INSEC Online

📅 २०८३ जेष्ठ २१

छिन्ताङ हत्याकाण्ड ४६ वर्षसम्म पनि सहीद परिवारको अवस्था ज्यूँका त्यूँ

नागरिक स्वतन्त्रताको पक्षमा र कठोर पञ्चायती व्यवस्थाको विरोध गरेको आरोपमा ०३६ कात्तिक २९ गते तत्कालीन शासकबाट खटाइएका सुरक्षाकर्मीको सामूहिक बलात्कारबाट एक महिलाको मृत्यु भयो । सोही दिन गर्भवती अवस्थामा बन्दुक कुन्दाको यातनाबाट पीडित श्रीमाया राईको कात्तिक २९ गते सुत्केरी अवस्थामा अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो । कात्तिक २९ गते तत्कालीन सरकारको आदेश बमोजिम सुरक्षाकर्मीले गोली प्रहार गर्दा १४ वर्षीय बालक केशरमान राईको घटनास्थल छिन्ताङमा मृत्यु भयो ।

छिन्ताङ हत्या काण्ड भएको ०८२ कात्तिक २९ गते ४६ वर्ष बितेको छ । तर, छिन्ताङ हत्या काण्डका पीडित परिवारले अझै न्याय पाउन सकेका छैनन् । ०३६ सालको छिन्ताङ हत्याकाण्ड नेपालको राजनीतिमा निकै चर्चित घटना हो । तत्कालीन पञ्चायती सरकारले २०३६ सालमा खोकु छिन्ताङ आँखिसल्लामा हत्याकाण्ड मच्चाएर १६ जना स्थानीयको हत्या गरेको छिन्ताङ हत्याकाण्ड भएको ४६ वर्ष बितेको छ ।

तत्कालीन खोकु, छिन्ताङ र आँखिसल्ला गाविस मिलाएर हाल सहिदभूमि गाउँपालिका बनाइएको छ । सहिदभूमि गाउँपालिकामा वाडाङ्मी (पापानी) चाड धुमधामका साथ मनाइन्छ । नयाँ बाली भित्रिएको खुसीयालीमा कात्तिक पूर्णिमापछिको पहिलो मंगलबारबाट सुरु हुने वाडाङ्मीमा इष्ट देवताको पुजा गर्दै ६ दिन ६ रातसम्म पापानी नाचेर मनाइन्छ ।

२०३६ सालमा वाडाङ्मी चाड सुरू हुनै लागेको बेला तत्कालीन पञ्चायती सरकारले १६ जना स्थानीयको हत्या गरेकाले हरेक वर्ष वाडाङ्मी आउनै लाग्दा सहिदभूमिबासीको मनमा २०३६ सालको घाउले पोल्ने गरेको छ । स्थानीयलाई पुरानो घाउले पोल्न थालेपछि अरुबेला देखा नपर्ने राजनीतिक दलका नेताहरू छिन्ताङ पुगेर पुरानै शैलीमा भाषण वाचन गर्न थाल्छन्, ‘निरंकुशतासँग कहिल्यै नडग्ने सहिदभूमिका जनता महान छन्, बरु बन्दुकको नाल खान तयार भए, उनीहरु सहित उनीहरुका परिवारलाई सम्मान गर्न उचित कार्यक्रम बनाइन्छ।,’

प्राय वर्षैभरि सुनसान रहने सहिदभूमि गाउँपालिका–३ छिन्ताङमा रहेको सहीद पार्कमा कात्तिक २३ देखि २९ सम्म ०३६ सालको घाउ दोहोर्‍याइन्छ वा सम्झाइन्छ । “खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबको रुन्छ कि दुख विसाँउदा” भन्ने गीत घन्काइन्छ । तर, निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा लडेका सहीदहरुलाई राज्यले उचित सम्मान दिन नसकेको सहिद परिवारको गुनासो छ ।

छिन्ताङ हत्या काण्डका सहीदका परिवारले राज्यबाट राहत र रोजगारीको पटक पटक आश्वासन पाएका छन् । तर, सहीद परिवारहरुले विगत ४६ वर्षदेखि पाएको आश्वासनको अझै पनि प्रतीक्षामा छ । राज्यको नजरमा छिन्ताङमा सहादत प्राप्त गरेका गोपालआनन्द राई, भैरवबहादुर खालिङ,  बलबहादुर खत्री,

