३३ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

  ०८१ मङ्सिर १२ गते

Photo 20241127 Rautahat (4)
“हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने मुल नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन मङ्सिर १० गते गरुडामा र्‍याली कार्यक्रम गरी सम्पन्न भएको छ ।

मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्था, जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाललगायतको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन र्‍याली कार्यक्रम गरिएको छ ।

र्‍याली कार्यक्रम गरुडा नगरपालिकाको बजार क्षेत्र परिक्रमा गरी इलाका प्रहरी कार्यालय गरुडा अगाडि कोण सभामा परिणत भएको थियो । उक्त कोण सभामा गरुडा नगरपालिकाका मेयर कन्थमणि जयसवालले लैङ्गिक हिंसा आफ्नो घरबाट अन्त्य गर्न सुरुवात गर्न सके मात्र अन्त्य हुने बताउनुहुँदै ३३ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सफल रहोस भन्ने शुभकामना दिनुभयो ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले लैङ्गिक हिंसा अन्त्यका लागि आफ्नो परिवार र समाजमा भएको अशिक्षा, अन्धविश्वास, कुरिति र कुसंस्कारको अन्त्य गर्न सकिए मात्रै महिला हिंसाको अन्त्य गर्न सकिने बताउनु भयो ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जालकी सदस्य किरण ठाकुरले कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा र दोषीलाई कानुनको दायरामा ल्याउन नसक्दा प्रत्येक वर्ष लैङ्गिक हिंसाको घटनामा बृद्धि भइरहेको बताउनुभयो ।

र्‍यालीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), इस्लामीक रिलिफ नेपाल, इस्लामीक रिलिफ क्यानडालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

गौरी न्यौपाने