बेपत्ता पार्ने र हत्या गर्नेहरूलाई कारबाही होस्

बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको दिवस ०८१ भदौ १४ गते अर्थात सन् २०१४ अगष्ट ३० तारिखमा विश्वभर मनाइयो । नेपालमा पनि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतले सेचतनामूलक कार्यक्रम गरेर दिवस मनाए । नेपालमा दश वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही पक्षबाट बलपूर्वक नागरिक बेपत्ता पारेको भन्दै बेपत्ता पारिएका नागरिक खोजबिन आयोगमा ३ हजारभन्दा बढी उजुरी समेत दर्ता भएका छन् । दाङमा ६९ जना नागरिक बेपत्ता पारिएको इन्सेको अभिलेख छ । सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन २०७९ तेस्रो संशोधन ऐन ल्याएर काम अघि बढाएको छ । तर घरमुली बेपत्ता भएपछि परिवारमा पीडामात्रै छैन, विभिन्न पारिवारिक समस्या पनि आउन थालेका छन् । यसैसन्दर्भमा इन्सेक दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनले दाङका बेपत्ता नागरिकहरूका परिवारसँग लिएको जनमत यहाँ प्रस्तुत गरिएको छ ।

चुमा आचार्य

द्वन्द्वपीडित, उपमहानगरपालिका, दाङ

घरबाट स्कुल पढाउन हिँड्नु भएका थानेश्वर आचार्य २०५९ साउन ३० गतेदेखि बेपत्ता हुनुभयो । आज २२ वर्ष भयो पति थानेश्वर घर फर्किनु भएको छैन । पाँच वर्षको छोरा अहिले २७ वर्ष पुगिसके । आमा छोरा उहाँ (थानेश्वर) आउने आशामा पर्खि बसेका छौँ । जेनतेन गुजारा चलेको छ । तर मनमा चयन छैन । सरकारले यति लामो समयसम्म पनि खोजबिन गर्न सकेन । राज्यले नै खोज्न नसक्ने हो भने हामी सामान्य गाउँघरमा बस्ने मान्छेहरूले बेपत्ताको खोजी कसरी गर्ने < फर्केर आउनु हुन्छ जस्तो लागि रहन्छ । उहाँको अवस्था के छ होला < कुनै अत्तोपत्तो छैन । पति नहुँदा जीवन कसरी चलेको होला < घर कसरी चलाएको छु होला < समाजले गर्ने व्यवहार के भन्नु र < तर पनि एक दिन फर्किनुहुन्छ कि जस्तो लागिरहन्छ । पति बेपत्ता हुँदा पीडा त छँदैछ । अहिले त पारिवारिक समस्या पनि थपिन थालेको छ । परिवारमा अंशवण्डा गर्नुपर्ने काम रोकिएको छ । ससुराको नाममा रहेको जग्गा जमिन हामीले हाम्रो नाममा ल्याउन सकिरहेका छैनौँ । आफ्नो नाममा जग्गा जमिन नहुँदा कुनै पनि आर्थिक कारोबार गर्न सकिएको छैन । ससुराको नाममा रहेको जमिन अंशबापत पाउने वण्डा आफ्नो नाममा ल्याउन मालपोत कार्यालयमा जाँदा पति ल्याउन वा नभए मृत्यु दर्ता ल्याउन भन्दै टारिदिएको छ । बेपत्ता हुनु भएको पति मरेको घोषणा आफै गर्न सकिन्छ र < मलाई त अझै पनि आउनुहुन्छ जस्तो लागि रहन्छ । हातमा चुरा, सिउँदोमा सिन्दुर राखेर पतिको मृत्यु दर्ता म गर्न सक्दिन । मेरो मनले मान्दैन । बरु सम्पत्ति जग्गा त्यतिकै होस् भन्ने लागेको छ । मालपोतले अदालतबाट मृत्युको न्यायिक घोषणा गरेर आउनुस् भन्छ । मृत्यु घोषणा गर्न मेरो मनले मानिरहेको छैन । बरु जसो होला होला भन्ने लाग्छ । बेपत्ता पति आउने आशा मलाई छ । तर मृत्यु दर्ता नगर्दा सिङ्गो परिवार मेरा विरुद्ध आउने अवस्था छ । मेरै कारणले परिवार म विरुद्ध लाग्ने अवस्था छ । किनकी अरु दाजुभाइहरूको पनि अंशवण्डा रोकिएको छ । अहिलेसम्म अंशवण्डा हुन सकेको छैन । अंशवण्डा गरौँ बेपत्ता पति मरेको घोषणा गर्न सकिँदैन, मृत्यु घोषणा नगरौँ अंशवण्डा नपाएर सबै परिवार मेरा विरुद्ध लाग्ने अवस्था छ । त्यसैले राज्यले छिटो भन्दा छिटो बेपत्ताहरूको अवस्था सार्वजनिक गरिदिए हुन्थ्यो भन्ने लागेको छ । बेपत्ता हुँदाको पीडामाथि पारिवारिक समस्याले मजस्ता द्वन्द्वपीडित परिवार झन् समस्यामा परेका छौँ । जतिसक्यो चाँडो हाम्रो दुMखको सुनुवाई गरोस् भन्ने लागेको छ ।