चन्द्रबहादुर दमाई, गम्भीरमान दर्जी, गंगाबहादुर राई, टंकबहादुर विश्वकर्मा, धनवीर दमाई, लाखमान साधु राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, पुत्रमान थुलुङ, श्रीमाया राई (साहिँली), झगेन्द्र राई, रामकुमारी राई र रणध्वज पुमा राईलाई राज्यले हत्या भएको ३८ वर्षपछि २०७४ साल पुसमा मात्रै सहिद घोषणा गरेको थियो। धनकुटाको छिन्ताङमा त्यो बेला भूमिगत रहेको नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा ०३६ सालको कात्तिक २३ गतेदेखि २९ गतेसम्म लगाएर प्रहरीले १६ जनाको हत्या गरेको थियो।

त्यो बेला गाउँका चारैतिर सेना, प्रहरीले घेरा हालेपछि स्थानीयमा त्रास र आतंकको खैलाबैला नै मच्चिएको थियो। गाउँ पसेका पञ्चायतका सुरक्षाकर्मीहरुले सर्वसाधारणलाई संगीन घोप्दै अधल्चो बनाएर हत्या गरेको कतिपयले अहिले पनि सम्झिरहेका छन्। जति बन्दुक पडकिन्थे, उति ऐया–आत्थाको कोलाहल भएको सहिद धनवीर दमाईका छोरा सोमवीर दमाइले बताउनु भयो । गाउँ पसेका बन्दुकधारी जत्थाले किसान, ज्यामी, गृहिणी सबैलाई निसाना बनाएका थिए। यसरी इतिहास बनाएको खोकु छिन्ताङ हत्याकाण्डको स्मृतिमा हरेक वर्ष छिन्ताङ काण्डमा सहिद सप्ताह मनाउने गरिएको छ। कात्तिक २२ गतेदेखि २९ गतेसम्म अधिकांश हत्याका शृङ्खला भएकाले यो सातालाई सहिद सप्ताहको रुपमा मनाउने गरिएको छ। सहिद सप्ताहमा छिन्ताङको सिंगो गाउँ रगतले पोतिएको तथा बारुदको धुवाँ र तत्कालीन सैनिक प्रहरीको गर्जनले सर्वसाधारण आतंकित बनेको घटना सम्झाउन बाहेक अन्य केही काम नभएको सहिद पुत्र सोमबिरले बताए। तत्कालिन प्रहरीले दिनहुँजसो सर्वसाधारणको ज्यान लिन थालेपछि स्थानीयले ओढार र भीरपहरामा रुख–बुट्यानको सहारा लिएर ज्यान जोगाउन खोजेपनि १६ जना सर्वसाधारणले ज्यान आहुति दिन बाध्य भएका थिए। ओढारमा लुकेर बसेकाहरूलाई आगो लगाएर चरम यातना दिइएको घटना स्थानीयको मानसपटलमा ताजै छ। खासगरी तत्कालीन शासकको विपक्षमा वर्षौदेखि आवाज उठाइरहेका स्थानीयलाई ‘फरक विचार’ राखेको भन्दै कुरतापूर्वक हत्या गरिएको थियो। हुन त त्यसबखत पञ्चायत व्यवस्था विरोधी भूमिगत आन्दोलन सर्वत्र भुसको आगोझैं फैलिरहेको थियो। तर, खाल्सा क्षेत्र अर्थात खोकु, छिन्ताङ र आँखिसल्लालाई दबाएर देशभरको भूमिगत आन्दालन दबाउने चालमा तत्कालीन शासकले रणनीतिक योजना अघि सारेको पनि कतिपयले बताउने गरेका छन्।

