१० वर्ष लामो सशस्त्र द्वन्द्वको विधिवत अन्त्य २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामार्फत भएको थियो । शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । इन्सेकको अभिलेख अनुसार २०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) दुवै पक्षबाट १३ हजार २ सय ४८ जना मारिएको र ९ सय ३१ जना नागरिकलाई बलपूर्वक बेपत्ता पारिएको छ । विस्तृत शान्ति सम्झौतामा भनिए अनुसार राजनीतिक मुद्दाहरूको सम्बोधन भएको भएपनि द्वन्द्वपीडितका मुद्दा भने ज्यूँका त्यूँ नै छन् । १८ वर्षमा पनि सम्बोधन नभएका द्वन्द्वपीडितका सवाल तत्कालै समेटिनु आवश्यक छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन गर्याे । दुवै आयोगले पीडितहरुको निवेदन लिने र क्षतिपूर्तिको सामान्य काम गरेपनि अरु प्रक्रिया अगाडि बढाउन सकेन । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार ७ सय १८ उजुरी दर्ता भएको छ । तीमध्ये ३ हजारलाई आयोगले तामेलीमा राख्ने निर्णय गरेको थियो । आयोगले द्वन्द्वपीडित परिचयपत्र उपलब्ध गराउने र पीडितलाई परिपूरणको फाराम भराउने र परिपूरणको सिफारिस गर्ने काम गरे पनि पदाधिकारी नहुँदा काम अघि बढ्न सकेन । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ३ हजार २ सय ४३ उजुरीमध्ये २ सय ३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ । २ हजार ४ सय ९६ उजुरीमा विस्तृत छानबिन भइरहेको छ । लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन), २०८१ राष्ट्रपतिबाट ०८१ भदौ १३ गते प्रमाणीकरण भइ कार्यान्वयनमा आइसकेको छ । सरकारले पुन सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाएको छ । सरकारले पछिल्लो पटक २०८० चैत ३० गते सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिवारका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्नका लागि ‘सिफारिस समिति गठन’ गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले दुई आयोगका पदाधिकारी सिफारिस गर्नेछ । विगतका आयोग पीडितमैत्री नभएको गुनासो गरेका द्वन्द्वपीडितहरूले अब बन्ने आयोग कस्तो चाहेका छन् त ? यसै सन्दर्भमा इन्सेकर्मी पुण्य अधिकारीले द्वन्द्व पीडित परिवारका सदस्यसँग लिनु भएको जनमत यहाँ प्रस्तुत गरिएको छ ।
तुलसी चापागाईँ
सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति, कोशी सदस्य
राज्यमाथि विश्वास गर्नु हामी नागरिकको जिम्मेवारी हो । तर, सङ्क्रमणकालीन न्यायको प्रक्रिया र यसका मुद्दामा हामीलाई राज्यमाथि विश्वास गर्दा धोका खाएका छौँ । हामी द्वन्द्व पीडित परिवारले न्यायको बाटो पर्खिएको १७, १८ वर्ष बितेको छ । अझै न्याय प्राप्तिको प्रक्रियालाई राज्यले ठोस ढङ्गले अघि बढाउन सकेको छैन । द्वन्द्व पीडित परिवारका समस्या र पीडा बुझ्ने मान्छे सरकारले बनाएका आयोगहरूमा जाँदा हामीले न्याय नपाएको विषयमा दुई मत छैन । अहिले फेरी राज्यले सङ्क्रमणकालीन न्यायको प्रक्रिया नयाँ आयोग गठन गरी अघि बढाउने भएको छ । आयोगमा स्वच्छ भूमिका निर्वाह गर्न सक्ने तर राजनीतिक पृष्ठभूमिको मान्छे नभई पीडितको समस्या बुझ्ने मान्छे जाओस् भनेर इन्सेकका पूर्व अध्यक्ष सुशील प्याकुरेल संयोजक भएको सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति, कोशीको सदस्य म आँफै पनि भएकाले सरकारलाई दबाब दिन आवश्यक छ । अबको आयोगमा हाम्रो भन्दा पनि राम्रो मान्छे आयो भने हामीले न्याय प्राप्त गर्ने अवस्था रहन्छ ।
