इन्सेक कास्की प्रतिनिधि सञ्जय रानाभाटका अनुसार कास्कीमा मतदान सम्पन्न भएर निर्वाचन अधिकृत कार्यालयमा मतपेटिका आएको दुई घण्टा भित्रमा मतगणना सुरु गर्ने तयारी गरिएको छ । यसरी मतगणना सुरु भएपछि २४ घण्टामा नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको कास्कीमा मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले बताउनुभयो ।
बेलबासेका अनुसार प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नं. १ को पोखरा महानगरपालिका–१२ को कार्यालयमा मतगणना हुनेछ । क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँमा र क्षेत्र नं. ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँमा मतगणना हुने जानकारी दिनुभयो । मतगणना स्थललाई तारजाली लगाएर व्यवस्थित गर्ने तथा सिसिटिभी मार्फत मनिटरिङ गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत बेलबासेले मतदाता नामावलीमा नाम भएका कारागार कार्यालयमा रहेका कैदीबन्दी र निर्वाचनमा नखटिएका सरकारी कर्मचारीको लागि कास्कीमा दुईवटा अस्थायी मतदान केन्द्र रहेको समेत बताए । उनका अनुसार मतदान केन्द्रमा खटिएका मतदाता नामावलीमा नाम भएका कर्मचारीले आफू खटिएको मतदान केन्द्र मार्फत समानुपातिक तर्फ मत राख्न पाउनेछन् । अधिकांश मतदान स्थल विद्यालयमा रहेको केही मतदान स्थलमा भवन नभएको कारण सोही अनुसारको टेन्ट लगायतको व्यवस्था मिलाइएको बताइएको छ । उहाँले सबै मतदातालाई निर्धक्कका साथ मत जाहेर गर्न र मतदान केन्द्रमा खटिएका कर्मचारीलाई सहयोग गर्न आग्रह गरेका छन् । निर्वाचनका लागि कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा गरी २ हजार १ सय ८४ कर्मचारी र १ हजार ९२ स्वयंसेवक परिचालन भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
कास्कीमा कुल १ सय ५३ वटा मतदान स्थल र ३ सय ६३ वटा मतदान केन्द्र छन् । निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार कास्की क्षेत्र नम्बर १ मा १ लाख १६ हजार ८ सय ७८ मतदाता छन् । यस्तै, क्षेत्र नम्बर २ मा ८४ हजार १ सय ३४ र क्षेत्र नम्बर ३ मा १ लाख ७ हजार ५ सय ६० जना मतदाता छन् । कास्कीका १ सय ५३ मतदान स्थलमध्ये ५६ वटालाई अति संवेदनशील, ५४ वटालाई संवेदनशील र ४३ वटालाई सामान्य सूचीमा राखिएको छ । कास्कीमा १ हजार ५७ नेपाल प्रहरी र २ हजार ८ जना निर्वाचन प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताउनुभयो साथै सुरक्षाका लागि १२ वटा मोबाइल टोली परिचालन गरिने जसमा पोखरा महानगरमा ४ र प्रत्येक गाउँपालिकामा २ वटा टोली रहनेछन् बस्नेतले जानकारी दिनुभयो ।
इन्सेक लमजुङ प्रतिनिधि सुमित्रा भुजेलका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको १ सय ९२ ओटै मतदान केन्द्रमा मतदान सामग्री पुगेको र मतदानस्थल निर्माण कार्य भइरहेको जिल्ला निर्वाचन अधिकारी यादव आचार्यले बताउनुभयो । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतसहितका कर्मचारीले फागुन १९ गते सर्वदलीय बैठक राखेर आवश्यक सूचना टाँस गर्नेलगायतका कामसमेत सम्पन्न गरेका थिए । फागुन २० गते सबै मतदान केन्द्रहरूमा बुथहरू धमाधम निर्माण गरिँदै छ । बुथ निर्माणका लागि लाइन बनाउनेदेखि टोरी टाङ्नेसम्मको काम सम्पन्न गरिएको छ । महिला, पुरुष, अशक्तहरूका लागि छुट्टाछुट्टै बुथ बनाइएको दोर्दी गाउँपालिका–४ नौथरको चैतन्यदय मावि ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत अनिले रेग्मीले बताउनुभयो ।
लमजुङमा १ सय ३० मतदान स्थलमा १ सय ९२ मतदान केन्द्रहरू रहेका छन् । यी मध्ये ३० मतदानस्थलहरू अति संवेदनशीलको सूचीमा छन् । ७७ मतदानस्थल संवेदनशील, २५ मतदानस्थल सामान्य रहेको सुरक्षा समितिको विश्लेषण छ ।
इन्सेक मुस्ताङ प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मौन अवधिको समयमा लोमान्थाङतर्फ जाँदै गरेको कांग्रेस कार्यकर्ता सवार गाडीमा चराङ स्थित सशस्त्र प्रहरिले चेकजाच गर्दा ५ लाख भेटिएपछि मुस्ताङका राजनीतिक दलहरुले कांग्रेसका उम्मेदवारले मतदातालाई पैसा बाँड्ने काम गरी निर्वाचन आचार संहिता उलंघन गरेको भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै जोमसोम बजारमा विरोध प्रदर्शन गरेका छन । मुस्ताङका सात राजनीतिक दलले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको आरोप लगाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीको उम्मेदवारी खारेज गर्न माग गरिएको उजुरीमा आर्थिक चलखेलले निर्वाचन प्रभावित भएको दाबी गरिएको छ ।
