INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनका कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना : दुई जनाको मृत्यु, ८ घाइते

रामेछाप नगरपालिका–२ सिरुवारीस्थित भित्री सडकखण्डमा मतपत्र र निर्वाचन सामग्री बोकेको ना ७ ख ६७६८ नम्बरको चार पाङ्ग्रे सवारी साधन ०८२ फागुन १८ गते दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीबाट रामेछाप नगरपालिका–२ स्थित शीतलादेवी माध्यमिक विद्यालय सिरुवारी र वडा नं. ३ को वडा कार्यालय भवन साँघुटारका लागि मतपत्र तथा निर्वाचन सामग्री लिएर मतदान अधिकृतसहितको टोली जाँदै गर्दा दुर्घटना भएको हो ।

दुर्घटनामा सप्तरीको रूपनी गाउँपालिका–१ घर भई हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्र.स.नि. परशुराम यादव र साँघुटार ‘ख’ केन्द्रका मतदान अधिकृत मन्थली नगरपालिका–१ भैँसेश्वरका ५७ वर्षीय डोरप्रसाद घिमिरे गम्भीर घाइते भइ मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । उहाँहरु दुवैको शव सोही अस्पतालमा राखिएको र पोष्टमार्टम हुन बाकिँ छ ।

दुर्घटनामा परी शीतलादेवी मा.वि सिरुवारी ‘क’ केन्द्रका मतदान अधिकृत कृष्णप्रसाद घिमिरे गम्भीर घाइते हुनुभएको छ। त्यस्तै ३५ वर्षीया पूजा देवी सुनुवार, रामेछाप नगरपालिका–२ का २७ वर्षीया सबिना खड्का , खाँडादेवी–५ का ३५ वर्षीया दुर्गा कार्की, खाँडादेवी–४ का ३९ वर्षीय भीमबहादुर मानन्धर, मन्थली नगरपालिका–३ कठजोरका ३९ वर्षीय केदारकुमार रोक्का,  सवारी चालक खाँडादेवी गाउँपालिका–४ का ४७ वर्षीय सम्मरबहादुर मानन्धर घाइते हुनुभएको छ । उहाँहरूलाई हेलिकोप्टरमार्फत थप उपचारका लागी काठमाडौं ल्याइएको छ ।

खाँडादेवी गाउँपालिका–२ की ३५ वर्षीया कमला ढुंगेल खत्रीको मन्थलीमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

नवराज पथिक

भिडियो