जातीय समानताका लागि स्थानीय सरकार सचेतना अभियानमा !

नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय भनेको छ । दलित भएकै आधारमा विभेद गर्ने गेका घटना समाजमा अहिले पनि छन् । संविधान र कानुनी व्यवस्था अनुसार सबै नागरिकलाई समान व्यवहार गरनुपर्छ । जातका आधारमा कसैलाई पनि विभेद गर्नुहुँदैन । जातीय समानताका लागि तीनै तहका सरकार गम्भीर भएर काम गर्नु आवश्यक छ । स्थानीय सरकारले चाँहि जातीय समानताका लागि के काम गरिरहेका छन् त ? बैतडी र डडेल्धुराका स्थानीय तहका प्रमुखहरूलाई हामीले जातीय विभेद न्यूनीकरणका लागि तपाइँको स्थानीय तहले कस्ता कार्यक्रम अघि सारेको छ भनेर सोधेका थियौँ ।
कर्णसिंह साउद
अध्यक्ष, शिवनाथ गाउँपालिका, बैतडी
वषौँदेखि जातीय उत्पीडनमा परेको दलित समुदायको उत्थान आजको आवश्यकता हो । दलित समुदायलाई गैरदलित समुदायमा सम्मानित रूपमा बस्ने वातावरण हुन पनि आवश्यक छ । शिवनाथ गाउँपालिकाले विगत वर्षदेखि जातीय विभेद न्यूनीकरणका लागि विभन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । मुख्य गरी आर्थिक अवस्था कमजोर भएका कारण दलित समुदायका व्यक्तिहरूले विभेदको सामना गर्नु पर्ने बाध्यता भएकाले गाउँपालिकाले उनिहरूको आर्थिक अवस्था सुधारका कार्यक्रम ल्याएको छ । विगत आर्थिक वर्षहरूजस्तै चालु आर्थिक वर्ष ०७६/०७७ मा पनि शिवनाथ गाउँपालिकाले दलित समुदायलाई लक्षित गरी १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका अन्तर्गतका वडाहरूले पनि प्रति वडा १ लाख ५० हजारदेखि २ लाख रुपियाँसम्म बजेट विनियोजन गरेका छन् । गाउँपालिकामा जातीय विभेद निर्मुल पार्न विभिन्न किसमका सचेतनामुलक कार्यक्रमहरू पनि गरिएका छन् । विभिन्न निर्माणका काममा दलित समुदायका व्यक्तिहरूलाई अगुवा बनाएर काम पनि भइरहेका छन् । उपभोक्ता समिति गठनलागायत अन्य काममा पनि दलित समुदायका व्यक्तिहरूको अनिवार्य सहभागिता गरिएको छ । मुख्य कुरा के भने स्थानीय तहमा दलित–गैर दलित सबै समान हुन् भन्ने उदाहरण स्वरूप गाउँपालिकामा एक जना दलित समुदायका व्यक्तिलाई कार्यालय सहयोगीको रूपमा भर्ना गरिएको छ । पालिकामा भर्ना गरिएका दलित समुदायका व्यक्तिले पकाएको खाना, नास्ता पानीलगायत अन्य खानेकुराहरू सबै कर्मचारी र जनप्रतिनिधिले खाने गरेका छौँ । यसैबाट जातीय विभेद अन्त्यको पहल थालेका हौँ ।
उकेन्द्र बहादुर बोहरा
अध्यक्ष, डिलाशैनी गाउँपालिका, बैतडी
जातीय विभेद न्यूनिकरणका लागि समाजमा भएका दलित र गैर दलित समुदायका व्यक्तिहरूलाई सँगै राखेर कार्यक्रमहरू गर्न आवश्यक छ । एकातर्फी सचेतनाले पनि हामीले खोजेको जस्तो निर्मुलिकरण नहुन सक्छ । डिलाशैनी गाउँपालिकाले जातीय विभेद न्यूनीकरणका लागि विगतदेखि नै विभिन्न कार्यक्रमहरू गरिरहेको छ । सचेतनाका कार्यक्रमहरू विगत वर्षहरूमा पनि गरिएका थिए । गत आर्थिक वर्ष ०७५/०७६ मा पनि दलित समुदायको हौसला वृद्धि गर्नका लागि न्यानो लुगा वितरण गरिएको थियो । हामीले विकासका सबै काममा दलित समुदायका व्यक्तिहरूको सहभागिता अनिवार्य गरेका छौँ । विगतको तुलनामा जातीय विभेद कम पनि भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि दलित समुदायका व्यक्तिहरूको क्षमता अभिवृद्धिका लागि १६ लाख रुपियाँ बजेट विनियोजना गरेको छ । यस वर्ष विषेश गरी जातीय भेदभाव नगर्ने र दलित–गैरदलित समान हुन भनी सार्वजनिक रूपमा स्वीकार गर्ने तथा व्यवहारमा पनि सो कुरा लागु गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । सार्वजनिक रूपमा गरिएको कुनै कार्यक्रममा हामी यस्ता व्यक्तिहरूलाई सम्मान गर्ने छौँ । पालिकाभित्र जातीय विभेदका घटना हुन नदिन पनि काम गर्नेछौँ । सबै व्यक्ति समान हुन् भन्ने कुरालाई आत्मासाथ गर्दै दलित–गैरदलित दुवै समुदायका व्यक्तिहरूलाई एकै ठाउँमा राखेर सचेतनामुलक कार्यक्रम गर्ने हाम्रो योजना छ ।
