शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर काम  गरेका छौँ

सङ्घीय गणतन्त्रको शासकीय संरचनापछि मुलुकमा दुईपटक स्थानीय तहको निर्वाचन भयो । २०७४ सालमा तीन चरणमा र २०७९ सालमा एकै चरणमा मुलुकभरका ७ सय ५३ ओटा स्थानीय तहमा निर्वाचन भयो । निर्वाचित जनप्रतिनिधिले मानव अधिकारका क्षेत्रमा उदाहरणीय काम गर्दै पनि आएका छन् । तपाइँ नेतृत्वमा आइसकेपछि शिक्षा र स्वास्थ्यको क्षेत्रमा केकस्ता उदाहरणीय काम भएका छन् ? प्रस्तुत छः- रुपन्देही जिल्लाका केही स्थानीय तहका प्रमुखहरूसँग इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले तयार पार्नु भएको जनमत ।

रामकृष्ण खाँण

प्रमुख, तिलोत्तमा नगरपालिका

हामी निर्वाचित भएर आएको एक वर्ष पुग्यो । यो एक वर्षको समयमा शिक्षा क्षेत्रमा सामुदायिक र संस्थागत विद्यालयको शिक्षाको गुणस्तरलाई माथि उठाउने र भौतिक पूर्वाधारको विकास गर्न सकेमा मात्र शिक्षाको विकास हुन्छ भन्ने उद्देश्यले नगरपालिकामा रहेका ४२ ओटा सामुदायिक विद्यालयमा गरिब, दलित, मधेशी, थारु, विपन्न परिवारका बालबालिका पढ्ने भएकाले उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर सङ्घीय सरकारले दिएको १५ रुपियाँ खाजा खर्च बढाएर अहिले २५ रुपियाँ पुर्‍याइएको छ । जङ्क फुडलाई निषेध गरिएको छ । निर्वाचित हुने बित्तिकै सपथ ग्रहणमै पाँच वर्षसम्म कुनै पनि भत्ता, सेवा सुविधा नलिने र सेवा सुविधा बापत आएको खर्चलाई सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा अति विपन्न परिवारका १ सय ४७ जना बालबालिकालाई जनही ४ हजार रुपियाँका दरले छात्रावृत्ति वितरण गर्ने कार्य भएको छ ।

हामी आउनुभन्दा पहिला सामुदायिक विद्यालयमा झण्डै १६ हजार विद्यार्थीहरूको सङ्ख्या थियो । अहिले झण्डै २० हजार बालबालिकाहरूले सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आर्कषण बढ्नुको कारण दिवा खाजालाई व्यवस्थापन गर्नु मुख्य हो । शिक्षालाई गुणस्तरीय बनाउनका लागि शिक्षक पाहुना कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षकलाई पढाउनका लागि पाहुनाको रूपमा केही समय अर्को विद्यालयमा पठाउने र अनुभव आदानप्रदान गर्ने कार्यक्रम शिक्षक पाहुना कार्यक्रम हो । विद्याथीहरूलाई सामुदायिक विद्यालयप्रति आर्कषण गर्नका लागि बस र अटो रिक्साको व्यवस्था तथा डिजेलको व्यवस्था गरेका छौँ ।

स्वास्थ्यमा सुधारका लागि नगरपालिकामा १५ शैयाका दुई ओटा अस्पताल निर्माण गरिएको छ । हाम्रो नगरपालिका स्वास्थ्यको हिसाबले कमजोर भएकोले यसको सुधारका लागि १७ ओटा स्वास्थ्य चौकी र एउटा आयुर्वेद अस्पताललाई नागरिकमैत्री हिसाबले व्यवस्थापन गरी स्वास्थ्यकर्मीहरूको क्षमता विकासका लागि सिकाई कक्षा तथा तालिमहरू सञ्चालन गरिएको छ । स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्‍याउने उद्देश्यले ६ सय ५० रुपियाँमा अल्ट्रासाउण्ड सेवा र १ हजार ५ सय रुपियाँमा रगतको होलबडी जाँचको व्यवस्था गरेका छौँ । दृष्टि विहीनकालागि स्वास्थ्य सेवा र सुत्केरीका लागि वर्थिङ्ग सेन्टरको व्यवस्था गरी स्वास्थ्य संस्थामा सुत्केरी कार्यक्रमलाई प्राथमिकताका साथ जोड दिइएको छ । तिलोत्तमा नगरपालिकाका १ हजार नवजात शिशु जन्मँदा २९ जनाको मृत्यु र १ सय ५० जना जन्मँदा १२ जना कम तौल भएका बच्चा जन्मने गरेकोमा यसलाई शुन्यमा झार्ने खालका कार्यक्रम सञ्चालन गरेका छौँ । मानसिक समस्याको अवस्था जटिल भएकाले यसलाई सुधार गर्नका लागि परामर्श सेवा प्रदान गरेका छौँ ।