मसुरी चौधरी

द्वन्द्वपीडित, दङ्गिशरण गाउँपालिका, दाङ

Mashuri Chaudhari 20810516 Dangमेरो पति हरिराम चौधरी २०५९ जेठ २९ गते घरबाट रासायनिक मल किन्न भनेर तुलसीपुर जानु भएको थियो । तर बजारबाटै प्रहरीले समातेर लग्यो भन्ने हल्ला सुनियो । हामी सामान्य किसान हौँ । खेती किसानी गरेर खाने परिवार हो हाम्रो । खेतीकै लागि मल किन्न बजार गएको मान्छेलाई सुरक्षाकर्मीहरूले लगेर बेपत्ता पारेका हुन् । घरमा दुई वर्षको छोरा थियो । गर्भमा तीन महिनाकी छोरी थिइन् । अहिले छोरीले विविएस पढिरहेकी छिन् । सुख, दुMख गरेर पढाइरहेको छु । पढाउन गाह्रो भइरहेको छ । छोराले पढ्न छोडिसके, अब छोरीलाई पनि धौ धौ भइरहेको छ । अर्काको घरमा मजदुरी गरेर खान लाउन ठिक्क छ । अब हामीजस्ता पीडितहरूले कसरी छोराछोरी पढाउने < सरकारले केही सोचिदिए हुन्थ्यो । जग्गा जमिन पनि प्रशस्त छैन । व्यापार व्यवसाय गर्ने आर्थिक समस्या छ । सीप रोजगार गर्न कसैले सहयोग गर्दैनन् । आफ्ना आफन्तलाई दिन्छन् । द्वन्द्वपीडितलाई कसले हेर्छ र < अर्काको घरमा काम गरेर ल्याएको पैसाले जीवन गुजारा गरेका छौँ । जीवन चलाउनै पर्‍यो । बेपत्ता पति मारिएको थाहा छैन । तर अंशवण्डाका लागि मृत्यु दर्ता गर्न बाध्य भए । मृत्यु दर्ता नगरी अंशवण्डा नहुने, थोरै धेरै जग्गा जमिन नहुँदा ऋण सापट पनि नहुने भएपछि बाध्य भएर पति मरिसकेको भन्दै मृत्यु दर्ता गराएर काम चलाएको छु । फर्किएर आउँछन् कि जस्तो त लागि रहन्छ । तर अहिलेसम्म फर्कि आएनन् । कम्तीमा कहाँ कसरी कसले लगेको हो भन्ने थाहा पाइदिए हुन्थ्यो । पतिमात्रै होइन मेरो त देवर रामबहादुर चौधरी पनि बेपत्ता हुनुहुन्छ । दुई दाजुभाइ रासायनिक मल लिन तुलसीपुर बजार गएका दुवै दाजुभाइ फर्किएर आएनन् । सरकारले उनीहरू कहाँ गए खोजी दिए हुन्थ्यो । मारिएकै भए पनि कहाँ मारिए भनिदिए हुन्थ्यो र दोषीलाई कारबाही भए हुन्थ्यो भन्ने लागेको छ ।

