अबदेखि कहिल्यै पनि नागरिकहरूलाई बेपत्ता नपारियोस्

नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको क्रममा राज्य र तत्कालिन विद्रोही पक्षबाट बलपूर्वक बेपत्ता पार्ने कार्य तीव्र रूपमा भयो । सशस्त्र द्वन्द्वमा बलपूर्वक बेपत्ता बनाएको भन्दै बेपत्ता पारिएका व्यक्तिका आफन्तले बेपत्ता आयोगमा ३ हजारभन्दा बढी उजुरी दर्ता गराएका छन् । सशस्त्र द्वन्द्वको समयमा सिन्धुपाल्चोक जिल्लाका २१ जना नागरिकहरू बेपत्ता पारिएको इन्सेकको अभिलेख छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलपिमलाप आयोग ऐन २०७१ संशोधन गरी कार्य थालेको छ । तर, घरमा आफ्ना आफन्त बेपत्ता भएपछि परिवारमा पीडासँगै विभिन्न पारिवारिक, सामाजिक तथा सांस्कृतिक समस्या पनि छन् । यसै सन्दर्भमा इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालले सिन्धुपाल्चोकका बेपत्ता नागरिकका परिवारसँग लिएको जनमत यहाँ प्रस्तुत गरिएको छ ।

डल्ली सार्की
द्वन्द्वपीडित, चौतारा साँगाचोकगढी नपा–१३, सिन्धुपाल्चोक

मेरो छोरा गोरेबहादुर पुर्कोटी क्याम्पस पढ्न काठमाडौँ गएको थियो । काठमाडौँमा बसेकै अवस्थामा ०५६ जेठ २ गते सुरक्षाकर्मीबाट बेपत्ता भएकोमा अहिलेसम्म घर फर्केको छैन । छोरा बुढेसकालको साहारा हुन्छ भन्ने आशा थियो । म बुढीको आशा सरकारले नै खोसिदियो । सरकारले छोरालाई बेपत्ता बनाएको २५ वर्ष भयो । कुनै खुट्खबर छैन । छोरा सँगैका साथीहरू माननीय, मन्त्री भए रे ! तर मेरो बेपत्ता छोराको मरेबाँचेको पत्ता लागेन । कस्तो विडम्बना ? मारेकै भएपनि कहिले, कहाँ, कसरी, मारेको हो ? सरकारमा गएकाहरूले भनिदिए हुन्थ्यो । काजकिरिया त गर्न पाइन्थ्यो, छोराको काजकिरिया गर्न नपाएरै मरिने भइयो । एक मात्र छोरा त्यसलाई पनि सरकारले बेपत्ता बनायो । पतिको मृत्यु भयो । छोरीको साहारामा जेनतेन बाँचेकी छु । चाडबाडमा छरछिमेकका बाहिर गएका छोराछोरी घर आउँदा आफ्नो छोरा पनि घर आउँछ कि भन्दै बाटो हेर्छु । तर, आउँदैन । म त डाँडामाथिको घाम जस्तै भएकी छु । आज हो कि भोलि, मर्ने बेला हुन लागेको छ । आफैँले जन्माएको छोरालाई बेपत्ता बनाएको जस्तो दुःखको पीडा अरू नहुँदो रहेछ । मैले त यो दुःख भोगेँभोगेँ, अरू कसैले यस्तो दुःख र पीडा भोग्नु नपरोस् र कसैलाई पनि बेपत्ता नपारियोस् ।

सीता बस्नेत
द्वन्द्वपीडित, चौतारा साँगाचोकगढी नपा–६, सिन्धुपाल्चोक

Sita Basnetघरबाट काठमाडौँ जान हिँड्नु भएका पति कृष्णबहादुर बस्नेत ०६१ फागुन १३ गतेदेखि बेपत्ता हुनु भयो । २० वर्ष बित्यो पति कृष्णबहादुर घर फर्कनु भएन । तत्कालिन विद्रोही नेकपा माओवादी कार्यकर्ताले साँगाचोक भञ्ज्याङ्गबाट लिएर गएको भन्ने सुनेको हुँ । बेपत्ता बुबाको पीरले थलिएर छोरीको मृत्यु भयो । अहिले हामी आमा, छोरा उहाँ (पति) को पर्खाइमा बसेका छौँ । पतिको अवस्था कस्तो होला ? भन्ने चिन्ताले सताइ रहन्छ । खेतिपाती गरेर जेनतेन गुजारा चलेको छ, तर पनि मनमा शान्ति छैन । यतिलामो समय बितिसक्दा कसैले पनि पतिको खोजी गरिदिएनन् । एकदिन त घर फर्केर पक्कै आउनु हुन्छ भन्ने लाग्छ तर खै के हो ? पतिको खोजीको लागि विभिन्न निकायमा गएर अनुरोध गरेको भएपनि खोजीका लागि कसैबाट पनि पहल नहँुदा अहिलेसम्म पत्ता लागेन ।

