विचार मञ्चहरू

०७३ चैत ७ गते

अमृत बास्कुने

बेनी आक्रमणका तेह्र वर्ष: फेरियो शासन व्यवस्था, पीडा जस्ताको तस्तै

चैत ७ गते नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको १३ वर्षपूरा भएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन माओवादीले गरेका नौ ओटा जिल्ला सदरमुकाम आक्रमणमध्ये सैन्यवल र व्यापकताको दृष्टिले सबैभन्दा ठूलो मानिएको बेनी आक्रमण एक हो । त्यस रात जाग्राम बसेका अनि मृत्युसँग पैँठेजोरी गरेर बाँचेकाहरूले के सोचे होलान् ?

माओवादी आक्रमण बेनी बासीका लागि बिर्सनै नसक्ने त्रासदीपूर्ण विगत हो । चिनियाँ राज्य क्रान्तिका नायक माओत्सेतुङको ‘राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ’ भन्ने दर्शनबाट प्रभावित भई सुरु भएको सशस्त्र विद्रोह बन्दुकको ‘ब्याटल’मा मात्र होइन चुनावको ‘ब्यालेट’सम्म असफल रह्यो । बेनी आक्रमणमा ‘ध्वस्त’ पारिएका भौतिक संरचनाहरू र चीरहरण गरिएका मानव आत्माझैँ माओवादीको विचार, सङ्गठन र कार्याकर्ताको मानोवल ‘ध्वस्त’ भएको छ ।

म्याग्दी जिल्लामा माओवादीले विद्रोहको शुरुआत ०५२ फागुन १ गतेदेखि पुलाचौर-८ भिरमुनीका भीमबहादुर बानियाँको परालको टौवामा आगो र घतान-६ गलेश्वरका रुद्रबहादुर केसीको खुर्सानी र काउली फाँडेर जिल्लामा माओवादीको सशस्त्र विद्रोहको शुरु भएको दावी गर्छन् । त्यसपछि माओवादी कार्यकर्ता देवराज सुवेदी एक थान खुकुरीसहित ०५३ जेठ ५ गते र गोविन्द पौडेल ०५२ साउन १४ गते गिरफ्तार भए । उनीहरू पुनरावेदन अदालत बाग्लुङको आदेशबाट रिहा भए । सार्वजनिक अपराधमा जेल परेका अर्का माओवादी कार्यकर्ता मीनबहादुर बानियाँलाई पनि पुनरावेदन अदालतको आदेशमा रिहा भए । म्याग्दीमा ०५३/०५४ सालसम्म माओवादीको गतिविधि न्यून र सङ्गठन सिथिल थियो ।

माओवादीले २०५५ फागुन १ गते जनयुद्धको चौथो वर्षगाँठ मनाउन सदरमुकामस्थित विद्युत प्राधिकरण र कृषि विकास बैङ्कमा पहिलो पटक विष्फोट गरियो । र, २०५५ साउन १३ गते सदरमुकाम बेनीमा रहेको रूची चलचित्र मन्दिर, बेनीमा विष्फोट गराई व्यक्तिगत सम्पत्तिमाथि आक्रमण र २०५५ मङ्सिर २६ गते बरञ्जा गाविस-२ का भीमबहादुर खड्कालाई सुराकीको आरोपमा दुवै गोडाका कुरकुच्चाको नशा काटेपछि व्यक्ति आक्रमणको शुरुआत भयो । प्रहरी/प्रशासनले २०५५ साउन ९ गते सिङ्गा, बरञ्जा र बाबियाचौरका गरी १० जनालाई माओवादीको आरोपमा गिरफ्तार गरी प्रतिकार सुरु गरेको थियो ।

२०५६ सालमा सम्पन्न माओवादीको चौथो विस्तारित बैठकले ‘आधार इलाका निर्माणको महान बाटोमा अघि बढौँ’ भन्ने नारासहित रणनीतिक प्रतिरक्षाको चरण सुरु गर्ने घोषणा गर्‍यो । सिङ्गा गाविस-५ तातोपानीमा २०५६ असोज ७ गते माओवादीले बमसहित टाँगेको तुल (जहाँ एम्बुस थियो) झिक्न लाग्दा प्रहरी जवान ओमप्रकाश कुँवरको मृत्यु भयो । यो माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वपछिको जिल्लाको पहिलो हत्या थियो भने २०५७ असार १ गते बाबियाचौरमा रहेको अस्थायी प्रहरी चौकीमा आक्रमण गरी भौतिक संरचना क्षतिको सुरुआत गरे । आक्रमणमा माओवादीले तीन थान थ्री नट थ्री राइफल कब्जा गरे । माओवादीले जिल्लामा पहिलो पटक ०५६ माघ २८ गते सदरमुकाम बेनीबाट नेपाल शिक्षक सङ्घका अध्यक्ष (काङ्ग्रेसका जिल्ला सदस्य) हरिकुमार श्रेष्ठलाई अपहरण तथा सिङ्गा गाविस-५ तातोपानी घर भई महेन्द्ररत्न मावि बरञ्जामा कार्यरत नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य शिक्षक मणिलाल शर्माको २०५९ कार्तिक १ गते गरिएको निर्मम हत्या फरक आस्था बोक्ने शिक्षकहरूलाई तर्साउन उपयोग गरे । शर्माको हत्यापछि गाउँमा रहेका एमाले/काङ्ग्रेस कार्यकर्ता जाडोमा सर्प माटो मुनी लुके झैँ चुपचाप बसे । माओवादीको दोस्रो सुरक्षा घेराभित्र पर्ने पश्चिम म्याग्दीको दरवाङ् बजारलाई सशस्त्र विद्रोह कालमा माओवादीको सदरमुकाम मानिन्थ्यो ।

२०५८ चैत १४ गते शिख गाविसमा एक किशोरीसमेत पाँच जना माओवादी समर्थित विद्यार्थी कार्यकर्ताको सामूहिक हत्या भयो । उनै किशोरीका दाजु पुनम खड्का अहिले प्रधानमन्त्रीको कार्यालयमा छन् । सशस्त्र विद्रोह अवधिमा राज्यबाट झण्डै ९० जना भन्दा बढी माओवादी समर्थक/कार्यकर्ताको हत्या भयो । माओवादीले तीन जना सुरक्षाकर्मीसमेत आफ्नो प्रभाव विस्तार गर्न सिङ्गा तातोपानीका शिक्षक नेता मणिलाल शर्मा, दरवाङ्मा नेपाली काङ्ग्रेसका नेता शेरबहादुर शेरचन, सङ्गठन निर्माणमा बाधक भन्दै दोवाका एमाले कार्यकर्ता तुलप्रसाद पुर्जा र ज्यामरुककोटका काङ्ग्रेस कार्यकर्ता भीमबहादुर घिमिरेको हत्या गरे ।

बेनी आक्रमणः

नेकपा माओवादीका कार्यकर्ताले २०६० चैत ७ गते शनिबार राति सदरमुकाम बेनीमा भीषण आक्रमण गरे । पश्चिम डिभिजनको कमाण्डमा भएको बेनी आक्रमण ‘जनयुद्ध’को आठ वर्षको अनुभवमा माओवादीले जिल्ला सदरमुकाममा गरेका नौ ओटा आक्रमणमध्ये सैन्य वल र आक्रमणको व्यापकताको दृष्टिले सबैभन्दा ठूलो र लगातार १२ घण्टाभन्दा बढी समय लडेर मध्ये दिनसम्म कब्जा गरेको पहिलो थियो । बेनी आक्रमणमा माओवादीका विशेष क्षेत्रको पहिलो (मङ्गलसेन), भेरी-कर्णाली क्षेत्रको दोस्रो (सतवरिया), सेती-महाकाली क्षेत्रको तेस्रो (लिस्ने-ग्राम) र गण्डक क्षेत्रको (बासु स्मृति) चौथो ब्रिगेड अन्तर्गतका ६ बटालियनका करिव ५ हजार माओवादी लडाकु सहभागी रहेको तत्कालीन माओवादीले दावी गरेको थियो । माओवादीले प्रयोग गरेका ‘मानव ढाल र अन्य भरिया’ गरी १० हजारको हाराहारीमा म्याग्दी आक्रमणका लागि आएको तत्कालीन माओवादीको दावी थियो ।

