आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा मतदान केन्द्रतर्फ निर्वाचन सामाग्रीसहित कर्मचारी खटिएका छन् । दुर्गम क्षेत्रका मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी ०८२ फागुन १७ गते खलंगाबाट हिडेका छन् ।
निर्वाचनको लागि चाहिने मतपेटिका, मतपत्र सुरक्षाकर्मीसहित मतदान अधिकृत लगायतका टोली हिडेका हुन् । जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीका अनुसार टाँढा ठाउँ जानुपर्ने कर्मचारी हिडे सकेका छन् । नजिकका क्षेत्रमा फागुन १८ गते भित्र कर्मचारीहरु पुग्नेगरी योजना बनाइएको छ ।
निर्वाचनको लागि कर्मचारी उत्साहित भएर मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन् । निर्वाचन कार्यालयले मतदान केन्द्रमा चाहिने सामाग्री वितरण गर्दै केन्द्रतर्फ जनशक्ति परिचालन गरेको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ सय १२ मतदानस्थल, १ सय ४३ मतदान केन्द्र तथा दुई ओटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
जिल्लामा निर्वाचनको लागि ११ ओटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । भने, ४५ हजार १ सय ९३ महिला र ४७ हजार ७ सय ५५ पुरुष गरी कुल ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् ।
मतदानमा खटिएका कर्मचारीले मतदान केन्द्रमा पुगेर सर्वपक्षीय बैठक, क्षेत्र निर्धारण, मतदान केन्द्र निर्माण लगायतका काम गर्ने छन् ।
निर्वाचनमा खटिने सुरक्षाकर्मी समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक एवं प्रवक्ता हेमराज भट्टले बताउनु भयो । सबै स्थानीय तहमा प्रहरी निरीक्षकको नेतुत्वमा टोली परिचालन गरिएको छ । यसैगरी निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाली सेना समेत निर्वाचनमा परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्लामा निर्वाचनको लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनको मतदान केन्द्र निरीक्षण, सुरक्षा समिति बैठक, मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको तालिम सम्पन्न भइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
जिल्लाका ३० ओटा मतदान केन्द्रको अनुगमन गरिएको उहाँले बताउनुभयो । नो भोट भन्दै निर्वाचनमा बहिस्कारमा उत्रिएका नौगाड गाउँपालिका–१ को नागु गाउँमा पुगेर सरकारी सेवाको साथै मतदानमा भाग लिन अपिल गरिएको उहाँले बताउनुभयो । उम्मेदवारसँग भर्चुअल बैठक राखेर नागुबासीसँग मतदानमा सहभागि हुन अपिल गरिएको छ भने व्याँस गाउँपालिका–२ का स्थानीयसँगको छलफलपछि यहाँका मतदाता भोट हाल्न तयार भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
जिल्लामा भौगोलिक विकटता, सडकको अवस्था, र विगतका घट्नाहरूलाई हेरेर निर्वाचनको सुरक्षा विश्लेषण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार जिल्लामा ८ सय ५७ जना कर्मचारी निर्वाचनमा खटाइएका छन् ।