रामप्रसाद चौधरी

द्वन्द्वपीडित, उपमहानगरपालिका, दाङ

Ramprasad Chaudhari 20240516 Dangमेरा दुई छोरी मध्ये जेठी छोरी रामकली चौधरीलाई सुरक्षाकर्मीहरूले २०५८ वैशाख ३ गते बेपत्ता पारेका हुन् । बिरामी परेकी थिइन् । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार गर्न गएकी थिइन् । स्वास्थ्य जाँचका लागि बिरामी लाइन बसिरहेका बेला आएका सुरक्षाकर्मीहरूले मेरी बिरामी छोरीलाई लगेर बेपत्ता पारेका हुन् । कता लगेर के गरे केही थाहा भएन । आज २३ वर्ष भयो । छोरी रामकलीको कुनै अत्तोपत्तो लागेन । मारिएको भनौँ कहाँ कस्ले मारे त्यो थाहा छैन । फर्कि आउने पनि यति धेरै समय भइसक्यो । बुबा आमाको मन सन्तान मारिएको खबर सुन्न कसरी सकिएला र < फर्कि आउने आश लागिरहन्छ । छोरी बेपत्ता पारिदिएको एक वर्ष नपुग्दै जेठो छोरा अर्जुन चौधरीलाई पनि सुरक्षाकर्मीले मारिदिए । हुर्कीसकेका, कमाइ गरी खान देलान् भन्ने बेलामा सन्तान मारिएपछि संसार खसे जस्तो लागेको छ । तर के गर्नु जस्तो भए पनि सहनै पर्दोरहेछ । कान्छी छोरी सुशीला वकिल भएकी छिन् । कान्छो छोरा समिर हामीसँगै छन् । यिनैलाई हेरेर चित्त बुझाएका छौँ । छोरा र छोरी लैजाने सुरक्षाकर्मीहरू हुन् । राज्यले नै हामीलाई पीडित बनाएको छ । बेपत्ता पारिएकी छोरीको अवस्था र मारिएको छोरा के कारणले मारिएको भन्ने हामीलाई जानकारी हुनुपर्छ । साहारा खोसेर सरकारले हामीलाई पीडामा पारेको छ । न्याय दिने पनि सरकारले नै हो । न्याय दिनेभन्दा भन्दै वर्षौँ बितिसक्यो । अब त के होला र भन्ने लाग्न थालेको छ । मलाई अरु केही छैन । छोरी बेपत्ता पार्ने र छोराको हत्या गर्नेहरूलाई कारबाही होस् भन्ने हो ।

कृष्णा चौधरी

द्वन्द्वपीडित, उपमहानगरपालिका, दाङ

Krishna Chaudhari 20810516 Dangघोराही उपमहानगरपालिका–१७ का मेरो पति बीरजु चौधरी ०५८ चैत १९ गते घरायसी सामान खरिद गर्न भन्दै घोराही बजार जानु भएको थियो । तरकारी, यताउति विउविजन किन्न बजार गएको बेला घोराहीको आर्मी व्यारेकबाट आएका सेनाले दुरसञ्चार नजिकैबाट समातेर आर्मी व्यारेकमा लगेको बजारका मान्छेहरूले देखेका रहेछन् । बजार गएको मान्छे नआएपछि खोजबिन गर्दा सेनाले समातेर लगेको सुनेपछि हामी व्यारेकमै गएर सोध्यौँ । उनीहरूले तुलसीपुर आर्मी व्यारेकमा लगेको भनेपछि त्यहाँ गएर पनि सोधपुछ गर्दा थाहा नभएको बताए । आज २३ वर्ष भयो बजार जानु भएको मेरो पति घर पर्किनु भएको छैन । न कतै लास देखाए, न सास पाइएको छ । पर्खि पर्खि हामी थाकिसकेका छौँ । आर्थिक समस्या छ । पढाउन नसकिएपछि छोरा भारत कमाउन गएको छ । छोरीको विवाह गरिदिए । राम्रोसँग पढाउन लेखाउन सकिएन के गर्नु < म पनि जेठाजुको परिवारसँग बसेको छु । एक्लै के गर्नु, कहाँ जानु < जेठाजुकै परिवारसँगसँगै बसेर जीवन गुजारी रहेको छु । खेती गरेर खाने आफ्नो जमिन धेरै छैन । एक कट्ठा नपुगेको जमिनमा के खेती गर्नु < अरुको जग्गा जोगेर खान पुगेको छ । त्यही एक कट्ठा जमिन पनि बेपत्ता भएका पतिको मृत्यु दर्ता गरेर राहत लिएर किनेको हो । प्रशस्त जग्गा जमिन भइदिएको भए पनि खेती गरेर खाने हुन्थ्यो । सधै अर्काको जमिन जोतेर खानुपर्ने अवस्था छ । राज्यले हामीजस्ता पीडितहरूलाई छिटो सहयोग गरोस\ भन्ने हाम्रो माग छ । कमाउने मुली बेपत्ता पारिदिएपछि परिवार लथालिङ्ग जस्तो भएको छ । छोरा छोरीले पढ्न पाएनन् । केही नभए पनि छोरा छोरीलाई रोजगारीको व्यवस्था गरिदिए हुन्थ्यो । केही पैसा दिए जग्गा जमिन किनेर खेती गरेर खान पाइन्थ्यो । मेरो पतिलाई लैजानेलाई कारबाही होस\ भन्ने लागेको छ ।