प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २८ ओटा निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशमा जिल्लागत आधारमा अस्थायी मतदान केन्द्र र अस्थायी मतदाता तोकिएको छ ।
इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा फागुन २१ गते हुने निर्वाचनका लागि दुई ओटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि अस्थायी मतदान केन्द्र निर्धारण गरिएको हो ।
जिल्ला कारागार र गोकुण्डेश्वर माध्यमिक विद्यालय, धनकुटा नगरपालिका–६ सिरानबजारमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।
कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिने भएको हो भने गोकुण्डेश्वर मतदान केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव अधिकारीले बताउनु भयो ।
जिल्लामा २ हजार ३ सय ८ जना अस्थायी मतदाताको तथ्याङ्क रहेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा ७६ जना कैदीबन्दी र २ हजार २ सय ३२ जना कर्मचारी र सुरक्षाकर्मीहरु अस्थायी मतदाता छन् । उनीहरुको अस्थायी मतदाता नामावलीमा नाम स्वीकृत भइसकेको अधिकारीले बताउनु भयो ।
‘निर्वाचनमा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको उपस्थिति शत प्रतिशत हुने देखिन्छ,’ जिल्ला निर्वाचन कार्यालयका प्रमु्ख अधिकारीले भन्नुभयो ‘तर गोकुण्डेश्वर माविमा रहने केन्द्रमा भने थोरै मात्र उपस्थिति हुने छन् । किनभने निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सहित गरेर २ हजार २ सय ३२ जनाको नामावली रहेको छ ।’ निर्वाचनमा खटिने कर्मचारीले सम्बन्धित मतदान केन्द्रमै भोट हाल्ने सुविधा दिइएको छ ।
अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मत हाल्न पाउने व्यवस्था रहेको छ । अस्थायी मतदातालाई प्रत्यक्ष तर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा नरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
इन्सेक सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई ओटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।
कैदी बन्दीका लागि जिल्ला कारागार खाँदबारी र कर्मचारीका लागि जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी खगेन्द्र अधिकारीले बताउनु भयो । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर २ हजार ४ सय ३४ अस्थायी मतदाता कायम भएको निर्वाचन कार्यालयले जनाएको छ । अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी, नेपाली सेना, प्रहरी, कारागारका थुनुवा र निर्वाचन कार्यमा खटिएका कर्मचारी समावेश हुनेछन् ।
मतदाता नामावलीमा नाम भएका जिल्ला कारागारका १ सय ४५ कैदीबन्दी र बृद्धा आश्रममा रहेका २० जना जेष्ठ नागरिक छन् । प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलन गरेको थियो । अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहने जनाएको छ । यस्तै, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदाताका रूपमा रहनेछन् ।
इन्सेक ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाँका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १ हजार ६१ जना अस्थायी मतदाता कायम भएका छन् ।
जिल्लामा सुरक्षाकर्मी, निर्वाचन प्रहरी, कैदीबन्दी तथा निर्वाचनमा खटिएका कर्मचारीहरू गरी उक्त संख्या कायम भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिदुर कुमार बस्नेतले बताउनु भयो ।
कैदीबन्दीहरूका लागि कारागारभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ । यस्तै सुरक्षाकर्मीहरूका लागि जिल्ला समन्वय समितिको हल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय प्राङ्गणमा मतदान केन्द्र तोकिएको छ ।