बेनी आक्रमणमा आउनु पूर्व माओवादी सेना रोल्पा जिल्लाको उत्तरपूर्वी थवाङमा जम्मा भई रुकुम जिल्लाको लुकुम हुँदै घुमाउरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै पश्चिम म्याग्दीको ताकम आएको थियो । यसरी थवाङबाट घुमाउरो बाटो छिचोल्दै १७ दिन लामो पैदल यात्रापछि ०६० चैत ७ गते राति १० बजे जिल्ला कारागार, प्रहरी र सैनिक व्यारेकमाथी गोली बर्सँदा सैनिक कमाण्डरहरू आफ्नै संसारमा मस्त थिए । सुत्ने तर्खरमा रहेका सुरक्षाकर्मीलाई पूर्व तयारी बिना एक्कासि भीडन्तमा उत्रनु पर्ने बाध्यता थियो ।

रक्षा मन्त्रालयको विज्ञप्तिमा ५ सय माओवादी मारिएको र माओवादीहरूले १ सय २५ जना ‘शाही सेना’ र २६ जना प्रहरी मारिएको दावी गरे पनि बेनी आक्रमणमा तत्काल पुष्टि भएको भने १७ जना प्रहरी र १४ सैनिक र कम्तीमा ९० जना माओवादी मारिएका थिए । भिडन्तमा दुवै तर्फगरी सयौँको सङ्ख्यामा घाइते भए । घाइतेहरू मध्येबाट दुवैतर्फके कति मृत्यु भयो, यकिन तथ्याङ्क कहीँ कतै पाईँदैन । बेनी आक्रमणका क्रममा दुई जना बालबालिकासहित १९ जना सर्वसाधारण मारिए ।

बेनी आक्रमणका क्रममा माओवादीले प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली, डिएसपी रणबहादुर गौतमसहित ४० जना कब्जामा परेका ‘युद्धबन्दी’लाई माओवादी पश्चिम डिभिजन कमिसार नेत्र विक्रम चन्द ‘विप्लव’ र कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ (हालः उपराष्ट्रपति)ले वक्तव्यमार्फत मातृका यादव, शुरेश आले र किरण शर्मालाई मुक्त गर्न सौदा गरे ।

सशस्त्र विद्रोहकालमा टेलिफोन रिपिटर टावर, गाविस भवनहरू, कृषि, भेटेनरी, कृषि विकास बैङ्कलगायतका दर्जनौँ कार्यालय विष्फोट/जलाएर नष्ट पारिए । सदरमुकाम आक्रमणका क्रममा मात्र जिल्ला अदालत, जिल्ला प्रशासन, जिविस, प्रहरी, वन, कारागार, टेलिकमको एक्सचेन्ज स्टेसन, पुस्तकालय, मालपोत, नेपाल बैङ्क, अर्थुङ्गे गाविस कार्यालयलगायत दर्जनौँ सरकारी कार्यालय नष्ट पारिए ।

बेनी आक्रमणमा राज्य र माओवादी दुवैले आ-आफूले जितेको दावी गरेपनि खासमा यो दुवै पक्षले हारेको ज्वलन्त उदाहरण हो । खासमा माओवादीले गरेको बेनी आक्रमणबाट सर्वसाधारणले हारे । आक्रमणमा ध्वस्त भएका सरकारी भवनहरू त पुनःनिर्माण गरिए तर सर्वसाधारणको मनमा लागेको घाउ अझै बाँकी छन् । माओवादीले सबै सरकारी कागज नष्ट गरिदिएकोले आज पर्यान्त सर्वसाधारणले सरकारी कार्यालयमा कागजातको झञ्झट ब्यहोर्नु परिरहेको छ । सदरमुकामको स्वरुप फेरियो झल्को पुरानै दिन्छ ।

