INSEC Online

📅 २०८३ जेष्ठ २१

मानवता र जिम्मेवारीको आवाज: झलकको कथा

व्यास नगरपालिका–८ बर्लाचीका २६ वर्षीय झलक विक अपाङ्गता भएका कारणले राज्यले प्रत्याभूत गरेको अधिकारबाट वञ्चित हुनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । बहुअपाङ्गता भएका झलकलाई सुरक्षित राख्ने व्यवस्था नहुँदा परिवारले डोरीमा बाँधेर राख्नुपर्ने अवस्था सिर्जना भएको छ, जुन मानव अधिकारको रुपले गम्भीर विषय हो । हिँडडुल गर्न असमर्थ, शारीरिक अवस्था नियन्त्रणमा नहुने र निरन्तर हेरचाह आवश्यक पर्ने झलकका लागि उपयुक्त सेवा र सहयोगको अभाव छ । दुर्घटनाको जोखिम र हराउने डरका कारण झलककी आमाले बाध्यतावश बाँधेर राख्नुुपरेको बताउनु भएको छ । “यो मेरो इच्छा होइन, बाध्यता हो, छोराको ज्यान जोगाउन सुरक्षित विकल्प नहुँदा यसरी बाँधेर राख्नुपरेको छ ।” झलककी आमा कालीमाया विकले भन्नुभयो ।

संयुक्त राष्ट्रसंघीय अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि तथा नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलाई स्वतन्त्रता, सुरक्षा, स्वास्थ्य सेवा, पहुँचयुक्त आवास र सम्मानपूर्वक जीवन बिताउने अधिकार सुनिश्चित गरेको छ । तर झलकको अवस्था ती कानुनी प्रतिबद्धतासँग कुनै पनि मेल खाँदैनन् ।

 चार वर्षकै उमेरमा पति गुमाएपछि कालिमाया एक्लैले छोराको पालनपोषण र उपचार गर्दै आउनु भएको छ । सरकारी तथा गैरसरकारी निकायमा पटक–पटक सहयोग माग्दा पनि कुनै व्यवहारिक समाधान नआएको उहाँको गुनासो छ । यसले अपाङ्गता भएका व्यक्तिको हेरचाहमा परिवारमाथि मात्र जिम्मेवारी थप्ने प्रवृत्ति देखाउदछ ।

झलकको जीवन सहज बनाउने उद्देश्यले केही महिना अघि रिसेड तनहुँले ह्विलचेयर उपलब्ध गराएको थियो तर उपलब्ध गराएको ह्विलचेयर झलकको अवस्थाअनुसार उपयुक्त नहुँदा प्रयोगमा आउन नसकेकोे उहाँले बताउनु भयो ।

कालिमायाले छोरालाई सुरक्षित रूपमा राख्न र खेलाउन व्यवस्थित कोठा अत्यावश्यक रहेको बताउँदै बाहिर खेल्न मिल्ने बरन्डा, भित्र सुत्ने व्यवस्था र शौचालयसहितको कोठा निर्माण आवश्यक रहेको बताउनुभयो ‘जग्गा म आफैँ व्यवस्था गर्छु, तर कोठा बनाउन राज्य र सरोकारवाला निकायको सहयोग चाहिएको छ,’ उहाँले भन्नुभयो ।

अपाङ्गता अधिकारकर्मीहरूका अनुसार झलकको अवस्था केवल एक परिवारको समस्या नभई राज्यको दायित्वसँग जोडिएको विषय हो यसै सन्दर्भमा अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि भौतिक संरचना निर्माणमा पहल गरिने बताउनुभयो । व्यास नगरपालिका–८ अपाङ्गता स्वावलम्बन समूहकी सचिव शोमा लम्सालले झलकलाई आवश्यकता अनुसार स्वास्थ्य सेवा उपलब्ध गराई सुरक्षित स्थानमा राख्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशकी सदस्य सङ्गीता शर्माले झलकको अवस्थाअनुसार सहयोग लागि सम्बन्धित निकायसँग पहल गरिने बताउनुभयो ।

झलक विकको अवस्थाले अपाङ्गता भएका व्यक्तिका अधिकार कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्न राज्य, स्थानीय तह र नागरिक समाजको साझा दायित्व हो ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो