तुलसीपुर उमनपा–५ बिरेन्द्र चोकमा फागुन ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई स्वागत गर्ने कार्यक्रमको भीडमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाउने कार्यमा संलग्न तुलसीपुर उमनपा–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीविरुद्ध नारावाजी गर्दै झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले फागुन ८ गते बस्नेतलाई तुलसीपुरबाट गिरफ्तार गरी अनुसन्धान थालेको र घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । प्रहरीले समाजमा शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने यस्ता गतिविधि नगर्न र सम्पूर्ण सरोकारवाला पक्षलाई संयमित एवं जिम्मेवार बनिदिन आग्रह गरेको छ ।
यसअघि फागुन ८ गते नै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघले दोषीमाथि कारवाही गर्न प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापन पत्रसहित २४ घण्टे अल्टिमेटम दिएका थिए भने घोराही बजारमा घटनाको विरोधस्वरुप कालो झण्डा प्रदर्शन गरेका थिए ।