जिल्लामा उम्मेदवारी दिएका सात दलले संयुक्त आन्दोलनको घोषणा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । आर्थिक चलखेलमा संलग्नलाई कारबाही नगरेसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दलहरूले दिएका छन् । घटनापछि सर्वदलीय बैठक बोलाइएको छ । मुस्ताङमा नेकपा एमालेबाट इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधित्यचन्द्र थकाली, आम जनता पार्टीबाट अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचनले हस्ताक्षर गरेको उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
इन्सेक बागलुङ प्रतिनिधि अमृत प्रसाद पौडेलका अनुसार बागलुङमा कैदीबन्दीका लागि अस्थायी मतदानस्थल तयार गरिएको छ । जिल्ला कारागार बागलुङमा रहेका ५३ जना कैदीबन्दी मतदाताको लागि अस्थायी मतदानस्थल तयार गरिएको हो । कैदीबन्दीलाई पनि मतदान गर्ने अधिकार हुने हुँदा कारगारमै एउटा मतदानस्थल निर्माण गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञराज रिजालले जानकारी दिनुभयो । कैदीबन्दीले उनीहरूसँग भएको परिचय पत्रका आधारमा मतदान नगर्न पाउने उहाँको भनाइ छ । सुरक्षा व्यवस्थालाई चुस्त बनाएर मतदान गर्ने वातावरण मिलाएका छौँ ।’ कारगारसहित बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तयार गरिएको छ । १ सय ७ मतदानस्थल र २ सय ३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी र कर्मचारीलाई समानुपातिक भोट हाल्ने व्यवस्था मिलाइएको रिजालले बताउनुभयो साथै कैदीबन्दीलाई कारागार र कर्मचारी तथा सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत भोट हाल्ने व्यवस्था मिलाएको र उनीहरूले समानुपातिक मत मात्रै हाल्न पाउने व्यवस्था रहेको रिजालले बताउनुभयो ।
त्यस्तै बागलुङ–२ स्थित गलकोट नगरपालिका–१० रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको छ । मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गलत अभिव्यक्ति दिएपछि गैरेको जिम्मेवारी खोसिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिनुभयो । उनको अभिव्यक्ति र गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पर्न सक्ने देखिएपछि जिम्मेवारी खोसिएको उहाँको भनाइ छ । गैरेलाई आफ्नो जिम्मामा रहेका मतपत्र लगायत मतदान सामग्री तुरुन्तै सुरक्षा निकायलाई बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । गैरेको मतदान केन्द्रमा भुवन बहादुर कुँवरलाई मतदान अधिकृतको रूपमा खटाइएको निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
इन्सेक स्याङ्जा प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार आसन्न निर्वाचनलाई लक्षित गर्दै स्याङ्जाका दुई मतदान केन्द्र महिलाको पूर्ण नेतृत्वमा सञ्चालन हुने भएका छन् । पुतलीबजार नगरपालिका–३ काजीमान हरिटीका माध्यमिक विद्यालय र आँधीखोला गाउँपालिका–५ स्थित सरस्वती आधारभूत विद्यालय, सेतिदोभान मतदान केन्द्रमा महिलाकै नेतृत्व र महिलाकै टिम खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काजीमान हरिटीका मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा डा. सुप्रिया पौडेल नेतृत्वमा रहनुभएको छ । सहायक मतदान अधिकृत तथा कर्मचारीमा शान्तिकुमारी पराजुली, विन्दु गौतम, शोभा रेग्मी, संगम लम्साल र चुना गोदार खटिएका छन् । उक्त केन्द्रलाई महिलामैत्री अवधारणाअनुसार व्यवस्थापन गरिएको जनाइएको छ । महिला मतदातालाई सहज वातावरणमा मतदान गर्ने वातावरण तयार पारिएको अधिकृत पौडेलले जानकारी दिनुभयो । त्यसैगरी सरस्वती आधारभूत विद्यालय, सेतिदोभान मतदान केन्द्रमा पनि महिलाकै टोली परिचालन गरिएको छ । मतदान अधिकृत राजवती नेपाली नेतृत्वमा बुद्धमाया ब्लन, लक्ष्मीदेवी शर्मा, संगीता कुमाल, गीता पाण्डे र विष्णुकुमारी पोखरेलको टिम खटिएको छ ।