भौतिक क्षतिः अरबौँको भौतिक सम्पतिको क्षति भएको छ । द्वन्द्वको क्रममा भएको क्षतिको परिपूरण गर्न समाजमा पुनःनिर्माण तथा पुनर्मिलनको अनिवार्य आवश्यकता छ । सशस्त्र द्वन्द्वको समयमा जिल्लाका सरकारी तथा व्यक्तिगत सम्पतिमा आगो लगाउँदा कम्तीमा डेढ अर्व मुल्य बराबरको भौतिक सम्पति नष्ट भयो । जिल्ला पुनःनिर्माण तथा पुनःस्थापना समितिका अनुसार माओवादीले गरेको बहुचर्चित बेनी आक्रमणमा ध्वस्त भएका अदालत, प्रशासन, प्रहरी र जिविसको मात्र पुनःनिर्माण गर्न कुल ३ करोड ४१ लाख १७ हजार ४७ रुपियाँ लागेको छ ।

समितिले दिएको विवरण अनुसार जिल्ला अदालत पुनःनिर्माण गर्न ७७ लाख ४५ हजार २ सय ३१ रुपियाँ, प्रशासन भवन निर्माण गर्न ७८ लाख ४९ हजार ३ सय ६१, जिल्ला प्रहरी कार्यालय ८२ लाख ८० हजार ६ सय १५ रुपियाँ र जिविसको भवन पुनःनिर्माणमा ९२ लाख १९ हजार २ सय ९४ रुपियाँ खर्च भएको जनाइएको छ ।

पश्चिमबाट पूर्व बग्ने म्याग्दी नदीको उत्तरपट्टकिो किनारामा पुनःनिर्मित जिल्ला विकास समिति जिल्ला प्रशासन, सरकारी वकिल कार्यालय, अदालत, दुरसञ्चार कार्यालयसमेतका सेता भव्य सरकारी बङ्गलाहरू लस्करै छन् । र, ती सबै सरकारी भवनका छतमा भ्यू टावर छन् । जसले कार्यालयबाट सदरमुकामको दृश्यावलोकन गर्ने होइन, सैन्य बङ्करको झल्को दिएका छन् । माओवादी आक्रमणपछि पुनःनिर्मित सदरमुकामका यी टावरहरू युद्धस्तम्भ झैँ देखिन्छ ।

‘सर्वसाधारणको भोगाइमा त्यो चैत ७ गते’

कृष्णलाल श्रेष्ठ, घाइते

सो राति जिल्ला अदालतमा पालोपहरा जिम्मा थियो, कृष्णलाल श्रेष्ठको । रातभर पाले कोठाको बेञ्चमुनी लुकेर बसेका श्रेष्ठ बिहान माओवादीले अदालत भवनमै आगो लगाएपछि दुवै हातमाथि ठड्याउँदै के बाहिर गेटमा निक्लेका थिए गोडामा गोली लाग्यो ।  शरीरको अन्य तीन ठाउँमा पनि गोली लाग्यो । उनी त्यहीँ ढले । उनलाई सेनाले हेलिकोप्टरमा हालेर काठमाडौँ छाउनीस्थित सैनिक अस्पताल लग्यो र गोडाको उपचार गरायो । तर, देब्रे गोडा गुम्यो ।

‘रातभर शौचालयभित्र लुकेर बित्यो । माओवादीले अदालतमा आक्रमण नगर्लान् भन्ने थियो । त्यसो भएन बिहान उज्यालो भइसकेपछि आगो लगाए । भवनमा आगो दन्किएपछि ज्यान जोगाउन हात उठाउँदै बाहिर निस्किएँ । एक्कासि गोली लाग्यो । म ढलेँ ।’-माओवादी आक्रमणका पीडित कृष्णलाल श्रेष्ठले भने ।

पदम भण्डारी

जिल्ला विकास समितिका अधिकृत पदम भण्डारी त्यो रात परिवारसहित जिल्ला प्रहरी कार्यालयसँगै जोडिएको जिविसको कर्मचारी आवास भवनमा थिए । आवास क्षेत्रको पुरानो भवनमा तत्कालीन राजाबाट मनोनित जिल्ला सभापति चक्रपाणि आचार्यसहित केही कर्मचारी र पछिल्लो नयाँ भवनमा जिविसका अधिकृत तहका कर्मचारीहरू परिवारसहित २० जना बस्थे । तीन जना नाबालक थिए ।