लीला तामाङ
द्वन्द्व पीडित
राज्यप्रति हामीलाई अहिले पनि शङ्का छ । राज्यले वा राजनीतिक दलका प्रतिनिधिले इच्छाशक्ति नदेखाएर हामी द्वन्द्व पीडित झण्डै दुई दशकयता न्यायको बाटो कुरिरहेका छौँ । राज्यले नचाहेका कारण हामी न्यायबाट वञ्चित हुनु परेको छ । सरकारले आयोग गठन गरेर पुनः सङ्क्रणकालीन न्यायको प्रक्रिया अघि बढाउने भनेको छ । राज्यले द्वन्द्व पीडितको मुद्दालाई राजनीतिक प्लेकार्ड नबनाउने हो भने द्वन्द्व पीडित परिवारका सदस्यले न्याय पाउने निश्चित छ । तर, समस्या राज्यमै छ । राजनीति गर्नेहरू द्वन्द्व पीडित परिवारलाई न्याय दिलाउने प्रयत्नमा लाग्ने हो भने पीडित परिवारको सधैँ साथ रहन्छ ।
रीता गिरी
द्वन्द्व पीडित
सरकारले न्याय दिने प्रक्रिया नै भएन । हामी पीडित परिवारलाई राज्यले किस्ताकिस्तामा न्याय दिलाउने गरेको छ । जुन आफैमा आश्चर्यजनक छ । कतै न्याय किस्ताकिस्तामा दिने कुरा हो र ? तर हाम्रो देशमा राजीतिक गर्नेले जे चाह्यो त्यही हुन्छ । पीडित परिवार न्यायको बाटो हेर्दै बसेको झण्डै दुई दशक हुन लागेको छ । तर, राजनीति गर्नेहरूलाई अझै द्वन्द्व पीडित परिवारलाई न्याय दिलाउँ भन्ने लागेको छैन । जसरी द्वन्द्व पीडित परिवारलाई न्याय दिलाउन वा सङ्क्रणकालीन न्यायका लागि सरकारले आयोग बनाएको छ । पुनः नयाँ आयोगको कसरत गर्दैछ । त्यो भन्दा पहिले आयोगमा द्वन्द्व पीडित परिवारको मर्म, पीडा र भावना बुझेको मान्छे अब बन्ने आयोगमा पुगेँ हामीले न्याय पाउने अवस्था रहन्छ । होइन भने द्वन्द्व पीडित परिवारलाई झुक्याउने राज्यको अर्को चाल भन्दा हुन्छ ।
इन्द्रबहादुर लिम्बू
द्वन्द्व पीडित
मेरो बहिनी बेपत्ता हुन लागेको दुई दशक हुन लाग्यो । यत्रो लामो अवधिमा राज्य कहिल्यै जिम्मेवार भएन । मैले राज्यसँग पैसा लिएको वा मागेको छैन् । त्यति बेला सशस्त्र प्रहरीले मेरो बहिनीलाई बेपत्ता बनाए । जुन राज्यका मान्छे थिए । मैले मेरो बहिनीको अवस्था के छ भन्ने जान्न पाउनु पर्छ, राज्यले मलाई यकिन जवाफ दिनुपर्छ । द्वन्द्व पीडित परिवारलाई न्याय दिलाउने भनेर राज्यले दुई ओटा आयोग बनायो । तर ती आयोगले मलाई कहिल्यै जवाफ दिएन । फेरी राज्यले आयोगलाई व्यूत्याएर द्वन्द्व पीडित परिवारलाई न्याय दिने भन्दैछ । न्याय दिलाउने ठाउँमा सबैभन्दा पहिले स्वच्छ र निको छविको मान्छे भएमा मात्र हामीले जवाफ वा न्याय पाउने अवस्था रहन्छ । अन्यथा यो घाउ झन् बढ्दै जानेछ । भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिने भन्दै विभिन्न आयोग बनाउँदै खारेज गर्दै गरे जस्तो गरेर द्वन्द्व पीडितलाई राज्यले न्याय दिलाउन सक्दैन । राज्यमाथि नै हामीलाई शङ्का छ ।