सरकारले सम्झौता अनुसारको किस्ता निकासा नगर्दा गुल्मीका अग्नीपीडितहरु थप पीडामा परेका छन् । घर सम्पत्ती गुमाएको पीडा माथि आधा घर र साहुको ऋणको भारी थपिएको दुई बर्ष पुग्न थाल्यो । तर, सरकारले आफुहरुको पीडामा कुनै सुनुवाई नगरेको गुनासो अग्नीपीडितको रहेको छ । इस्मा गाउँपालिका–४ कोटकोटेरीका सुन्दरलाल बिकको फेन्सी र किराना पसलसहितको घर जलेको दुई वर्ष पुग्न थाल्यो । सरकारले घर बनाउने भनेपनि विकसहितका अग्नीपीडतले गाउँपालिकासँग सम्झौता गरेर काम अगाडी बढाए । तर, आधा घर बन्दासम्म गाउँपालिकाका बाहेक संघ र प्रदेशले किस्ता पठाएनन् ।

निर्माण व्यवसायीले बिचमै काम छोडे । उहाँले गाउँमा डेढ लाख ऋण खोजेर घर छाउनुभयो । पैसा नभएका कारण आधा घर अलपत्र परेर बसेका पीडित परिवार गाउँमा छन् । घर छाएर बसेपछि सुन्दरलाई मनमा बेचैन छ । किनकी साढे ३ लाख रुपियाँ निर्माण व्यवसायीलाई दिने उपाय छैन, सरकारले किस्ता पठाउँदैन् । उहाँले भन्नुभयो, ‘आगोले घर जल्दाभन्दा अहिले मनमा पीडा छ । सरकारले काम गराएर पैसा दिएन निर्माण व्यवसायीले मागेको माग्यै छन् ।”

इस्मा गाउँपालिका–४ कोटकोटरीका बल बहादुर दर्जीलाई २०८१ सालको बर्सात अगाडिनै घरमा बस्न पाउने आशा थियो । तर, दुई बर्ष पुग्न लाल्दा पनि घर आधा र छिमेकीकोमा बास छ । उहाँले भन्नुभयो, “घर आधा र बास अर्कैकोमा छ । आधा घरको पनि निर्माण व्यवसायीलाई दिने पैसा छैन ।” २०८१ वैशाख ८ गते जङ्गलको आगो बस्ती पसेपछि इस्माका मात्रै ४९ घर गोठ जलेर नष्ट भएका थिए । अधिकांश अग्नी पीडितले घर गोठ निर्माण गरेका छन् । तर, सबैलाई एउटै पिरलो छ घर निर्माणको लागि पाउनु पर्ने पैसा सरकारले दिएन ।

अग्नीपीडित परिवारले आवास निर्माणका लागि ५ लाख रुपियाँ पाउने व्यवस्था छ । त्यसमध्ये इस्मा पालिकाले १ लाख र ४ लाख प्रदेश तथा संघ सरकारले उपलब्ध गराउनु पर्ने हो । ४ लाख मध्ये पहिलो किस्ता ५० हजार रुपियाँ बाहेकको बाँकी रकम आएको छैन । आपूmहरुलाई जनताको अगाडी मुख देखाउन नसक्ने अवस्था रहेको इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतले बताउनु भयो । उहाँले कसैका घरनै आधा भए कसैले घर बनाएर पैसा पाएनन् पीडित र निर्माण व्यवसायी दुवैले सास्ती खेपिरहेको बताउनु भयो ।
इस्मा गाउँपालिका–४ का सात घर निर्माणको जिम्मा केशव घर्तीले लिनु भएको थियो । उहाँले बैंक र सहकारीबाट ऋण खोजेर बिपद्मा परेकाहरुको घर निर्माण गरेपनि सरकारले पैसा नदिँदा आर्थिक तथा मानसिक रुपमा अत्यन्तै पीडा भएको गुनासो गर्नुभयो । उहाँले साढे ३ लाखका दरले करिव २५ लाख रुपियाँ पाउन बाँकी रहेको बताउनु भयो ।

इस्मा गाउँपालिका–१ र २ मा आगलागी र पहिरोबाट घरबार गुमाएका १० घर निर्माण गरेका डोल बहादुर सार्कीको करिब ५० लाख रुपियाँ फसेको छ । उहाँले भन्नुभयो,“बिपद्मा घरबास गुमाएका बिपन्नहरुको घर डेढ महिनामै बनाइदिएँ । उनीहरु घरमा आनन्दले बसेका छन्, म घर बनाउने मान्छेलाई सरकारले बौलाउने बनायो ।”
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले आगलागी र मनसुनजन्य क्षतिका ३ सय ५९ जना पीडितलाई पहिलो किस्ता प्रदान गरेको बताउँदै दोस्रो किस्ताको प्रक्रिया अगाडी बढेको बताउनु भयो । उहाँले बिपद् प्राधिकरणको पुरानो सिस्टम अवरुद्ध भएर नयाँ सुरु भएकाले थप काम गर्न नसकिएको बताउनुभयो ।