उक्त घटनामा ज्यान गुमाएकाहरूका अधिकांश विधवा, टुहुरा र असहाय सन्तान अझै जीवितै छन। तर उनीहरुको जीवन भोगाइ उस्तै भने घाउमा खाटा बस्नसकेको छैन। पीडित परिवारले दुःखको सास्तीबाट मुक्त हुनसकेका छैनन। खासगरी उनीहरूको चित्त दुखाइ बहुदलीय र त्यसपछिको गणतान्त्रिक नेपालका सरकारसमक्ष रहेको छ। घटनाको पृष्ठभूमि हेर्दा वामपन्थी विचारधाराको नेतृत्व गर्नेहरू तत्कालिन पञ्चायति शासकका आँखी भएका थिए। तर त्यतिमा सीमित भएन, सर्वसाधारणलाई आतंकित पार्नकै लागि बलात्कारदेखि लुटपाटसम्मका घटना भएका थिए। गर्भवती अवस्थामा बन्दुक कुन्दाको यातनाको सिकार भएकी श्रीमाया राई (हांखिमा साइँली) को विभत्स यातनापछिको मृत्युवरण इतिहासमा साक्षी बनेको छ। उनीमाथि यातना दिइएको केही दिनमा नै २०३६ कात्तिक २९ गते सुत्केरी अवस्थामा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको थियो।

स्थानीय सर्वसाधारण रामकुमारी राईको पनि उस्तै दर्दनाक कथा छ। उनी २०३६ कात्तिक २९ मा तत्कालीन शासकबाट खटाइएका समूहबाट सामुहिक बलात्कारपछि मृत्यु भएको थियो। यस्तै १४ वर्षीय किशोर स्थानीय केशरमान राईलाई पनि कात्तिक २८ मा प्रहरीले गोलीको निसाना बनाएको थियो। उनी स्थानीय टप्पुदेवी निमाविमा ७ कक्षामा अध्ययरत थिए। सामान्य कृषक रहेका धनवीर दमाईलाई पनि सोही कात्तिक २७ गते हत्या गरियो। सहिद गोपाल आनन्द राईलाई पूर्वाञ्चलका तत्कालीन प्रहरी प्रमुख डीबी लामा नेतृत्वको प्रहरी टोलीले २०३६ कात्तिक २७ गते झिसमिसेमै गिरफ्तार गरी त्रिवेणीस्थित अरुण नदी किनारमा पुर्‍याएर गोली हानी हत्या गरेको थियो। धनवीर दर्जी, टंकबहादुर विश्वकर्मा, गम्भीरमान दर्जी, लाखमान साधु राई, रणध्वज पुमा राई, गंगाबहादुर तुप्रीहाङ राई र चन्द्रबहादुर दर्जीलाई छिन्ताङको पाताल र पुमाटोल क्षेत्रमा पुर्‍याएर गोली हानी एकैठाउँमा मारिएको थियो। मारिनेमध्ये अधिकांश सर्वसाधारण थिए भने केही तत्कालीन शासकको विरुद्धमा भूमिगत शैलीमा संगठन विस्तार गर्दै रहेकाहरु थिए।

पूर्वाञ्चलका तत्कालीन प्रहरी प्रमुख लामा लामाले अपरेसनको नेतृत्व गरेका थिए। नेपाली सेनाका तत्कालीन ब्रिगेडियर शत्रुधनप्रसाद सिंन्हा, प्रमुख जिल्ला अधिकारी वीरबहादुर भुजेल, डीएसपी श्याम शर्मा चापागाईं सहित उक्त अपरेसनमा खटिएका थिए। हत्याकाण्ड चलेका बेला धनकुटाकै सूर्यबहादुर थापा प्रधानमन्त्री थिए।

पछिल्लो सयम छिन्ताङ हत्याकाण्डको नाममा प्रत्येकजसो निर्वाचनमा भोट बैंकको रुपमा राजनीतिक दलहरुले तँछाड–मछाड गर्दै आएका छन। खासगरी वामपन्थी दलले छिन्ताङ हत्याकाण्डका सहिद परिवार र आफन्तको मतका लागि प्रतिस्पर्धा गर्दै आएका छन्। घटना भएको ३८ वर्षपछि २०७४ साल पुसमा शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले सबै १६ जनालाई राष्ट्रिय सहिद घोषणा गरेको थियो। सहिद घोषणा भएपनि सहिद परिवारले राहतको व्यवस्था, पीडित परिवारलाई रोजगार, प्राविधिक तथा व्यावसायिक रोजगारी, परिचयपत्र, नयाँ संविधानमा उचित सम्बोधन गरिनुपर्ने लगायत माग राखेपनि कुनै पनि सम्बोधन नभएको सहिद लाखमान साधु राईका नाति विष्ण राईले बताए।

