६ महिनामा ८० प्रतिशत महिला हिंसाका घटना

सल्यान जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामध्ये ८० प्रतिशत भन्दा बढी घटनाहरू महिला हिंसाका देखिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ७ गते ६ महिनामा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको हो ।

Photo20180622Salyan

बितेको ६ महिनामा सल्यान जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २० वटा घटनामध्ये १६ वटा घटनाहरू महिला हिंसाका अभिलेख गरिएको तथ्याङ्कमा उल्लेख छ । ति मध्ये सात वटा घटना बलात्कारसँग सम्बन्धित रहेको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ । यस्तै ४ वटा बहुविवाह, दुई वटा हत्या, दुई वटा घरेलु हिंसाका घटना समावेश गरिएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले ६ महिनाको अवधिमा एउटा शिक्षाको अधिकार, एउटा स्वास्थ्यको अधिकार, एउटा गिरफ्तारी र एउटा कुटपिटको घटनाबाट मानव अधिकारको हनन् भएको तथ्याङ्क प्रस्तुत गरिन् ।

स्थानीय तहको न्याय सम्पादनमा सुधार आवश्यकः सरोकारवालाहरू

यस्तै समीक्षा कार्यक्रममा स्थानीय तहबाट प्रदान गरिने न्यायिक सेवामा सुधारको खाँचो रहेकोमा वक्ताहरूले जोड दिए । समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले स्थानीय तहहरूले न्याय सम्पादन गर्दा अझै निखारता ल्याउनुपर्ने बताए ।

घिमिरेले सल्यानमा मानव अधिकार हनन्का घटना न्यूनीकरणका लागि सबैको हातेमालो हुनुपर्ने आवश्यकता रहेको औँल्याए । उनले भने-'जिल्लामा यदि कहीँ कतै मानव अधिकार हनन् भएको पाउनु हुन्छ भने प्रशासनलाई खबर गर्नुस । हामी पीडित लाई न्याय दिलाउने विश्वास दिलाउछौँ।'

Photo20180622Salyan1

कार्यक्रमा बोल्दै शारदा नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक सावित्रा बस्नेतले स्थानीय तहबाट न्याय सम्पादनको काम गर्दा सकेसम्म निष्पक्ष ढङ्गले काम गर्ने बताइन् ।

बस्नेतले आफूले कार्यालयबाट न्याय सम्पादन गर्दा कुनै पनि भेदभाव नगरी निष्पक्ष ढङ्गले काम गरिरहेको बताइन् । उनले भनिन्-'हामीहरू मानव अधिकारको सम्मान गर्दै न्याय सम्पादन गर्न सदैव सजग छौँ ।'

जिल्ला अदालत सल्यानका श्रेष्तेदार गणेशकुमार गौतमले समाजमा न्याय सम्पादन सहज ढङ्गले हुन नसक्दा वास्तविक पीडितले न्याय पाउन नसक्ने सम्भावना हुने र ठुलै दुर्घटना निम्त्याउने भन्दै मानव अधिकारकर्मीले यस विषयमा पनि सोच्नु पर्ने बेला आएको उनले बताए ।

सो क्रममा वक्ताहरूले जघन्य अपराधहरूलाई पनि मेलमिलापमार्फत टुङ्ग्याउने र घटना बाहिर आउन नदिने प्रचलन बढेकाले सरोकारवालाहरू यसतर्फसजग हुनुपर्ने धारण राखेका थिए । उनीहरूले सम्बन्ध राम्रो हुँदा बाहिर नआउने र सम्बन्ध बिग्रँदा पीडित बन्दै घटना सार्वजनिक गर्ने परिपाटीले न्याय सम्पादनमा समस्या देखिएको समेत बताएका थिए ।

मिना बुढाथोकी