INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदाता शिक्षा, जनशक्ति व्यवस्थापन र सुरक्षा रणनीति तयारी अन्तिम चरणमा

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कामलाई अन्तिम चरणमा पु¥याइएको जिल्ला निर्वाचन कार्यालय, बझाङका प्रमख बसन्तबहादुर धानुकले बताउनु भयो । निर्वाचनका लागि जिल्लामा १ हजार १ सय ३४ जना कर्मचारी खटनपटन भइसकेको र उहाँहरूलाई आवश्यक तालिम दिने तयारी भइरहेको समेत निर्वाचन कार्यालयका प्रमुख धानुकले बताउनु भयो ।

जिल्लाका १२ ओटै स्थानीय तहका ९४ वडामा ०८२ फागुन ३ गतेदेखि स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र उहाँहरुले मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिइरहनु भएको निर्वाचन कार्यालय, बझाङ्का प्रमुख धानुकको भनाइ छ । जिल्लामा ६२ हजार २ सय ८९ पुरुष र ६४ हजार ६ सय १४ महिला गरी १ लाख २६ हजार ९ सय ३ मतदाता रहेका छन् ।

निर्वाचनका लागि दुई अस्थायी मतदान केन्द्र, १ सय ८९ स्थायी मतदान केन्द्र र १ सय ३७ मतदानस्थल तोकिएका छन् । तीन मतदानस्थल सामान्य, ४९ संवेदनशील र ८५ अतिसंवेदनशील श्रेणीमा राखिएको छ । जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जिल्लामा ५१ प्रकारका निर्वाचन सामग्री पुगिसकेको र केही दिनमै मतदानस्थलमा निर्वाचन सामग्री ढुवानी र व्यवस्थापन गरिने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी र जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र धमलाले विगतका निर्वाचनमा भएका कमिकमजोरी नदोहोरिने गरी सुरक्षा योजना बनाइएको बताउनु भयो ।

निर्वाचनका दिन ७ सय ११ जना नेपाल प्रहरी, ४ सय ८ जना नेपाली सेना, १ सय ८४ जना सशस्त्र प्रहरी र १ हजार ५ सय ८० जना निर्वाचन प्रहरी गरी कुल २ हजार ८ सय ८३ जना सुरक्षाकर्मी परिचालन गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी केशरीले बताउनु भयो ।

 

सत्यराज सिंह

भिडियो