INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा संयुक्त सुरक्षा गस्ती

जिल्ला निर्वाचन सुरक्षाको लागि तीन ओटै सुरक्षा निकायले संयुक्त गस्ती सुरु गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको हो  ।

जिल्लामा १ सय १२ मतदान स्थल र १ सय ४३ मतदान केन्द्र छन् । ती स्थलको अनुगमन तथा त्यस ठाउँका नागरिकलाई सुरक्षाको प्रत्याभुतिका लागि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीको संयुक्त गस्ती परिचालन गरिएको छ । उनीहरुले हरेक ठाउँमा नियमित चेकजाँच, इजाजत प्राप्त हतियारहरुको संकलन, अवैध मदिरा नियन्त्रणको लागि बजार पसल अनुगमन, अवैध मदिरा बरामद गरी नष्ट तथा मतदानस्थलहरुको नियमित रुपमा अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

जिल्लाभरि सुरक्षाको अवस्थाको निरन्तर मूल्याङ्कन तथा निरीक्षणको काम चलिरहेको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार निर्वाचनको विषयमा आवश्यक निर्देशन दिन सुदूरपश्चिम प्रदेशका मुख्य सचिव बैकुण्ठप्रसाद अर्यालले जिल्लामा पुगेर आवश्यक चुनावी तयारी बारे निर्देशन दिनु भएको छ ।

नौगाड गाउँपालिका–१ को नागुका स्थानीयले नो भोट भने पछि त्यहाँको निर्वाचनको विषयमा समेत बैठकमा छलफल भएको उहाँले बताउनु भयो । अहिलेसम्म नागुका स्थानीय मतदान गर्न तयार छैनन, उहाँले भन्नुभयो, व्याँस गाउँपालिका–२ का स्थानीय भने मतदान गर्न तयार भएका छन् ।

फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा ८ सय ५६ जना कर्मचारी खटाइएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा निर्वाचनका लागि खटिने कर्मचारीहरुको अन्तिम सूची प्रकाशन गरेको छ ।

सहायक निर्वाचन अधिकृत विष्णु अवस्थीका अनुसार एउटा मतदान केन्द्रमा ६ जनासम्म कर्मचारी परिचालन गरिएको छ । दुई ओटा अस्थायी मतदान केन्द्रमा तीन / तीन जना कर्मचारी खटाइएको छ ।

निर्वाचनका लागि खटाइएका कर्मचारीहरुलाई यही फागुन १३ र १४ गते तालिम दिएर मतदान केन्द्रमा पठाउने तयारी भएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले जानकारी दिनुभयो । धामीका अनुसार पहिलो चरणमा अपिहिमाल गाउँपालिकाका १० ओटा, व्याँस गाउँपालिकाका १३ ओटा, मार्मा गाउँपालिकाका १७ ओटा, लेकम गाउँपालिकाका १७ ओटा र नौगाड गाउँपालिकाका १४ तथा अस्थायी मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिमको आयोजना गरिएको छ । यसैगरी दोस्रो चरणमा महाकाली नगरपालिकाका २० ओटा, शैल्यशिखर नगरपालिकाका २३ ओटा, मालिकार्जुन गाउँपालिकाका १८ ओटा, दुहुँ गाउँपालिकाका ११ ओटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम आयोजना गरिएको उहाँले बताउनु भयो ।

प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ सय १२ ओटा मतदान स्थल र १ सय ४३ ओटा मतदान केन्द्र तोकिएको छ ।

जिल्लामा ४५ हजार १ सय ९३ महिला र ४७ हजार ७ सय ५५ पुरुष गरी कुल ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् ।

नरेन्द्रसिह कार्की

भिडियो