स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

  ०७८ मङ्सिर १ गते

मानव अधिकार समूह भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक ३० गते भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको छ ।

इन्सेकद्धारा गठित मानव अधिकार समूहको आयोजनामा स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

इन्सेकद्वारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तर्गत गाउँपालिकामा स्वास्थ्यका सवालमा स्थानीय सरकार तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

अन्तरक्रियामा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आलम अञ्सारीले नागरिकहरूको आधारभूत अधिकारको रूपमा रहेको स्वास्थ्यको क्षेत्रमा रहेका समस्याहरूको समाधान गर्न प्रत्येक वडामा स्वास्थ्य केन्द्र सञ्चालन भएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा नागरिकलाई प्रवाह गर्दै आएको र केही कमीकमजोरी भए त्यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य शाखा प्रमुख अञ्सारीले स्वास्थ्य चौकीमा निःशुल्क पाउने औषधि विवरणसहितको होर्डिङ बोर्ड प्रत्येक वडा कार्यालयहरूमा राख्ने, कोभिड–१९को खोपलगायत स्वास्थ्य सेवाका बारेमा सामाजिक सञ्जाल र वडा तथा स्वयमसेविकाको माध्यमबाट प्रचार गर्ने, स्वास्थ्य बीमा सहयोगी र स्वास्थ्य चौकी प्रमुखहरूको कामको निगरानी बढाउने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा इन्सेक प्रतिनिधिले नागरिकको आधारभूत अधिकारका रूपमा रहेको स्वास्थ्य अधिकारबाट अझै नागरिक वञ्चित भएकाले गम्भीर हुन र संयुक्त रूपमा अनुगमन गरी जबाफदेही बन्न स्थानीय सरकारसँग आग्रह गर्नुभयो ।

सरकारी अस्पताल, जिल्ला अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरूको फितलो व्यवस्थापनले सेवाग्राहीको आकर्षण निजी अस्पतालतर्फ बढीरहेको तर्फ सचेत रहन आग्रह गर्नुभयो ।

मानव अधिकार निगरानी समूहका सचिव बेलाल अञ्सारीले स्वास्थ्य सेवा प्रवाहका विषयमा गाउँपालिकाले सहज ढङ्गले जानकारी दिनुपर्ने, नागरिक वडापत्र , गुनासो पेटिका, नियमित औषधि आपूर्ति र स्वास्थ्यका क्षेत्रमा देखिएको समयमा नबस्ने परिपार्टीमा सुधार ल्याउन मानव अधिकार समूह अझै क्रियाशील हुने बताउनुभयो ।

पत्रकार अजमल अञ्सारीले निःशुल्क औषधिबारे सर्वसाधारणलाई जानकारी दिनुपर्ने र स्वास्थ्यकर्मी नियमित बसेको नबसेको बारेमा  अनुगमन नियमित हुनुपर्ने बताउनु भयो ।

अपाङ्गताको अधिकारमा क्रियाशील साकिर आलमले शारिरीक तथा बौद्धिक अपाङ्गहरू समुदायमा सबै खाले विभेद भएको र त्यसमाथि कोभिड–१९ को खोपमा पनि विभेद भएको गुनासो गर्नुहुँदै खोपलाई सहज बनाउन आग्रह गर्नुभयो ।

मानव अधिकार समूहका सुरेन्द्र मेहताले गाउँपालिकाको कमी कमजोरीका कारण स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरू तथा सेवा लिने सेवाग्राहीहरूलाई असहज भइरहेको बताउनुभयो ।

अन्तरक्रियामा गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुनमकुमारी मेहताले आफूहरूको पालामा दुई ओटा स्वास्थ्य चौकी रहेको स्थानीय तहमा आठ ओटा वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको बताउनु भएको थियो ।

Photo 20211117 Sunsari (1)

Photo 20211117 Sunsari (2)

Photo 20211117 Sunsari (3)

Photo 20211117 Sunsari (4)

Photo 20211117 Sunsari (5)

जयकृष्ण यादव