सरकारले नै खोजी गर्नुपर्ने हो, बेपत्ता परिवारको पक्षको सरकार नभएर नै होला हाम्रो मान्छेको खोजी नभएको जस्तो लाग्छ । आफ्नो पति बेपत्ता हुँदाको पीडा कति हुन्छ भन्ने कुरा त हामी भोग्नेलाई नै थाहा हुन्छ । घरमा पति नहुँदा समाजले हेर्ने दृष्टिकोणमा फरक छ । पतिको नाममा भएको जग्गा जमीन नामसारी हुन नसक्दा जग्गा धितो बन्धकी राखेर केही अन्य काम गर्न सकिएको छैन । घरमा तिथि श्राद्ध गरिएको छैन । बेपत्ता पतिको मृत्यु भएको भएपनि सरकारले मृत्युको घोषणा गरिएको भए मृत्यु दर्ता गरेर सबै काम हुन्थ्यो होला त्यसो पनि भएको छैन । सरकारले छिटो भन्दा छिटो बेपत्ता पतिको अवस्था सार्वजनिक गरेर एउटा निकास दिए हुन्थ्यो । त्यसो नगरेर बेपत्ताहरूको सवाललाई सरकारले बेवास्ता गरेर म जस्ता पीडितलाई थप पीडा नदिए हुन्थ्यो ।

तुलसाकुमारी नेपाल
द्वन्द्वपीडित, चौतारा साँगाचोकगढी नपा–४, सिन्धुपाल्चोक

Tulasa Kumari Nepalमेरो तीन जना छोरा मध्ये कान्छो छोरा माधव नेपाललाई ०६० मङ्सिर १२ गते सुरक्षाकर्मीले बेपत्ता बनाएका हुन् । कम्प्युटर सिक्न भनेर गएको छोरा फर्केर आएन । काठमाडौँको कोटेश्वरबाट सुरक्षाकर्मीले समातेर लगेको कुरा मलाई खबर ल्याउनेले भनेका हुन् । कता लगेर के गरे ? केही थाहा भएन । आज २१ वर्ष भयो । छोरा माधवको कुनै अत्तोपत्तो लागेको छैन । कान्छो छोरा माधवलाई सरकारले बेपत्ता बनाएको दुई महिनापछि जेठा छोरा प्रेम नेपाल खोटाङ जिल्लाको ऐंसेलुखर्कमा मारियो । अहिले म माइला छोराको साहारामा बाँचेको छु । तीन जना छोरामध्ये दुई छोरा छैनन् त्यही माइलो छोरालाई हेरेर चित्त बुझाएको छु ।

बेपत्ता छोराको खोजीका लागि धेरै ठाउँमा पुगे, कहीँबाट पत्ता लागेन । पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएका बेलामा अग्नीप्रसाद सापकोटामार्फत भेट्न पनि गएँ । प्रचण्डलाई बेपत्ता छोराको अवस्था पत्ता लगाउन प¥यो भनेको थिएँ । पर्खनोस् बेपत्ताहरूको अवस्था हामी छिट्टै सार्वजनिक गर्छौँ भन्थे । प्रधानमन्त्रीको पनि उही गफ मात्र भयो, अहिलेसम्म बेपत्ताहरूको अवस्था सार्वजनिक भएन । मरेको छोराको त चित्त बुझाइयो । काजकिरिया गरियो । त्यो सकियो । तर, बेपत्ता भएको छोरा छोरीको पीडा आमालाई जस्तो घात अरूलाई नहुँदो रहेछ । आज आउँछ कि भन्यो, भोलि आउँछ कि भन्यो आउँदैन । वर्षौँ कसरी पीडा खेपेर बस्ने ? यस्तो पीडा अबदेखि कसैको आमाले पनि भोग्नु नपरोस् ।

कालीमाया श्रेष्ठ
द्वन्द्वपीडित, लिसङ्खुपाखर गाउँपालिका–५, सिन्धुपाल्चोक

Kalimaya Shresthaमेरो छोरी नक्कली श्रेष्ठलाई ०६० कात्तिक २१ गते चौतारा जेलबाट सुरक्षाकर्मीले बेपत्ता बनाएका हुन् । छोरी नक्कली श्रेष्ठलाई ०५९ फागुन १४ गते त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करबाट सुरक्षाकर्मीले गिरफ्तार गरेर जेलमा राखेका थिए । जेलबाट बेपत्ता भएकी छोरी फर्कने हो वा होइन म दुविधामा परेकी छु । स्थानीय माओवादी कार्यकर्ताले छोरी मारिइन् होला भन्ने आशङ्काको कुरा सुनाउँदा आफ्नो मन थामिएको थिएन । जेलमा बसेकी छोरी मारिएकै भएपनि आज २१ वर्ष बितिसक्यो । किन सार्वजनिक गरिएन ? छोरीले के अपराध गरेकी थिइन् ? माओवादी पार्टीमा आस्था राखेकै आधारमा दुश्मन साँध्नुपर्ने आवश्यकता किन प¥यो ? मारिएकै भएपनि छोरीको हाडखोर कहाँ भेटिएला ? छोरी एक दिन आमा भन्दै घर आउँछिन् कि भन्ने पनि केही झिनो आशा अझै बाँकी नै छ । तर, यति लामो समय आशै आशमा बित्यो । जीवनभर सरकारले यो अन्यौलमा किन हामीलाई राखेको होला ? मारेकै भएपनि बरू गाडिएको ठाउँ र हाडखोर पत्ता लगाइदिए रितिथिति अनुसार काजक्रिया गर्न त पाइन्थ्यो । बेपत्ता छोरीको चिन्ताले आफू मर्दा पनि स्वास कसरी जाने हो मलाई त्यसैको पिरलो छ ।