हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग

  ०८१ असोज ६ गते

शुभकालिका गाउँपालिका–३, माइतिघर भइ रास्कोट नगरपालिका–३ की २८ वर्षीया मोतिपुराकुमारी अधिकारीलाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत ०८१ असोज ६ गते ७ हजार रुपियाँ सहयोग गरेको छ ।

पति ३५ वर्षीय ललिराज सिम्खाडाले मार्ने धम्की दिएर घरनिकाला गरेपछि आफूलाई कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेक कर्णाली प्रदेश कार्यालयमा सहयोगको लागि असार २७ गते निवेदन दिनुभएको थियो । पीडितको निवेदन प्राप्त भएपछि इन्सेकले सञ्चालन गर्दै आएको मानव अधिकार सहायता कक्षको निर्णय अनुसार सहयोग हस्तान्तरण भएको हो ।

पीडितले असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आर्थिक अवस्था कमजोर पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियाका लागि जान र आउन समस्या भएको थियो । घर निकाला भएपछि १८ महिनाको छोरासहित माइतीको आश्रयमा बस्दै आउनुभएकी पीडित अधिकारीलाई, इन्सेक जिल्ला प्रतिनिधिको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीले ७ हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

सहयोग पाएपछि पीडित अधिकारीले कानुनी प्रक्रियामा जान सहयोग भएको भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा जान नसकेको र गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले सहयोग गर्दै आएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

कालीबहादुर मल्ल