निरंकुश पञ्चायतका विरुद्धको आन्दोलनमा होमिएका योद्धाहरूलाई अहिले राज्य गणतान्त्रिक भइसक्दा पनि पटकपटक बनेको बामपन्थी सरकारले सम्मान गर्न सकेको छैन। सहिद घोषणा भएपछि सहिदका परिवारले क्षतिपूर्तिवापत पाउने १० लाख रुपैयाँ रकम अहिलेसम्म पाएका छैनन। सहिद परिवार वर्ष दिनमा एक पटक दोसल्लाको भागीदार बाहेक केही बन्न सकेका छैनन्। दोसल्लाबाहेक उनीहरूको मनभित्र पीडा कहिल्यै शान्त हुन सकेको छैन। तर, राजनीतिक दलहरू सहिद दिवसलाई पनि राजनीतिक एजेन्डा बनाएर छिन्ताङका सहिदको आत्मालाई पिरोलिरहेका छन्।

विगतमा माले–एमाले विभाजनका बेला छुट्टै कार्यक्रम भए, माले–एमाले एकीकरणपछि एमाले र माओवादीबीच छुट्टाछुट्टै सहिद दिवस मनाउँदै आएका छन्। सहिद गोपाल आनन्दका छोरा डिकबहादुर राईले पञ्चकन्या डाँडामा बर्सेनि मान्छे भेला पारेर सहिदका बारेमा भाषण गरेर सहिद परिवारलाई माला लगाइ दिएर आदर्शका भने राम्रो गर्छन तर, आफैले प्रतिवद्धता गरेको क्षतिपूर्ति दिन चासो नदेखाएको गुनासो गरे। तत्कालिन छिन्ताङ गाविसको केन्द्र ‘पञ्चकन्या’मा सहिद स्मृति पार्क निर्माण गरिएको छ। सोही पार्कमा हरेक वर्ष कात्तिक २२ देखि २९ गते सम्म सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिन्छ। सहिद दिवस मनाउन यसअघि पटक–पटक प्रधानमन्त्री भइसकेका माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओलीलगायत उपप्रधानमन्त्री बनेका ईश्वर पोख्रेल लगायतका कम्युनिष्टका शिर्ष नेता छिन्ताङ पुगिसकेका छन्। उनीहरूले सहिद परिवारलाई राहत मात्र होइन, शैक्षिक योग्यताअनुसारको रोजगारी सहित सहिद परिवारका सन्ततिको पढाइको निःशुल्क गर्न व्यवस्था गर्ने कुरा प्रतिबद्धता पटक–पटक गरेका थिए। तर, राष्ट्रिय सहिद घोषणा गर्दा दश लाख तत्कालै उपलब्ध गराउने तथा बालबच्चा पढाइदिने र योग्यता अनुसारको रोजगारी दिन आश्वासन अहिलेसम्म पूरा भएको छैन। तर नेताको आश्वासनअनुसार काम नभएपछि डेलिगेसन, आग्रह र अनुरोध गर्दागर्दा सहिद परिवार आजित बनिसकेका छन्। राज्यले गरेको प्रतिवद्धता सहिद परिवारले पटकपटक सम्झाउने गरेपनि राज्यले बिर्सन चाहेको सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष रुपलाल राईले बताए। राज्यले भिख मागेको जस्तो सम्झने गरेको राईले बताए। यस्तै प्रदेश सरकार गठन भएपछि बसेको पहिलो बैठकले सहिदभूमि गाउँपालिकामा सहिद नमुना बस्ती बनाउने भनेर गरेको निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन।

संघीय सरकारले घोषणा गरेको रकम नपाए पनि कोशी प्रदेश सरकारले भने २०७६ फागुनमा ५ लाख रुपैयाँको दरले राहत दिएको थियो। सहिदका सबै १६ परिवारलाई प्रदेश सरकारका तर्फबाट राहत रकम उपलब्ध गराएइको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो । सहिदभूमि गाउँपालिकाले सङ्घीय सरकारले घोषणा गरेको राहत रकम दिलाउन प्रयास गरेपनि उपलब्धी हुन सकेको छैन । राज्यले घोषणा गरेको रकम ४६ वर्ष बित्दा समेत नपाउँदा शहीद परिवार न्याय पाइने वा नपाइने विखलबन्दमा छन् ।

ईश्वर थापा, धनकुटा

अन्य

भिडियो