प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरी कोशी अस्पताल, विराटनगरमा आपतकालीन स्वास्थ्य उपचार समिति गठन गरिएको छ ।
कोशी अस्पतालका डाक्टर यज्ञराज खरेलको संयोजकत्वमा नौ सदस्यीय आपतकालीन स्वास्थ्य उपचार समिति गठन गरिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सम्भावित स्वास्थ्य चुनौतीलाई मध्यनजर गर्दै आपतकालीन समिति फागुन २० गते गठन गरिएको हो ।
समितिका सदयहरूमा मञ्जु यादव, डाक्टर रवि वास्ताकोटी, डाक्टर नवीन सुवेदी, डाक्टर दिवस राजभण्डारी, डाक्टर शन्नीकुमार सोनी, डाक्टर पुरनचन्द्र साह, वद्री बस्नेत र अमित झा छन् ।
समितिका संयोजक डाक्टर यज्ञराज खरेलले निर्वाचनको समयमा ठूलो घटना भएर धेरै मानिस घाइते भएको अवस्थामा यो समितिले आवश्यक स्वास्थ्योपचारको प्रबन्ध मिलाउने बताउनु भयो । ‘ठूलो घटना भएर धेरै मानिस प्रभावित भएको अवस्थामा आवश्यक डाक्टर, औषधि, उपकरणलगायतको व्यवस्थापनको तयारीका लागि आपतकालीन स्वास्थ उपचार समिति गठन गरिएको हो’ डाक्टर खरेलले भन्नु भयो ।
आवश्यक परेको अवस्थामा यो समितिले मोरङका अन्य अस्पतालहरूसँग समेत समन्वय गरी स्रोत साधनको परिचालन गर्नेछ ।