INSEC Online

📅 २०८३ जेष्ठ २१

गुल्मीमा ४ हजार बढी मत बदर,  मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्नेमा जोड

गुल्मीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। मतगणनाका क्रममा जिल्लामा कुल ४ हजार १ सय ४० मत बदर भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १ हजार ९ सय ४२ र निर्वाचन क्षेत्र नम्बर २ मा २ हजार १ सय ९८ मत बदर भएका हुन्। समानुपातिक तर्फको बदर मतको विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन।

नेकपा एमालेका नेता गणेश श्रीपालीले नयाँ दलप्रति मतदाताको आशा र पुराना दलसँगको सम्बन्धका कारण मतपत्रमा एकभन्दा बढी चिन्ह लगाउँदा बदर मत बढेको हुनसक्ने बताउनुभयो। उहाँले निर्वाचन आयोग र राजनीतिक दलहरूले मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

नागरिक समाज गुल्मीका संयोजक पदम पाण्डेयले राजनीतिक दलहरू भोट माग्ने अभियानमा केन्द्रित हुँदा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताउनुभयो।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसका अनुसार २०६४ सालको निर्वाचनमा ३.०८ प्रतिशत, २०७० सालमा २.६८ प्रतिशत, र २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ३.०४ प्रतिशत मत बदर भएको थियो। २०७९ सालको निर्वाचनमा प्रदेशसभा तर्फ २.५९ प्रतिशत र प्रतिनिधिसभा तर्फ २.८८ प्रतिशत मत बदर भएको थियो।

यसैबीच, गुल्मीमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका ३७ जना उम्मेदवारको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी कृषिराम घिमिरेका अनुसार मनोनयन दर्ता गरेका ४३ उम्मेदवारमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका ६ जना बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको हो। कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगरे उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको उहाँले बताउनुभयो।

समानुपातिक तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमा रहेका कुल २ लाख २९ हजार ७ सय ७७ मतदाता मध्ये १ लाख १९ हजार ६ सय २५ मत खसेको थियो। सदर मत १ लाख १६ हजार ५ सय ४७ मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ हजार ८ सय ४८, नेकपा एमालेले २८ हजार ४ सय ४५, नेपाली कांग्रेसले २५ हजार २ सय ९१, नेपाल कम्युनिस्ट पार्टीले ५ हजार ७ सय ८५, राष्ट्रिय जनमोर्चाले १ हजार २ सय ८७, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ८५ र श्रम संस्कृति पार्टीले ९ सय ३४ मत प्राप्त गरेका छन्।

टोपलाल अर्याल

भिडियो