९ हजार भन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता पाएनन्

मकवानपुर जिल्लाका करिब ९ हजार भूकम्पपीडितहरूले हालसम्म पहिलो किस्ता पाएका छैनन् । उनीहरूसँग अनुदान सम्झौता पनि हुन सकेको छैन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरद्वारा भदौ १२ गते हेटौँडामा आयोजित 'भूकम्प पीडितहरूको पुनर्स्थापना विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मकवानपुरका प्रमुख पुष्पराज अधिकारीले मकवानपुरमा रहेका ३१ हजार ८ सय १६ लाभग्राहीमध्ये २२ हजार ६ सय १२ लाभग्राहीले अनुदान सम्झौता गरेर पहिलो किस्ताको रकम लगेको जानकारी गराएका थिए । 'हालसम्म पनि ९ हजार २ सय ४ लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेको छैन ।'-उनले भने ।

अनुदान सम्झौता हुन नसकेकाहरू अधिकांश लालपुर्जाविहीन भूकम्प पीडित रहेका छन् । जग्गा जमीन आफ्नो स्वामित्वमा नहुने भूकम्प पीडितहरूसँग अनुदान सम्झौता हुन नसक्ने नीति रहेको जनाइएको छ ।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरण मकवानपुरका प्रमुख अधिकारीले भने-'सरकारी र गैरसरकारी गरेर दोस्रो किस्ता ३ हजार ५ सय २९ लाभग्राहीले मात्र लगेका छन् । तेस्रो किस्ताको रकम सरकारी तर्फबाट कसैले पनि लगेका छैनन् । गैरसरकारी संस्थाबाट ५ सय ७७ लाभग्राहीले लगेका छन् ।'

माइती नेपाल हेटौँडाकी प्रमुख माया लामाले पुनर्निर्माणको कार्य सुस्तगतिमा भएको भन्दै लालपुर्जाविहीन भूकम्प पीडितहरूलाई अनुदान सम्झौता गरेर राहत उपलब्ध गराउन माग गरिन् ।

राडो नेपालका प्रमुख कृष्ण धितालले सरकारी झञ्झटका कारण पुनर्निर्माण कार्यले गति लिन नसकेको गुनासो गरेका थिए ।

प्रताप विष्ट