INSEC Online

📅 २०८३ जेष्ठ २१

बुटवलमा रास्वपाले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै झडप

रास्वपाले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै बुटवलमा फागुन २१ गते झडप भएको छ । बुटवलको इट्टाभट्टीस्थित नमोबुद्ध होटलमा राष्ट्रिय स्वतन्त्र पार्टीले मौन अवधि र निर्वाचन आचार संहिता विपरित दर्जनौं गाडी र रास्वपा नेता कार्यकर्ता जम्मा गरेको देखेपछि एमालेका युवा कार्यकर्ताहरुले होेटल भित्र जाँदा झडप भएको प्रहरीले जनाएको छ ।
एमाले रुपन्देही उपसचिव बाबुराम पन्थीले मौन अवधि लागु भएको अवस्थामा निर्वाचन आचार संहिता विपरितका गतिविधि देखेपछि पार्टीका युवाहरुले निगरानी गर्ने क्रममा विवाद भएर सामान्य झडप भएको बताउनुभयो ।

झडपमा एमाले छाडेर केही समय अघि रास्वपा प्रवेश गरेका सैनामैनाका पूर्व मेयर चित्रबहादुर कार्की, रास्वपा बुटवल- ११ का सभापति सुनिल शाही लगायतका व्यक्ति सामान्य घाइते भएका छन् ।

यस्तै गरी समानुपातिक उम्मेदवार निर्माण व्यवसायी संघ रुपन्देही अध्यक्ष मन्जु भुसालका पति निर्माण व्यवसायी नारायण भुसालको गाडीमा पनि क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएपी कृष्ण कुमार चन्दले रास्वपा र एमालेका कार्यकर्ताबीच केही बेर झगडा भएको बताउनुभयो । ‘सरसर्ती हेर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको देखिन्छ त्यही विषयमा दुई पक्षबीच झगडा भएको हो, अहिले अवस्था सामान्य भएको छ’–डिएसपी चन्दले भने–‘प्रहरी घटनास्थल पुगेर बुझिरहेको छ, अनुसन्धानपछि थप कुरा आउला ।’

युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण कुमालले भने रास्वपा नेताहरुले सुकुम्बासी वस्तीमा पुगेर पैसा बांड्ने सूचना पाएर पिछा गर्दा रास्वपा नेताहरु होेटल भित्र गएका र आफूहरु पनि के रहेछ भनेर बुझ्न जांदा आचारसंहिता विपरित शंकास्पद गतिविधि देखेपछि प्रतिवाद गरेको बताउनुभयो ।

रास्वपा उम्मेदवार खरेलले सहानुभूति बटुल्न आफूमाथि आक्रमण प्रयास भएको झुठो प्रचार गरेको कुमालले बताउनुभयो । रास्वपा नेता चित्र कार्कीले आफूलाई एमालेमा फर्काउने प्रयास सफल नभएपछि प्रतिशोध सांधेर आफूमाथि हातपात भएको बताउनुभयो ।

रुपन्देही २ मा नेकपा एमालेका पार्टी उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेलबीच कडा प्रतिस्पर्धा छ ।

रीमा बि.सी.

भिडियो