INSEC Online

📅 २०८३ जेष्ठ २१

मदिरा र चामलसहित प्रचारमा गएको गाडी नियन्त्रणमा

सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रचारप्रसारमा संलग्न गाडीमा मदिरा र चामल लोड गरिएको अवस्थामा प्रहरीले फागुन १८ गते नियन्त्रणमा लिइएको छ । बनगाड–कुपिण्डे नगरपालिकास्थित सल्लिबजारमा खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जिप प्रहरीले नियन्त्रणमा लिएको हो । गाडीमा रक्सी सात कार्टुन, बियर दुई कार्टुन, चामल दुई बोरा र खाने तेल तीन कार्टुनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर देवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । रास्वपाको प्रचार गाडी पार्टीको प्रचारप्रसारमा प्रयोग भएको उक्त गाडीमा पार्टी झण्डा, ब्यानर र साउण्ड बक्स समेत रहेको प्रहरीले जनाएको छ ।

जिप चालक नन्द रानाले उक्त सामग्री खैरागारसम्म स्थानीय व्यापारीको ढुवानीका लागि रहेको दाबी गर्नुभयो । रास्वपा बनगाड–कुपिण्डे नगर सभापति लोकेन्द्र वलीले प्रचारमा प्रयोग भएको गाडीमा यस्तो सामग्री राखिनु चालकको कमजोरी भएको भन्दै पार्टी नेतृत्व तहबाट यस्तो कुनै क्रियाकलाप नभएको उहाँले बताउनु भयो ।

 

कर्णाली प्रदेश कार्यालय

भिडियो