नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच ०८२ फागुन १३ गते साँझ झडप हूँदा तीन जना घाइते भएका छन् ।
डिलासैनी गाउँपालिका–७ लेक टोलमा फागुन १३ गते साँझको समयमा चुनावी घरदैलो कार्यक्रमका क्रममा दुई पक्षबीच बिबाद भएपछि झडप भएको र झडपका क्रममा तीन जना घाइते भएको जानकारी प्रहरी चौकी, धामीगाँउबाट प्राप्तभएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर सुरज सिंहले बताउनु भयो ।
झडपका क्रममा घाइते हुनेमा डिलासैनी गाउँपालिका–७ निवासी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकता २८ वर्षीय जनक धामी, २६ वर्षीय माधव धामी र सोही ठाउँका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्याकर्ता लोकेन्द्रसिंह धामी रहेको इन्स्पेक्टर सिंहले जानकारी दिनुभयो ।
घाइते मध्येका जनक र माधवको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको र लोकेन्द्र धामीको गोकुलेश्वर अस्पताल, बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई पनि गिरफ्तार गरी अनुसन्धान गरिरहेको भए पनि हाल उनीहरुको सम्पूर्ण विवरण बताउन नसकिने बताउनु भयो ।
एमालेबाट दामोदर भण्डारी र रास्वपाबाट हरिमोहन भण्डारी प्रतिनिधिसभा सदस्य पदका लागि जिल्लामा उम्मेदवार रहनुभएको छ ।