स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

  ०७८ असोज २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजको आयोजनामा राजविराज नगरपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २५ गते सम्पन्न गरिएको छ ।

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत राजविराज नगरपालिकामा स्वास्थ्यका सवालमा स्थानीय सरकार तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले नागरिकहरूको आधारभूत अधिकारको रूपमा रहेको स्वास्थ्यको क्षेत्रमा रहेका समस्याहरूको समाधान गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सरोकारवाला निकायका सहभागीहरूले नगरपालिकाभित्र स्वास्थ्यको अधिकारमा देखिएका समस्याहरुको चर्चा गर्दै समाधानमा स्थानीय सरकारको भूमिकामाथि प्रश्नहरू उठाएपछि यादवले प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले स्वास्थ्य चौकीमा निःशुल्क पाउने औषधि विवरणसहितको होर्डिङ बोर्ड प्रत्येक वडा कार्यालयहरूमा राख्ने, कोभिड–१९ को खोपलगायत स्वास्थ्य सेवाका बारेमा प्रचार गर्ने, स्वास्थ्य बिमा सहयोगी र स्वास्थ्य चौकी प्रमुखहरूको कामको निगरानी बढाउने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले आर्थिक वर्षमा सशर्त र निशर्त कार्यक्रम सुरू नभएको, गत वर्षभन्दा बजेट कटौती भएकोले स्वास्थ्य चौकीको अवस्थामा सुधार ल्याउन नसकेको र साधनश्रोतको कमी रहेको समस्याबारे जानकारी गराउनु भयो ।

कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले नागरिकको आधारभूत अधिकारका रूपमा रहेको स्वास्थ्य अधिकारबाट नगरवासी वञ्चित रहेकाले गम्भीर बन्न र संयुक्त रूपमा अनुगमन गरी जबाफदेही बन्न नगरपालिकासँग आग्रह गर्नुभयो ।

सरकारी अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरूको फितलो व्यवस्थापनले सेवाग्राहीको आकर्षण निजी अस्पतालतर्फ बढिरहेको भन्नुहुँदै उहाँले मङ्हगोमा उपचार गर्नुपर्ने वा उपचार विना रोगी भएर मृत्यु पर्खनु पर्ने अवस्था अन्त्य गर्न ध्यानकर्षण गराउनु भयो ।

निगरानी समूहका अध्यक्ष रघुबर साहले स्वास्थ्य सेवा प्रवाहका विषयमा नगरपालिकाले सहज ढङ्गले जानकारी दिनुपर्ने र नगरभित्र स्वास्थ्यका क्षेत्रमा सुधार ल्याउन निगरानी समूह अझै क्रियाशील हुने बताउनु भयो ।

पत्रकार दिनानाथ यादवले निःशुल्क औषधिबारे सर्वसाधारणलाई जानकारी दिनुपर्ने र बजारको अनुगमन नियमित हुनुपर्ने बताउनु भयो ।

महिला स्वयम्सेविका कमली उपाध्यायले वडा नम्बर ४ र ५ बाहेक अन्य १४ ओटा वडामा वडा अध्यक्षहरूले प्रकृया विपरीत अन्य मानिसलाई स्वास्थ्य बिमा सहयोगी राखेकाले कार्यक्रम तल्लो तहसम्म प्रभावकारी हुन नसकेको आरोप लगाउनु भयो ।

स्वयम्सेविका निर्मला पोखरेलले गर्भवती, सुत्केरीका लागि छुट्याइएको ६० हजार रुपियाँ र महिला स्वयम्सेविका कोषको रकम खोजी गरिदिन आग्रह गर्नुभयो ।

बौद्धिक अपाङ्ग सङ्घकी राधा अर्यालले कोभिड–१९ को खोपमा विभेद भएको गुनासो गर्नुहुँदै स्वास्थ्य बिमालाई सहज बनाउन आग्रह गर्नुभयो ।

स्वयम्सेविका सीयादेबी कायस्थले नगरपालिकाको कमी कमजोरीका कारण काम गर्ने कर्मचारीहरू तथा सेवा लिने सेवाग्राहीहरूलाई असहज भइरहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका कर्मचारी, पत्रकार, अधिकारकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र निगरानी समूहलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

f

f

f

f

अनलाइन डेस्क