डोल्पाको उत्तरी क्षेत्र उपल्लो डोल्पामा फागुन १८ गते निर्वाचन प्रचारका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताबीच विवाद चर्किँदा दुई स्थानमा ढुङ्गा हानाहान भएको छ । साल्दाङ क्षेत्रमा एमालेको प्रचार टोलीले स्थानीय नेतासँग छलफल गरिरहेका बेला नेकपाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी रुकबहादुर खड्काले बताउनु भयो । प्रहरीका अनुसार ढुङ्गा प्रहारबाट जोगिन भाग्ने क्रममा एमालेका केही कार्यकर्ता सामान्य घाइते भएका छन् ।
डिएसपी खड्काका अनुसार दुवै पक्ष प्रचारका क्रममा बाटोमा भेट हुँदा विवाद बढेर झडपमा परिणत भएको हो । घटनापछि तत्काल प्रहरी टोली परिचालन गरि स्थिति नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
यसैबीच, साल्दाङ घटनाको विरोधमा फागुन १८ गते नै त्रिपुरासुन्दरी नगरपालिका–२ मद्दुबाट घरदैलो सकेर त्रिपुराकोट बगर बजारतर्फ आउँदै गरेका नेकपाका उम्मेदवार धनबहादुर बुढा र उनका कार्यकर्तालाई साँझ त्रिपुरासुन्दरी–१ रल्लीस्थित राजारानी नजिक एमाले कार्यकर्ताले अवरोध गरेपछि विवाद भएको थियो ।
नेकपाका उम्मेदवार बुढाले आफूहरूलाई चुनावी प्रचारमा अवरोध गर्न खोजिएपछि थप कार्यकर्ता परिचालन गरी प्रतिकार गरेको दाबी गर्नुभयो । प्रमुख जिल्ला अधिकारी जुनु हमाल (ढकाल) ले साल्दाङमा भएको विवादपछि सुरक्षाकर्मी परिचालन गरी अवस्थालाई सामान्य बनाइएको बताउनु भयो ।