INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनलाई प्रभावकारी बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई अभिमुखीकरण  

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि जिल्लामा तीन दिने अभिमुखीकरण तालिम सुरु गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन जिल्ला निर्वाचन कार्यालय, बाजुराको आयोजनामा फागुन १४ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको र तालिम मार्फत निर्वाचन प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य राखिएको  जिल्ला निर्वाचन कार्यालका प्रमुख भीमबहादुर शाहीले बताउनु भयो ।

कर्मचारीहरुलाई मतदान केन्द्र व्यवस्थापन, मतदाता परिचय पुष्टि प्रक्रिया, मतपेटिका व्यवस्थापन, मतदान स्थल पूर्व तयारी, आचारसंहिता कार्यान्वयन तथा आकस्मिक अवस्थाको व्यवस्थापन लगायतका विषयमा दक्ष बनाउनका लागि तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो ।

मुख्य निर्वाचन अधिकारी सञ्जीव पोरखेरले निर्वाचन आचारसंहिताको पालना, मतदातामैत्री वातावरण निर्माण, सुरक्षा समन्वय तथा कानुनी प्रावधान बारे कर्मचारीहरुलाई विस्तृत जानकारी गराएको बताउनु भयो ।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा सञ्चालन गरिएको यस अभिमुखीकरण तालिमले मतदान अधिकृत तथा सहाय मतदान अधिकृतहरुलाई आफ्नो जिम्मेवारी स्पष्ट पार्दै आत्मविश्वासका साथ कार्यसम्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनु भयो । साथै, तालिमले मतदान प्रक्रियामा देखिन सक्ने सम्भावित चुनौतीहरूको पहिचान र समाधानका उपाय बारे पनि स्पष्ट मार्गनिर्देशन प्रदान गर्ने उहाँको भनाइ छ ।

जिल्लामा तोकिएका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सम्पन्न गराउने उद्देश्य सहित निर्वाचनसँग सम्बन्धीत सबै गतिबिधिहरु अगाडि बढाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर शाहीले बताउनु भयो । निर्वाचनलाई भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोले समन्वयको कार्य पनि भइरहेको उहाँले बताउनु भयो ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा ७ सय ९ जना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत संञ्जीव पोखरेलले बताउनु भयो ।  अधिकृत्त पोखरेलका अनुसार जिल्लाका १ सय १८ ओटै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक अधिकृत सहित बढीमा ६ जनासम्म कर्मचारी खटाइएको र सदरमुकाम मार्तडीको डिभिजन वन कार्यालयमा राखिएको अस्थायी मतदान स्थलमा चार जना कर्मचारी खटाउने तयारी गरिएको उहाँले बताउनु भयो ।

जिल्लामा कुल ८७ हजार ८ सय ६१ मतदाता कायम भएका छन् । जसमा ४५ हजार ४ सय २८ पुरुष, ४२ हजार ४ सय ३१ महिला र दुई अन्य रहेका छन् । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सात राजनीजिक दल सहित एक जना स्वतन्त्र गरी आठ जना उम्मेद्धार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

 

पदमबहादुर सिंह

भिडियो