२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल खङ्ग खत्वेविरुद्ध जिल्ला प्रहरी कार्यालयले असार २८ गते उजुरी दर्ता गरेको छ ।
आरोपितले फागुन १८ गते मारिदिने त्रास देखाई बलात्कार गरेको भन्दै इन्सेक प्रतिनिधिसहित जिल्ला प्रहरी कार्यालय जानु भएकी पीडितले असार २६ गते उजुरी दिनु भयो ।
प्रहरीले उजुरी दर्ता नगरी छलफल गर्नुपर्ने बताएपछि असार २६ गते बिहान विक्षिप्त अवस्थामा इन्सेक सप्तरी कार्यालय आउनु भएकी पीडितलाई इन्सेक कार्यालयमा मनोविमर्शकर्ता रञ्जना चौधरीबाट मनोविमर्श गर्ने काम सम्पन्न भयो ।
मनोविमर्शपछि इन्सेक प्रतिनिधिको आग्रहमा कानुन व्यवसायी मीना देवले निःशुल्क उजुरी लेखि दिनु भयो ।
उच्च शिक्षा अध्ययन गर्ने क्रममा गाउँबाट राजविराज नपा–७ स्थित घरमा डेरा लिई बसेको कोठामा कोही नभएको मौका पारी आएका आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो ।
कतै उजुरी गरेमा बुवा–आमासमेतलाई मारिदिने धम्की दिँदै आएकोले उजुरी गर्न नसकेकोमा अधिकारकर्मीलाई जानकारी गराउँदा उहाँहरूले साहस जगाइदिएपछि उजुरी गरेको पीडितले बताउनु भयो ।
पीडितको गजेन्द्र नारायणसिंह अस्पताल, राजविराजमा असार २६ गते स्वास्थ्य परीक्षण भएको छ । आरोपित घरबाट फरार रहेकोले हालसम्म गिरफ्तार हुन नसकेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बाबुराम कार्कीले बताउनु भयो ।