राति माओवादीले सदरमुकाम आक्रमण गरेको निश्चित भएपछि राजाका मनोनित सभापति आचार्यसहित पुरानो भवनमा बस्ने सबै कर्मचारीहरू भण्डारी बस्ने नयाँ आरसीसी भवनको भित्री कोठामा जम्मा भए । भिडन्त सुरु भएको एक घण्टा नबित्दै माओवादीहरू भवन कब्जा गर्न छिरे । सोधखोज गरे । सेना प्रहरी हो/होइन यकिन गरेपछि सबैलाई त्यही कोठामा राखे र त्यहीँबाट जिल्ला प्रहरी कार्यालयमा आक्रमण गरिरहे । कर्मचारी आवास भएकोले हुनसक्छ, माओवादीले त्यहीँबाट आक्रमण गरेको चाल पाएर पनि प्रहरीले भने त्यहाँ प्रत्याक्रमण गरेन ।

‘हामी मात्र बाँच्यौँ बाँकी बजार पूरै ध्वस्त भयो, सबै सकिए भन्ने लागेको थियो । बिहान मिर्मिरे हुँदा माओवादीले हामीलाई त्यहाँबाट निकाले र भवनमा आगो झोसे । हामीलाई हुलाक चोक छेउको भित्री गल्लीभित्रको एक घरमा लगे । बल्ल थाहा भो, हामीबाहेक बजारका सबै घर उस्तै रहेछन्’-भण्डारीले भने-‘सुरक्षा निकायमा भएका आफन्तले बेनी आक्रमणको सम्भावना छैन ढुक्क हुन भनेकोले बस्यौँ । पक्की भवनको भित्री कोठा भएकोले गोली लाग्ला भन्ने त थिएन तर माथिबाट बम खस्ला कि भन्ने चिन्ता भइरह्यो ।’

गुरिल्ला मार्गः

बहुचर्चित बेनी आक्रमणका क्रममा माओवादीले रोल्पाको उत्तरपूर्वी थवाङबाट रुकुम जिल्लाको लुकुम हुँदै घुमाउरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै म्याग्दी सदरमुकाम बेनी झरेको १७ दिने पैदमार्गलाई रक्तिम मार्ग अर्थात गुरिल्ला मार्ग प्रस्ताव गरिएको छ । बेनीबाट सुरु हुने यो पदमार्ग रोल्पा पुगेर टुङ्गिन्छ । माओवादी विद्रोह र विद्रोहीले प्रयोग गरेको बाटो अब संसारमा म्युजियममा थन्क्याएको बस्तु जस्तै, पर्यटकका लागि दृश्यावलोकन गर्ने, मनोञ्जन गर्ने माध्यम बन्न थालेको छ ।

विचार मञ्चहरू

सचेत नागरिक सङ्गठनको आवश्यकता

विभिन्न राजनीतिक सङ्क्रमण र चुनौतीको सामना गर्दै तीन वटै तह (स्थानीय तह, प्रदे....

विकासको भोक

हामी नेपालीमा आजभोलि विकासको भोक जागेको छ । भौतिक विकास र सामाजिक सुरक्षाको अव....

संक्रमणकालीन न्याय विधेयक

लामो समयपछि सरकारले संक्रमणकालीन न्यायको मामिलालाई व्यावहारिक रूपमा समाधान गर्....

संविधानको कार्यान्वयन र समृद्धितर्फको यात्रा

नेपालको संवैधानिक इतिहासमा सातौँ संविधान जारी २०७२ साल असोज ३ गते जारी भयो। यस....

लोकतन्त्रमा निर्वाचन र नयाँ सरकारका प्राथमिकताहरू

आवधिक निर्वाचनलाई लोकतन्त्रमा अपरिहार्य मानिन्छ । निर्वाचनको नियमित सुनिश्चितत....






Top