गोरखबहादुर चन्द
अध्यक्ष, पञ्चेश्वर गाउँपालिका, बैतडी
जातीय विभेद मुख्य गरी गरीबी, शिक्षा र सचेतनासँग जोडिएको छ । दलित समुदायका व्यक्तिहरू शिक्षा, सचेतना र बेरोजगारीको समस्याले उत्पीडनमा परेका हुन् । पञ्चेश्वर गाउँपालिकामा हामी निर्वाचित भएर आएकै वर्ष पहिलो गाउँसभाबाट छुवाछुतरहित गाउँपालिका घोषणका लागि सार्वजनिक महत्वको प्रस्ताव ल्याएका थियौँ । उक्त प्रस्तावले धेरै हदसम्म जातीय विभेद नगर्न प्रेरित गरेको छ । यद्यपी पुर्ण रूपमा जातीय विभेद उन्मुलन भइसकेको अवस्था छैन । हामीले प्रत्येक विद्यालय र सार्वजनिक ठाउँमा सचेतनामुलक पम्प्लेटलगायत सामग्री राखेका छौँ भने विद्यालय र सार्वजनिक ठाउँहरूमा जातीय भेदभाव गर्नु हुदैन भन्ने बारेका सचेतनामुलक कार्यक्रमहरू गरिरहेका छौँ । गएको आर्थिक वर्ष ०७५/०७६ मा पनि दलित समुदायका व्यक्तिहरूको क्षमता अभिवृद्धिका लागि ३५ लाख रुपियाँ बजेट विनियोजन गरेका थियौँ । यस आर्थिक वर्ष ०७६/०७७ मा पनि ४० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । हामीले स्थानीय तह र प्रत्येक वडामा दलित नेटवर्क गठन गर्न लगाएर नेटवर्कमार्फत कार्यक्रम गर्ने गरी तयारी गरिरहेका छौँ । दलित नेटवर्ककै आग्रहमा दलित समुदायको उत्थानका लागि प्रदेश र सङ्घीय सरकारसँग पनि आग्रह गर्ने हाम्रो योजना छ । हामी चाहान्छौँ हामीले पहिलो वर्ष नै परिकल्पना गरेको छुवाछुत मुक्त पञ्चेश्वर साँचिक्कै होस । यदि कसैले जातीय विभेद गरे त्यसलाई सार्वजनिक रूपमा बहिष्कार गर्ने, सेवा सुविधाबाट वञ्चित गर्ने र कानुन अनुसारका अन्य कारवाही गरिने छ । विषेश गरी हामीले दलित समुदायका पाँच जना विद्यार्थीलाई गाउँपालिकाबाट छात्रबृत्ति प्रदान गरी बाहिर पढ्नका लागि पठाएका छौँ ।
विशेश्वर प्रसाद ओझा
मेयर,अमरगढी नगरपालिका, डडेल्धुरा
दलित समुदाय राज्यको समाजिक, आर्थिक र राजनीतिक तवरले सबैखाले अवस्था, व्यवस्था र पहुँचबाट वञ्चित समुदाय हुन् । सांस्कृतिक हिसाबले समेत हेपिएका, दबाइएका वास्तविक श्रमजीवि वर्ग पनि यिनै समुदाय हुन् । दलित भित्रै पनि विभेद र छुवाछुत प्रथा छ । दलित जातीबीचको वैवाहिक सम्बन्ध तथा गैरदलित जातीहरूसँगको वैवाहिकलगायतको सम्बन्धको कुरा त निकै परको विषय हो । यी यस्ता समस्याहरू सामाधानका लागि हामिले समाजमा रहेका बुढापाका, धामीझाँक्री तथा समाजका अगुवाहरूलाई सहभागी गराई विभिन्न किसमका जनचेतनामुलक कार्यक्रमहरूको सञ्चालन गरिरहेका छौँ । पहिलेको भन्दा अहिले जातीय विभेदका घटनाहरूमा केही हदसम्म कमी त आएको छ । यसलाई सधैँका लागि निर्मुल गर्नका लागि हामीले नगरभित्र सञ्चालन भइरहेका विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय गरी कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । ग्रामीण भेगहरूमा जातीय विभेदका घटनाहरू बढी हुने भएकाले अहिले नगरपालिकाले प्रत्येक टोलटोलमा जातीय विभेद न्यूनीकरणका लागि कार्यक्रमहरू सञ्चालन गरिरहेका छ ।