फणिन्द्र शर्मा,

प्रमुख, सैनामैना नगरपालिका

म निर्वाचित भएर आएपछि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु । सामुदायिक र संस्थागत विद्यालयमा एकरुपता थिएन त्यसलाई सँगै राखेर बैठकबाट एकरुपता ल्याउनका लागि निर्णय गरियो । सामुदायिक विद्यालयमा विद्यालय छाड्ने दर बढेको थियो । हामी आउनुभन्दा अघि विद्यालयमा १५ रुपैयाका दरले खाजा खुवाइन्थ्यो त्यसलाई विद्यार्थीहरूले घरबाटै खाजा ल्याउने र अभिभावकलाई पैसा दिने गरिएकोमा अहिले नगरपालिकाबाट पाँच 2023-Photos-Rupandehi-Phadendraरूपियाँ थपेर २० रूपियाँ बराबरको विद्यालयमै खाजा खुवाउने व्यवस्था गरिएको छ । विद्यालयमा जङ्क फुडलाई निषेध गरिएको छ । पहिला विद्यालयमा दुई सिफ्टमा कक्षाहरू सञ्चालन हुन्थे । अहिले दुबै कक्षालाई विहान १० बजेदेखि ४ बजेसम्म सञ्चालनमा ल्याइएको छ । जसले गर्दा विद्यार्थीहरू पूरा समय शिक्षण सिकाइमा खर्च गर्दछन् । विद्यालयहरूमा  डेक्स बेन्चहरूको व्यवस्थापन गरिएको छ । प्रविधिसँग जोडेर शिक्षण सिकाइमा ध्यान दिइएको छ । नगरपालिकाभित्र रहेका अति विपिन्न, दलित, अपाङ्गता भएका व्यक्तिहरू, महिला, जनजाति, मधेशी, मुस्लिम र अल्पसङ्ख्यकहरूका लागि जिल्लाभरका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । त्यस्तै सुत्केरीका लागि अस्पतालदेखि घरसम्म र घरदेखि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गरिएको छ । सुत्केरीका लागि पोषणयुक्त खाना व्यवस्थापनमा नेपाल सरकारले दिएको सेवा बाहेक १ हजार रुपियाँ थप गरी प्रोत्साहन स्वरुप वितरण गरेका छौँ ।

खेलराज पाण्डे

नगरप्रमुख, बुटवल उपमहानगरपालिका

म निर्वाचित भएर आएपछि बुटवल उपमहानगरपालिकामा दुई ओटा १६ शैयाका अस्पतालहरू अक्सिजन सहितको निर्माणको अन्तिम चरण छन् । यसमा १५ शैयासम्मको खर्च सङ्घीय सरकारमार्फत र दुई ओटा शैयाको लागि बुटवल उपमहानगरपालिकाको लगानी रहेको छ । त्यस्तै नगरले क्यान्सरको जोखिमलाई कम गर्नका लागि आम्दा अस्पतालसँग 2023-02-05 Khelraj Pandey Butwal Upnagaralika-Rupandehiसहकार्य गरेर पाठेघरको निःशुल्क स्क्यानिङ्ग सेवा सुरु गरेको छ । सरकारी अस्पतालमा जन्मेका बालबालिकाको पोषणलाई ध्यानमा राखेर २ हजार रुपियाँ प्रोत्साहन स्वरुप वितरण गरेको छ । नगरभित्र १२ ओटा सहरी स्वास्थ्य क्लिनिकहरू रहेका छन् । जसबाट निःशुल्करुपमा जाँच तथा औषधि वितरण भइरहेको छ ।

शिक्षाका लागि विटिआईमा अटोइन्जिनियर र आम्दा अस्पतालमा मेडिकल शिक्षा सुरू गरिएको छ । विएससी एजी अध्ययनका लागि सेमलारमा देशकै उत्कृष्ट शिक्षा अध्ययापन गराउन पहल भइरहेको छ । सरकारी र निजी क्याम्पसहरूसँग छलफल गरेर शिक्षामा रहेका कमीकमजोरीहरूलाई हटाएर कसरी गुणस्तरवृद्धि गर्न सकिन्छ भन्ने विषयमा काम भइरहेको छ ।

