INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्गमका मतदान केन्द्रबाट मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने निर्णय

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानपछि मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने गरी निर्णय गरिएको छ । जिल्लाका दुर्गम क्षेत्रका मतपेटिकाहरू हेलिकोप्टर मार्फत ढुवानी गर्ने गरी तयारी थालिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

सुरक्षाका दृष्टिकोणबाट जिल्लाका हिमाली क्षेत्रमा रहेका अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको हो ।

व्यास गाउँपालिका वडा नम्बर २ मा रहेका शिरसिन्धार आधारभूत विद्यालय बोधगाउँ, सर्वहित आधारभूत विद्यालय दुम्लिङ तथा रानीस्थान आधारभूत विद्यालय मालको मतपेटिका हेलिकोप्टरबाट ल्याउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिनुभयो । अपि हिमाल गाउँपालिका वडा नमवर ३ को हिमालय आधारभूत विद्यालय पाथा, वडा नम्बर २ को भवानी आधारभूत विद्यालय सिती, अपि हिमाल गाउँपालिका–४ को खण्डेश्वरी माध्यमिक विद्यालय क्षत्ति र वडा नम्बर ६ को महिला सामुदायिक भवन सितोलाको मतपेटिका हेलिकोप्टरबाट ल्याउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा मतपत्र ढुवानी, आचारसंहिता पालना सम्बन्धी राजनीतिक दलहरूसँग भएको बैठकमा उक्त निर्णय गरिएको उहाँले बताउनु भयो ।

जिल्लाका सात ओटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ढुवानीका लागि गृह मन्त्रालयमा लेखी पठाइएको तथा सानो हेलिकप्टर प्राप्त हुने जानकारी प्राप्त भएको र मतपेटिका र मतदान अधिकृतलाई हेलिकप्टर मार्फत ल्याउने विषयमा बैठकमा पार्टीको प्रतिनिधिहरूले समेत सहमति जनाउनुभएको उहाँको भनाइ छ ।

निर्वाचनमा मतदातालाई शान्तिपूर्ण रूपमा मतदान गर्ने वातावरण मिलाउन जिल्लाका राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएका छन् ।

मतदानको दिन सबै राजनीतिक दलका तोकिएका आधिकारिक प्रतिनिधिहरूले मतदान केन्द्रमा सहयोग गर्ने र मतदान प्रक्रियालाई बाधा पुग्ने गरी प्रचारप्रसार नगर्ने, तथा मतदान अधिकृत र सुरक्षाकर्मीलाई पूर्णरूपमा सहयोग गर्ने जिल्लास्थित राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् ।

मतदानको दिन मतदान केन्द्रमा कुनै बिबाद वा असहमति उत्पन्न भएमा, त्यसलाई तत्कालै सम्बन्धित मतदान अधिकृत र उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूबिचको आपसी छलफल र सहमतिमा समाधान गर्ने, मतदान कार्यलाई कुनै पनि बहानामा स्थगित हुन नदिन र कानुनी प्रक्रिया भित्र रहेर समस्या सुल्झाउन सबै पक्ष सहमत रहने निर्णय गरिएको छ ।

बैठकमा नेकपा एमालेका उमेशराज जोशी, नेपाली कांग्रेसका पुलेन्द्रबहादुर कार्की, राप्रपाका देवबहादुर बम, रास्वपाबाट परमानन्द बडू, नेपाली कम्युनिस्ट पार्टीका गणेशसिंह खत्री र नेपाल कम्युनिस्ट पार्टी संयुक्तका शेखरचन्द्र बडूको सहभागित रहेको थियो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा ११ दलका उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

मतदान केन्द्रमा मतपत्र तथा निर्वाचन सामाग्री पठाउने तयारी समेत गरिएको सहायक निर्वाचन अधिकारी विष्णुप्रसाद अवस्थीले बताउनु भयो ।

नरेन्द्रसिंह कार्की

भिडियो