इन्सेक म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका जिल्लाभर ८२ मतदानस्थलमा रहेका १ सय २० केन्द्रको अनुगमन तथा आवश्यक पूर्वाधार थपिएको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा भएको अनुगमनमा मतदान केन्द्र तथा स्थलको अनुगमन भएको प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । ग्रामिण क्षेत्रका मतदानस्थलमा रहेका केन्द्रको समेत अनुगमनको क्रममा देखिएका समस्याहरु समाधान भएको छ । मतदानस्थलको भौतिक पूर्वाधार, सडक, खानेपानी, शौचालय, घेराबार, विद्युत लगायतको अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गरिएकोमा सबै मतदान केन्द्र सुरक्षित रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । निर्वाचनलाई शान्तिपूण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विविध पक्षमा अनुगमनसँगै स्थानीय जनप्रतिनिधि सहितका सरोकारवाला निकायसँग समेत छलफल गरिएको थियो ।
जिल्लाभर ८२ मतदानस्थल र १ सय २० मतदान केन्द्र कायम भएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले मतदान केन्द्रलाई १५ ओटा अति संवेदनशील, ५८ ओटा संवेदनशील र आठ ओटा सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ८६ हजार ३ सय ९७ मतदाता छन् । ४२ हजार ३ सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् ।
इन्सेक तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार व्यास नगरपालिका–१० बोटेगाउँमा नेपाली काँग्रेसका कार्यकर्ताले मतदातालाई पैसा बाँडेको भन्दै नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता बिच भनाभन भएको छ । ०८२ फागुन १९ गते राती बोटेगाउँमा नेपाली काँग्रेसका कार्यकर्ताले मतदातालाई पैसा बाँडेको भन्दै रास्वपाका कार्यकर्ताले हल्ला गरेपछि दुई पार्टीका कार्यकर्ता विच विवाद भएको थियो । नेपाली काँग्रेसका दुई जना कार्यकर्ता बोटेगाउँ जाँदै गरेको क्रममा रास्वपाका कार्यकर्ताहरुहरुसँग बाटोमा भेटभएपछि रास्वपाका कार्यकर्ताले राति पैसा बाड्न हिँडेको भन्दै हल्ला गरेपछि विवाद सुरु भएको नेपाली काँग्रेस व्यास नगरपालिका– १० का उपसभापति रमाकान्त ढुङगानाले बताउनुभयो । त्यसक्रममा दुवै पार्टीका कार्यकर्ताहरु बिच विवाद बढ्दै गएपछि राति नै घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले दुवै पक्षका कार्यकर्ताको गोजी र झोला चेकजाँच गर्दा पैसा वा मतदातालाई प्रभावित पार्ने कुनै वस्तु फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्रवणकुमार विकले बताउनु भयो । निर्वाचनको मौन अवधिमा यस्ता हल्ला र अफवाह फैलने हुँदा सचेत हुनुपर्ने उहाँले बताउनुभयो । मौन अवधिमा राती राती आफ्नो बाहिर नहिड्न सबैलाई सचेत गराईएको डिएसपी विकले बताउनुभयो ।
इन्सेक नवलपरासी पूर्वका प्रतिनिधि दयाराम आचार्यका अनुसार मतदानस्थल बाहिर ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई धारिलो हतियार देखाएर त्रास फैलाउने एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । कावासोति नगरपालिका– १४ स्थित बालकल्याण आधारभुत बिद्यालयको मतदान स्थल बाहिर ०८२ फागुन १९ गते कावासोति नगरपालिका– १४ का २७ वर्षीय अनिस महतोले लु ३१ प ९८०६ नम्बर को स्कुटिमा आई पटक पटक मतदान स्थलमा खटिएका तथा डिउटिमा रहेका सुरक्षाकर्मीलाइ दाउ देखाएर जिस्काउने र त्रास देखाउने गरेको भनी उक्त मतदान स्थलमा खटिएका सई प्रेम रानाले कावासोति मोबाइल ०७ लाई खबर गरे पश्चात उक्त स्थानमा मोबाइल ०७ कमान्डर भुवन चन्द्र भट्टको टोलीले बुज्न जाँदा उनी भागेको र उनलाई कावासोति नगरपालिका– १७ ढोकिबाट संयुक्त टोलिले गिरफ्तार गरी बाल कल्याण चोकमा सइ प्रेम रानाको जिम्मा लगाएको र उनको साथबाट दाउ (धारिलो हतियार) फेला परेको र स्कुटि पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
इन्सेक मनाङ प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङमा निर्वाचन सहज रूपमा सम्पन्न हुने देखिएको छ । ती क्षेत्रमा हिमपातका कारण केही स्थानमा मतदान केन्द्र सार्नुपर्ने भए पनि पछिल्ला समयमा मौसम न्यानो हुँदै गएकाले सम्बन्धित मतदान केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले जानकारी दिनुभयो । साथै निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा सम्पूर्ण तयारी पुगेको ढकालले बताउनुभयो । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल ७ हजार मतदाता छन् । देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँको निर्वाचन सम्पन्न गर्न १ सय ७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।