धुव्रप्रसाद खरेल

प्रमुख, देवदह नगरपालिकाका

निर्वाचित भएपछिको पहिलो निर्णय शिक्षा र स्वास्थ्यमा गुणस्तर ल्याउने गरी पूर्ण स्वास्थ्य बीमा नगरपालिका बनाउने निर्णय गरेर अगाडि बढेको हो । १० शैयाको नगर अस्पतालको व्यवस्थापन गरी चार जना प्राविधिक डाक्टरको व्यवस्था गरी सेवा प्रवाह गर्दै आइरहेका छौँ । स्वास्थ्य बीमा कार्यक्रममार्फत गरिब, अति विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेका छौँ । स्वास्थ्य बीमा गरेका व्यक्तिहरूका लागि सरकारले वितरण गर्ने ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था नगर अस्पतालबाट गर्दै आएका छौँ । नगरकै लगानीमा आधुनिक डिजाइन सहितको भवनको निर्माणका लागि ५० प्रतिशत कार्य भइसकेको छ । Dhurba Kheralआर्थिक अभावका कारण कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले पैसा तिर्न सक्नेले पाँच जनासम्मको परिवारका लागि ३ हजार ५ सय रुपियाँ तिरेर त्यो भन्दा बढी परिवारका सदस्य भए ७ सय रुपियाँ थपेर बीमा गराएका छौँ । पैसा तिर्न नसक्नेका लागि नगर सरकार छ भन्ने अनुभूति नागरिकलाई गराएर अगाडि बढेका छौँ ।

शिक्षा क्षेत्रमा तीन तहकै सरकारको प्राथमिकताको विषय भएपनि गुणस्तरयुक्त शिक्षा नभएको अवस्थामा शिक्षालाई कसरी गुणस्तर र गरिखाने बनाउन सकिन्छ भन्ने हिसाबले अगाडि बढेका छौँ । देवदह नगरपालिकामा बिहान र दिउँसो कक्षा सञ्चालन हुने गरेकामा म आइसकेपछि एउटै समयमा मात्र कक्षा सञ्चालन गरिएको छ ।

मञ्जितकुमार यादव

अध्यक्ष, ओसतिया गाउँपालिका

निर्वाचित भएर आएको एक वर्ष पुग्यो । अहिलेसम्म शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही उदाहरणीय कार्यहरू गरेका छौँ । सामुदायिक विद्यालयको शिक्षाको अवस्था असाध्यै कमजोर थियो । त्यसलाई सुधार गर्नको लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग बैठक बसेर शिक्षामा कसरी गुणस्तर ल्याउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरी केही निर्देशनहरू दिएर अगाडि बढेका छौँ । प्रत्येक शिक्षकले अनिवार्य रुपमा सेसन प्लान बनाएर अध्यापन गर्नुपर्ने, शिक्षक आउने र जाने समयमा इलेक्ट्रोनिक हाजिर गर्नुपर्ने, विद्यार्थीहरूलाई बालमैत्री शिक्षण सिकाइका लागि प्रोत्साहित गर्नुपर्ने, शिक्षण सिकाइ सामग्रीहरूको व्यवस्थापन गरी प्रयोगात्मक अभ्यासमा जोड दिनुपर्ने लगायतका नियम लागु गरिएको छ । सो भए नभएको हेर्नका लागि मोवाइल अनुगमन गरेर अगाडि बढेका छौँ । दरबन्दी अनुसार शिक्षकहरू नभएको विद्यालयमा शिक्षकको दरवन्दीका लागि पहल गरेका छौ । शिक्षकहरूलाई विभिन्न समयमा शिक्षण सिकाई प्रभावकारी बनाउन अनुभव आदानप्रदान र तालिम 2023-02-03 Manjit Kumar Yadav Omsatiya Rupandehiप्रदान गर्दै आएका छौँ ।

स्वास्थ्यको क्षेत्रमा पनि केही प्रयासहरू भएका छन् । सर्ने र नसर्ने रोगका विषयमा विभिन्न सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ । स्वास्थ्य तथा सरसफाईलाई केन्द्रित गरेर घरदैलो कार्यक्रमहरू गर्नका लागि महिला स्वास्थ्य स्वयम्सेविकाहरूको परिचालन गरिएको छ । सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा र पोषण झोलाको व्यवस्था गरिएको छ । रगतको कमी भएका बिरामीहरूलाई नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर निःशुल्क रुपमा रगत उपलब्ध गराइएको छ । गाउँपालिकास्तरको १५ शैयाको अस्पतालका लागि जग्गा कम भएका कारण जग्गा खरिदको प्रक्रियामा गएको छ । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा कसरी लगानी बढाउन सकिन्छ र सबै नागरिकले अनुभूति गर्ने खालको शिक्षा र स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सकिन्छ भन्ने विषयमा लागेका छौँ ।