जिल्ला प्रशासन कार्यालय गुल्मीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला स्तरीय एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहेरेका अनुसार जिल्लाका १ सय ४५ मतदानस्थलमध्ये ४८ अति संवेदनशील, ५७ संवेदनशील र ४० सामान्य वर्गमा वर्गीकरण गरिएको छ। सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीतर्फ १ हजार ६ सय ९५ र सशस्त्र प्रहरी बलतर्फ १ सय ७९ जना निर्वाचन प्रहरी छनोट भई तालिम सम्पन्न गरी परिचालन गरिएको छ।
जिल्ला कमाण्ड पोस्ट तथा निर्वाचन सेल गठन गरिनुका साथै सबै सुरक्षा निकायमा निर्वाचन सेल स्थापना गरी नियमित समन्वय बैठक सञ्चालन भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला कारागार तथा विमानस्थलको सुरक्षा जिम्मेवारी नेपाली सेनाले सम्हालेको छ। हालसम्म १० स्थानमा सेना परिचालन गरिएको र निर्वाचन अवधिमा थप युनिट परिचालन गरिने जनाइएको छ।
सशस्त्र प्रहरी बलका दुई निर्वाचन सुरक्षा बेस, एक स्ट्राइकिङ फोर्स, १६ मोबाइल टोली र तीन निर्वाचन कार्यालय सुरक्षा युनिटसहित २७ युनिट परिचालन हुनेछन्। मतदान केन्द्रको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीबाट गरिनेछ भने नेपाल प्रहरीका २४ मोबाइल टोली परिचालनको योजना छ। आवश्यक संख्यामा रिजर्भ फोर्स समेत तयारी अवस्थामा राखिएको छ।
अनुमति प्राप्त ६४ थान हातहतियार स्थानीय प्रहरी चौकीमार्फत संकलन गरिएको छ। ‘जेन जी’ आन्दोलनका क्रममा फरार दुई कैदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। संयुक्त गस्ती सञ्चालनका साथै नमूना मतदानसहित तीन वटा व्यवहारिक सुरक्षा अभ्यास सम्पन्न गरिएको सिडिओ गैहेरेले जानकारी दिनुभयो।
जिल्लामा क्रियाशील राजनीतिक दलबाट २० जना र स्वतन्त्रतर्फ २३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। मतगणनास्थल पहिचान र तयारी पूरा भएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्पन्न भइसकेको छ।
२ सय ८४ स्थायी र एक अस्थायी गरी २ सय ८५ मतदान केन्द्रका लागि २ सय ८५ मतदान अधिकृत, २ सय ८५ सहायक मतदान अधिकृत तथा अन्य कर्मचारी र सहयोगी गरी कुल १ हजार ७ सय ८ कर्मचारी परिचालन हुनेछन्। जिल्लाभर ८ सय ४६ स्वयंसेवक परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी कृषी घिमिरेले जानकारी दिनुभयो।
मतपत्रसहितका आवश्यक सामग्री निर्वाचन आयोग नेपालबाट प्राप्त भइसकेका छन्। निर्वाचन सुरक्षाका लागि आवश्यक हातहतियार, गोलीगठ्ठा तथा सञ्चार उपकरण सम्बन्धित सुरक्षा निकायका केन्द्रीय कार्यालयबाट प्राप्त भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो।
मतपेटिका ढुवानी र मोबाइल गस्तीका लागि सवारी साधन व्यवस्थापन भइरहेको छ। अधिकांश मतदानस्थलको भौतिक पूर्वाधार सन्तोषजनक रहेको र आवश्यक मर्मतसम्भार सम्पन्न गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
दल, उम्मेदवार र सञ्चारकर्मीलाई निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण गरिएको छ भने घरघरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। सामाजिक सञ्जाल निगरानीका लागि जिल्ला प्रहरी कार्यालयमा दुई जनाको डेस्क स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
निर्वाचन अवधिभर सडक मार्ग सुचारु राख्ने र अत्यावश्यक वस्तुको अभाव हुन नदिन निजी क्षेत्रसँग समन्वय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताउनुभयो। प्रत्येक मतदानस्थलमा स्वास्थ्यकर्मीसहित प्राथमिक उपचार डेस्क स्थापना गरिने जनाइएको छ।
आचारसंहिता अनुगमन समितिले अहिलेसम्म मौखिक रूपमा प्राप्त गुनासाहरू समाधान गरिसकेको र जिल्लामा आचारसंहिताको पालना सन्तोषजनक रहेको जनाइएको छ।