निर्वाचन आचारसंहिता २०८२ को खण्ड ७५ को उपबुँदा (७) (ख) मा राजनीतिक दल वा उम्मेदवारले आयोजना गर्ने बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन तथा अन्तरक्रिया जस्ता कार्यक्रममा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, अर्धसरकारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारीहरूले भाग लिन नपाउने स्पष्ट व्यवस्था गरिएको छ। तर उक्त प्रावधान विपरीत कर्मचारी तथा जनप्रतिनिधि नै चुनावी प्रचार–प्रसारमा संलग्न भएको पाइएको छ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) द्वारा गरिएको अनुगमनका क्रममा राजविराजस्थित विद्युत् कार्यालयमा करार सेवामा कार्यरत ३२ वर्षीय लडु खंग फागुन ३ गते तिलाठी कोइलाडी गाउँपालिका–३ मा आयोजित जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पक्षीय गोष्ठी कार्यक्रममा सहभागी भएको भेटिएको हो ।
त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष २८ वर्षीय विद्यानन्द चौधरीले फाल्गुन १३ गते बुधबार आफ्नो आधिकारिक फेसबुकमार्फत चुनावी प्रचार गर्दै फेसबुक लाइभबाट मत मागेका छन् ।

