमा ८४ हजार ४ सय ३३ सदर मतमध्ये ३ हजार २ सय ८७ मत बदर भएको देखिन्छ ।

यतिधेरै म तबदर हुनुमा मतदाता शिक्षा, मतदान प्रक्रियाबारे पर्याप्त जानकारी नहुनु, मतपत्रमा सही तरिकाले मतदान नगर्नु लगायतका कारणले बदर मतको संख्या बढेको देखिन्छ ।

रीमा बि.सी.

भिडियो