निर्वाचन आचारसंहिता २०८२ मा उल्लेख भएअनुसार कुनै पनि निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रमा भोट माग्न नपाउने व्यवस्था भएपनि जिल्लाका अधिकांश जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरित भोट माग्न हिँडेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
निर्वाचन आचारसंहिता विपरित दुहवी नगरपालिका–३ का वडाध्यक्ष माधवप्रसाद भण्डारीले नेकपा एमालेका उम्मेदवार लागि भोट माग्दै हिड्नु भएको पाइएको छ ।
स्थानीय मतदाताले भण्डारी जनप्रतिनिधि भएर कुनै काम नगरेको र अहिले फेरी प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवारको पक्षमा मतदान गर्न दबाब दिँदै भोट माग्न आएको आरोप लगाएका छन् ।
स्थानीयहरूले लगाएको आरोपको विषयमा वडाध्यक्ष भण्डारीले आफू भोट माग्न नहिडेको र एमालेका उम्मेदवार तथा समर्थकलाई गाउँमा निषेध गरेको धम्की आएकाले कुरा बुझ्न मात्रै गएको प्रतिक्रिया दिनु भयो ।
वडाध्यक्ष भण्डारीले भोट माग्न आएको भन्दै स्थानीयहरूसँग भएको विवादको कुरा र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले पनि आफ्नै स्थानीय तहमा मतदातालाई प्रभावित पार्ने गरी भोट मागेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
निर्वाचन आचारसंहिता अनुगमन समिति र अधिकृतले कुनै चासो नदेखाएपछि निर्वाचन आचारसंहिता विपरित गर्ने आजादलाई स्थानीयले गाउँ प्रवेशमा रोक लगाएका छन् । भोक्राहा नरसिंह गाउँपालिका–५ का स्थानीय मतदाताले आजाद जनप्रतिनिधि भएर पार्टीको उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचारसंहिताको उल्लङघन गरेकाले कारबाही गर्नुपर्ने माग समेत गरेका छन् ।