कविन्द्र बिष्ट
अध्यक्ष, नवदुर्गा गाउँपालिका, डडेल्धुरा
जातीय विभेदका घटना गैर दलित समुदाय भन्दा पनि दलित समुदायमा बढिरहेको छ । गैर दलित र दलित समुदायहरूमा अहिले धेरै नै परिवर्तन आएको छ । ग्रामीण क्षेत्रहरूमा अहिले पनि अदृश्य रूपमा छुवाछुत भइरहेको छ । गैरदलित समुदाय र दलित समुदाय भन्दा पनि दलित समुदाय भित्र नै विभेदको अवस्था छ । एक दलित अर्को दलित जातिको अस्तित्व नस्विकार्ने कुसंस्कार र संस्कृति छ । यसलाई न्यूनीकरण गर्नका लागि सचेतना फैलाउनु नै उचित जस्तो लाग्छ । हामीले पनि पालिकाका प्रत्येक टोल टोल तथा विद्यालयहरूमा जातीय छुवाछुतसम्बन्धी प्रशिक्षण कार्यक्रमहरूको आयोजना गरिरहेका छौँ । यसका साथै महिला स्वास्थ्य स्वयम्सेविका र आमा समूहहरूबाट पनि विभेद अन्त्यका लागि चेतनामुलक सन्देशका लागि सबै क्षेत्रमा खटाएका छौँ । यसबाट थौरै भएपनि जातीय विभेदका घटनामा कमी आएको छ ।
उमेशप्रसाद भट्ट
अध्यक्ष, अजयमेरू गाउँपालिका, डडेल्धुरा
परम्परागत मुल्य, मान्यता र संस्कारमा देखिएको अन्धविश्वास, विकृति, कुरिति, गलत धारणा र विश्वासका कारणले अझैपनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जातीय विभेद कायमै रहेको छ । सामाजमा विद्यमान रूपमा रहेको विभेद अन्त्यका लागि पालिका भित्र रहेका दलित समुदायको शैक्षिक जागरण र आर्थिक, व्यवसायिक एवम् रोजगारीको अवसरमा पहुँच पु¥याउने उद्देश्यले विभिन्न किसमका सिपमुलक तालिमहरूको आयोजना गरेका छौँ । विद्यालयमा अध्ययनरत दलित समुदायका बालबालिकाहरूलाई स्थानीय तहबाटै शैक्षिक सामग्री उपलब्ध गराएका छौँ । यसका साथै हामिले विभिन्न स्थानहरूमा दलित समुदाय र गैर दलित समुदयका व्यक्तिहरूबीच अन्तक्रिया कार्यक्रमहरूको आयेजना गरेका छौँ । यसबाट पनि केही हदसम्म जातीय विभेद न्यूनीकरणमा टेवा पुगेको छ ।
प्रस्तुतीः नरी बडु/भुपेन्द्र विष्ट
सम्बन्धित जनमतहरु
जातीय विभेद अन्त्यका लागि दलित र गैरदलित समुदायको अवाज एक हुन जरुरी छ
५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन चैत ८ गते काठमाडौँमा सम्पन्न भयो । सातै प्रदेशका १ सय २० जना…
किसानको समस्यालाई आत्मसात गरी समाधानमा लागि पर्छौँ
कात्तिक १ गतेदेखि प्रदेश १ का विभिन्न क्षेत्रमा भएको निरन्तर वर्षासँगै चलेको हावाहुरीका कारण अन्नबालीमा क्षति पुगेको छ । पाकेको धान,पाक्न लागेको धान र कोदोबालीमा क्षति पुगेको प्रदेश कृषि मन्त्रालयले…
जनताको सुखदुःखमा हामी जनतासँगै छौँ
सुदूरपश्चिम प्रदेशमा बेमौसमी वर्षाले निकै क्षति पुर्यायो । काटेर खेतमा राखेको र काट्न तयार भएको धानबालीमा क्षति पुर्यायो । बेमौसमी वर्षतका कारण किसानहरूलाई परेको समस्यामा जनप्रतिनिधिहरूले के कसरी सहयोग गर्ने…
पीडित किसानलाई सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्छ
असोज ३१ गतेदेखि चारपाँच दिनसम्म देशका विभिन्न भागमा ठूलो पानी पर्यो । बेमौसमी वर्षातका कारण अन्नबालीमा निकै नोक्सानी भयो । यसै सेरोफेरोमा बेमौसमी वर्षातका कारण किसानलाई परेको समस्यामा के कसरी…
'विशेष प्याकेज ल्याएर बाढी पीडितलाई सम्बोधन गर्छौँँ'
लुम्बिनी प्रदेशमा अविरल वर्षाले कारण काटेर खेतमा राखेको र काट्न तयार भएको धानबालीमा क्षति पुर्यायो । प्रदेशमा सबैभन्दा बढी बर्दिया जिल्लामा क्षति भएको छ । कतिपय किसानहरूले घर भित्र राखेको…